इरानका गुप्तचरमन्त्री मारिएको इजरायलको दाबी


काठमाडौँ।

इजरायलले इरानका गुप्तचरमन्त्री मारिएको दाबी गरेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दाबी गरेका हुन् ।

उनका अनुसार “हिजो राति खातिबलाई पनि हटाइयो” भन्दै एक विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

यस विषयमा भने इरानले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यसअघि नै इजरायली सञ्चारमाध्यमहरूले रक्षा मन्त्रालयका स्रोतलाई उद्धृत गर्दै खातिब निशानामा परेको रिपोर्ट सार्वजनिक गरिसकेका थिए ।

खातिबलाई सन् २०२१ मा तत्कालीन राष्ट्रपति इब्राहिम रईसीले गुप्तचर मन्त्रीका रूपमा नियुक्त गरेका थिए ।

उनले अयातोल्लाह अली खामेनीसहितका धार्मिक नेताबाट इस्लामिक कानूनको अध्ययन गरेका थिए ।

यसैबीच, सन् २०२२ मा अमेरिकी ट्रेजरी विभागले ‘अमेरिका र सहयोगी देशहरूविरुद्ध साइबर गतिविधिमा संलग्न’ भएको आरोपमा खातिबमाथि प्रतिबन्ध लगाएको थियो ।