जनताको नयाँ जनादेश र जनअपेक्षा

846
Shares

जनताको नयाँ जनादेश उत्साहजनक छ । पुराना पार्टीहरुबाट मुलुकभित्र सृजना गरेका विभिन्न विकृति–विसंगति, भ्रष्टाचारसमेतका गतिविधिलाई गम्भीर रुपमा लिई अब पुराना नेताहरुबाट मुलुकका तमाम समस्या समाधान हुन सक्दैन भन्ने निष्कर्षमा उनीहरु पुगे । त्यसैले यसपटक जनताले नयाँ पार्टी एवं नेताप्रति आशा र भरोसा राखेर मतदान गरेका छन् । झन्डै दुई तिहाइ मत नयाँ पार्टी अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको छ । अब जनताको आशा र भरोसाअनुसार रास्वपा सरकारले मुलुकका तमाम समस्याहरुको समाधान गर्न नेपालको भूराजनीतिक अवस्थालाई बुझेर अघि बढ्नेछ भन्ने विश्वास लिइएको छ ।

लाग्छ, जनताको वर्तमान जनादेश स्वाभाविक छ । किनभने यो मुलुकमा धेरै लामो समयदेखि सरकारले स्थायित्व प्राप्त गर्न सकेन । सरकारमा बस्ने र प्रतिपक्षमा बस्ने सबै नेता एवं तिनका पार्टीहरु कुर्सीको खेलमा मात्र लागिरहे । कसरी सरकारलाई गिराउने र आफू मात्र सत्तामा पुग्ने कुरामा प्रतिपक्ष अहोरात्र लागिरह्यो । यता सत्तासीन पार्टी साम, दाम, दण्ड, भेद नीति अपनाएर जसरी पनि सत्तामा टिकिरहने कुरामा नै लागिरह्यो । परिणामस्वरुप न सरकारले स्थायित्व प्राप्त ग¥यो, न जनताको समस्याको समाधान ग¥यो । यस्ता विविध कारणले जनता अब बलियो, स्थिर सरकार हुनुपर्छ भन्ने कुराको निष्कर्षमा पुगे । र, नयाँ पार्टीले केही गर्न सक्छ भन्ने विश्वासका साथ स्थिर र बलियो सरकार होस् भन्ने पक्षमा जनताले मतदान गरे । फलस्वरुप रास्वपाले झन्डै दुई तिहाइ सिट ल्यायो । यस अर्थमा यो जनादेश स्वाभाविक छ ।

जनता सार्वभौमसत्ता सम्पन्न भएकोले उसले एकपटक चुनावमा मत दिएपछि करिब पाँच वर्षसम्म आफूले चुनेर पठाएको प्रतिनिधि एवं सरकारले बाचा गरेको काम कुन हदसम्म सम्पन्न ग¥यो, राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रियता र स्वतन्त्रताको संवद्र्धन गर्नमा कति काम ग¥यो, त्यो हेरिरहेको हुन्छ । विकराल रुप लिएको बेरोजगारी समस्या समाधानमा कति सक्रिय रह्योजस्ता जनताका जल्दाबल्दा समस्या समाधान गर्न सरकारले कति योगदान ग¥यो भन्ने कुराको समेत जनताले निगरानी गरिरहेका हुन्छन् । यसपटक पनि जनताले यो सरकारले आफ्ना जल्दाबल्दा समस्याहरु समयमै समाधान होस् भन्ने खोजिरहेका छन् ।

जनता यति बेला पनि पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । यसपालिको चुनावमा विगत ५ वर्षभित्रका सरकारले विभिन्न समस्याको समाधान गर्न योगदान दिन नसकेको निष्कर्षमा जनता पुगे । हामी केही गर्छौं, मुलुकको समस्या समाधान गर्छाैं भन्ने नयाँ प्रतिनिधि र पार्टीप्रति ठूलो आशा र भरोसाका साथ जनताले मतदान गरी आफ्नो अधिकार प्रयोग गरे । बालेन साहको नेतृत्वको सरकारले केही गर्छ भन्ने जनतामा आशा र भरोसा रहेको छ । अब जनताले ५ वर्षसम्म यो सरकारले घोषणा गरेको कार्यक्रमअनुसार काम गर्छ कि गर्दैन, जनताले मूल्याङ्कन गर्छन् र आगामी चुनावमा सोही अनुसार फैसला गर्छन् ।

