महालक्ष्मी विकास बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान


महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा चैत २ देखि ८ गतेसम्म साताव्यापी रूपमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी आफ्ना देशभरिका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, ¥याली तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, वीरगञ्ज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन र चिप्लेढुङ्गा लगायतका शाखाहरूबाट सञ्चालन गरिएका कार्यक्रमहरूमा विद्यार्थी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। “स्मार्ट मनी टक्स (स्मार्ट मनी टक्स)” भन्ने मूल नाराका साथ आयोजना गरिएका कार्यक्रममा एक हजारभन्दा बढी सहभागीहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाइ, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

यसै अवसरमा नेपालगञ्ज शाखाले बाँकेको श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ भने बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सचेतनामूलक सन्देश तथा भिडियो सामग्रीहरू पनि प्रसारण गरिएको छ ।

नेपाल राष्ट्र बैंक लगायत विभिन्न संस्थाहरूद्वारा आयोजित प्रभातफेरी कार्यक्रममा समेत बैंकको सक्रिय सहभागिता रहेको थियो । “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै विगत ३१ वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बैंकका हाल देशभर १०३ शाखा कार्यालय तथा करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् ।