बहुभाषिक स्वरले गुन्जिँदै संसद्

४९ जना सांसदले विभिन्न मातृभाषामा शपथ लिने

846
Shares

काठमाडौं ।

नवनिर्वाचित सांसदहरूले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आज बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

यसपटक शपथग्रहण कार्यक्रम भाषिक विविधताको हिसाबले विशेष आकर्षण देखिनेछ । नेपाली भाषासहित विविध मातृभाषामा शपथग्रहण हुने भएकाले संसद् परिसर बहुभाषिक स्वरले गुन्जिने संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयले शपथग्रहणका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नवनिर्वाचित सांसदमध्ये सबैभन्दा ज्येष्ठ सदस्यका हैसियतमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बाँकी सदस्यहरूलाई शपथ गराउनुहुनेछ । उहाँले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतल निवासमा शपथ लिनुभएको थियो । सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

नवनिर्वाचित ४९ जना प्रतिनिधिसभा सदस्यले नेपालीबाहेक आफ्नै मातृभाषामा पद तथा गोपनीयताको शपथ लिने भएका सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसदहरूले मैथिली, भोजपुरी, नेपाल भाषादेखि लिएर संस्कृतसम्मका भाषाहरूमा शपथ लिन नाम दर्ता गराएका छन् । नेपालीपछि अधिकांश सांसदले मैथिली र नेपाल भाषामा शपथ लिनेछन् ।

केही सांसदले लोपोन्मुख भाषाहरू पनि रोजेका छन् । रामजी यादव, शम्भुकुमार यादव, सीताराम साह, अंकिता ठाकुर, आशा झा, उज्जलकुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दीपककुमार साह, निशा मेहतालगायतले मैथिली भाषामा शपथ लिनेछन् । त्यसै गरी विराजभक्त श्रेष्ठ, रूकेश रन्जित, शाहजान खातुन, अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठलगायतले नेपाल भाषामा शपथ लिनेछन् ।

सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिनुहुनेछ । त्यस्तै, बझाङी, डोटेली, चाम्लिङ, बान्तवा, छन्त्याल र मगर खाम भाषाजस्ता रैथाने भाषाहरू पनि यसपटक संसद्मा गुन्जिनेछन् । केही सांसदले थारू भाषाभित्रको पनि राना थारू र कठरिया थारू भाषामा शपथ लिने भनी दर्ता गराएका छन् । रवीन्द्र पटेल, कन्हैया बनिया, बुद्धिप्रसाद पन्त (भोजपुरी) तथा राजेशकुमार चौधरी, नीतिमा भण्डारीले बज्जिका भाषामा शपथ लिनुहुनेछ ।

सुरेन्द्र चौधरी, अमरकान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, प्रमिला कुमारी गच्छदार (थारू), कृपाराम राना (राना थारू) र करिश्मा कठरिया (कठरिया थारू) ले थारू भाषामा शपथ लिनुहुनेछ । हरिणादेवी कामी, आकृति अवस्थी, दीपकराज बोहरा (डोटेली) र ऐनबहादुर महर बझाङी भाषामा शपथ लिनुहुनेछ । निश्कल राई (चाम्लिङ), ध्रुवराज राई (बान्तवा), गंगा छन्त्याल (छन्त्याल), रेनुका काउचा (मगर खाम भाषा) र परशुराम तामाङले किराँती तथा पहाडी भाषामा शपथ लिनुहुनेछ । अरू भाषामा शपथ लिनेमा मोहम्मद इस्तियाक राई (अवधि), राजकिशोर महतो, जोगकुमार बरबरिया यादव रहनुभएको छ ।

मातृभाषामा शपथ लिने सांसदहरूले कानुनबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ को ढाँचाको शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति तीन दिनअघि नै संसद् सचिवालयमा उपलब्ध गराएका थिए । शपथसम्बन्धी ऐन २०७९ शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोसाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन् ।