काठमाडौं ।
नेकपा (एमाले) ले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध देशव्यापी रूपमा कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। शनिबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ओलीको तत्काल रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत बैठकका निर्णय सार्वजनिक गरेका छन्।
एमालेले ओलीको पक्राउलाई पूर्वाग्रही र राजनीतिक प्रतिशोधप्रेरित कदम भएको आरोप लगाउँदै कानुनी लडाइँसँगै सडक आन्दोलनसमेत अघि बढाउने स्पष्ट संकेत दिएको छ। बैठकले तय गरेका प्रमुख कार्यक्रमहरू यस्ता छन्: आम जनसमुदाय र नागरिक समाजको साथमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने। आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने।
भोलि (चैत्र १५ गते) दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने। लोकतन्त्र र कानुनी राज्यका पक्षधर दलहरू, नागरिक समाज र आम जनतासँग संवाद र सहकार्य विस्तार गर्ने। यसैबीच, ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। उनको पक्राउविरुद्ध कानुन व्यवसायीहरूले आइतबार बन्दीप्रत्यक्षीकरण (हैबियस कर्पस) निवेदन दर्ता गर्ने तयारी गरेका छन्। एमालेको पछिल्लो निर्णयसँगै ओली पक्राउ प्रकरण अब कानुनी मात्र नभई राजनीतिक रूपमा समेत थप तातिने संकेत देखिएको छ।











प्रतिक्रिया