नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारस्थित नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ ग्रहण गराउनु भएको हो ।



संसद् सचिवालयका अनुसार यसपटक नेपालीबाहेक अन्य भाषामा शपथ लिने सांसदहरूको संख्या पाँच दर्जनभन्दा बढी रहेकोे छ । उनीहरूले १८ वटा फरक–फरक मातृभाषामा शपथ लिएको सचिवालयले जनाएको छ । सांसदहरूले नेपाल भाषा, मैथिली, थारु, डोटेली, बझाङ्गी, भोजपुरी, कठरिया थारु, राना थारु, संस्कृत, छन्त्याल, मगही, बान्तवा, बज्जिका, चाम्लिङ, तामाङ, अबधि, लिम्बू र मगर खामलगायतका भाषामा शपथ लिएका छन् ।



मातृभाषामा शपथ लिने सांसदहरूमध्ये नेपाल भाषामा विराजभक्त श्रेष्ठ, अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, गंगा लक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ र रुकेश रञ्जितले शपथ ग्रहण गरेका छन् यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अबधि, आकृति अवस्थीले डोटेली, गंगा छन्त्यालले छन्त्याल तथा करिश्मा कठरियाले कठरिया थारु भाषामा शपथ लिएका छन् । त्यस्तै निश्कल राईले चाम्लिङ, दीपकराज बोहराले डोटेली, सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिएका छन् ।





थारु भाषामा कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पा कुमारी चौधरी, प्रमिला कुमारी गच्छदार र सुरेन्द्र चौधरीले शपथ लिएका छन् भने ऐनबहादुर महरले बझाङ्गी भाषामा शपथ लिएका छन् ।




नेपालको संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।







तस्वीरहरू अनिल आङदेम्बे











प्रतिक्रिया