निर्वाचनमा खटिएका १५ हजारभन्दा बढी निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरीद्वारा विदाई


काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा खटिएका निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरी बल नेपालले औपचारिक रूपमा विदाई गरेको छ।

सशस्त्र प्रहरी बलका विभिन्न कार्यालयमा भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार विदाई गरिएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गत फागुन २१ गते सशस्त्र प्रहरी बलले देशभरबाट १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो।

ती निर्वाचन प्रहरीलाई निर्वाचन अवधिभर देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा सशस्त्र प्रहरी कर्मचारीसँगै सुरक्षा व्यवस्थामा परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यससँगै सशस्त्र प्रहरी बलले निर्वाचनपछि निर्वाचन प्रहरीहरूका लागि विपद् व्यवस्थापनसम्बन्धी दुई दिने अनुशिक्षण कार्यक्रम समेत सञ्चालन गरेको थियो। सशस्त्र प्रहरी बलले सुरु गरेको विपद् सूचक तयार गर्ने अभियानअन्तर्गत निर्वाचन प्रहरीलाई पनि अनुशिक्षण दिई उक्त कार्यमा आबद्ध गराइएको जनाएको छ।

सुरक्षा निकायका अनुसार निर्वाचनमा खटिएका जनशक्तिलाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्दै भविष्यमा सम्भावित विपद्का समयमा समेत उपयोग गर्न सकिने गरी तयारी गरिएको हो।