बालेन सरकारले सर्वप्रथम नेपालको भूराजनीतिक अवस्थालाई गम्भीर भएर गहिरोसँग अध्ययन गर्नुपर्छ । मुलुकको राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमसत्तामा कहीँ–कतैबाट आँच आउन सक्ने अवस्थालाई रोक्नुपर्छ । प्रजातन्त्रका मूल्य र मान्यतालाई प्रवद्र्धन गर्दै जानुपर्दछ । साथै मुलुकभित्रको शक्ति सन्तुलन कायम गर्न राष्ट्रिय शक्तिहरुका बीचमा एकता कायम गर्नुपर्दछ ।

भूराजनीतिलाई विचार गरेर छिमेकीसहित सम्पूर्ण मित्रराष्ट्रहरुसँग सुमधुर सम्बन्ध बनाउँदै मुलुकको आर्थिक विकास, बेरोजगारी समस्याको समाधानतर्फ बालेन सरकार सक्रिय हुनुपर्दछ । यो सरकार सम्पूर्ण नेपाली जनताको सरकार भएको हुनाले सबै पार्टी एवं विभिन्न तह–तप्काका जनसमुदायलाई समेत विश्वासमा लिएर काम गर्नुपर्दछ । यसो भयो भने मुलुकले आर्थिक र सामाजिक विकासको गति लिन सक्छ । र, राष्ट्रिय समस्याहरुको समाधान पनि हुँदै जानेछ ।

अब मुलुकले कुन मोड लेला ? भनेर अहिल्यै भविष्यवाणी गर्न सकिँदैन । तर जनताले जुन आशा र भरोसाका साथ मतदान गरेका छन र विजयी गराएका छन्, ती जनप्रतिनिधिहरुले मुलुक र जनताको हितमा पुराना सरकारका गल्ती नदोहो¥याई काम गरेमा मुलुकले काँचुली फेर्न सक्छ । हाल जनताले यो सरकारप्रति ठूलो आशा र भरोसा गरेका छन् । तर पनि अहिले नै मूल्याङ्कन नगरी केही दिन अर्थात् कम्तीमा सय दिनसम्म कुर्नुपर्दछ । त्यसपछि मात्र ‘हुने बिरुवाको चिल्लो पात वा नहुने बिरुवाको फुस्रो पात’ भन्ने उक्तिलाई मध्यनजर राखेर जनताले मूल्याङ्कन गर्नेछन् ।

यसपटकको निर्वाचनमा पूरै जेनजीहरुले रास्वपालाई मत दिए भन्ने कुरामा केही सत्यता छ । तर जेनजीहरुको बीचमा मत बाझिएको कुरा सार्वजनिक रुपमै आएको हुनाले जेनजीको सबै मत रास्वपालाई प¥यो भन्ने लाग्दैन । जेनजीहरुसहित बहुमत जनताको मतचाहिँ निश्चित रुपमा रास्वपालाई परेकोले बढी सिट जित्न सफल भएको हो ।

पुराना पार्टीहरुले समेत मुलुकको राष्ट्रिय राजनीतिमा केही हदसम्म महत्वपूर्ण भूमिका खेलेका हुन् र थिए । ती पार्टीहरुले विगत चुनावमा जनतालाई दिएका बाचा पूरा नगर्दा र मुलकभित्र राजनीतिक, आर्थिक, सामाजिक विकृतिहरुको समाधान गर्न नसक्दा तिनीहरुप्रति जनताको भरोसा टुटेको हो ।

अब ती पार्टीहरुले संसदीय प्रजातन्त्रको पक्षमा, मुलुकको भूराजनीतिको पक्षमा, मुलुकको अस्मिताको पक्षमा, राष्ट्रिय शक्तिहरुबीचको एकताको पक्षमा र मुलुकका भ्रष्टाचार, बेरोजगारीलगायत जल्दाबल्दा समस्याको समाधानको पक्षमा सरकारलाई खबरदारी गर्ने अनि रचनात्मक सहयोग गरी अघि बढ्न सके भने जनताले फेरि पुराना पार्टीलाई विश्वास गर्न सक्छन् ।

हालको अवस्थामा यो सरकारलाई प्रतिपक्षले समेत सहयोग गरेमा मात्र उनीहरुको लागि मुलुक र जनताले दिएको अभिमतको कदर गरेको ठहर्छ । राम्रो कुरामा प्रतिपक्षसँग वर्तमान सरकारले पनि आवश्यक सहयोग लिएर अघि बढे त्यो पनि राम्रै हुनेछ ।
(लेखक काफ्ले वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)