पित्तथैलीमा पत्थरी देखिएपछि केपी शर्मा ओली अस्पतालमा भर्ना


काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी देखिएको छ। उहालाई शनिबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईका अनुसार अध्यक्ष ओलीको समग्र स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि पित्तथैलीमा पत्थरी देखिएको पुष्टि भएको छ। “स्वास्थ्य परीक्षण गर्दा उहाँका अधिकांश रिपोर्ट सामान्य आएका छन्,” उनले भने, “तर पित्तथैलीमा पत्थरी देखिएकाले शल्यक्रिया गर्ने वा औषधि उपचारमार्फत व्यवस्थापन गर्ने भन्ने विषयमा चिकित्सक टोलीले निर्णय गर्न बाँकी छ।”

डा. सेढाईले अध्यक्ष ओलीलाई चिकित्सकहरूको निगरानीमा अस्पतालमै राखिएको जानकारी दिँदै आवश्यक थप परीक्षण र परामर्श जारी रहेको बताए। उनका अनुसार आजदिनभरि अस्पतालमै राखेर स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिनेछ।

यसैबीच, अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

राजनीतिक वृत्तमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई लिएर चासो बढेको छ। पार्टीका नेताहरूले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। एमाले स्रोतका अनुसार अध्यक्ष ओलीको स्वास्थ्य अवस्था गम्भीर नभए पनि चिकित्सकको सल्लाहअनुसार केही दिन आराम आवश्यक पर्ने देखिएको छ।

चिकित्सकहरूले पित्तथैलीमा पत्थरी देखिनु सामान्य स्वास्थ्य समस्या भए पनि समयमै उपचार आवश्यक रहने बताएका छन्। आवश्यक परे शल्यक्रिया गर्नुपर्ने सम्भावना पनि रहने उनीहरूको भनाइ छ।

अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकहरूको नियमित निगरानीमा उपचार भइरहेको जनाएको छ। आगामी उपचार प्रक्रिया र निर्णयबारे चिकित्सक टोलीले विस्तृत मूल्याङ्कनपछि मात्र जानकारी दिने बताइएको छ।