जम्मु–कस्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि गोली प्रहार


काठमाडौँ ।

भारतको जम्मु–कस्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि बुधबार एक विवाह समारोहमा ज्यान लिने नियतले गोली प्रहार भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार जम्मुमा आयोजित विवाह भोजमा सहभागी भइरहेका ८८ वर्षीय अब्दुल्लालाई लक्षित गरी ६३ वर्षीय कमल सिंह जमवालले नजिकैबाट गोली चलाएका हुन्।

‘जेड प्लस’ सुरक्षामा रहेका अब्दुल्लामाथि आक्रमणकारीले सुरक्षा घेरा तोड्दै नजिकै पुगेर गोली चलाए पनि निशाना चुकेपछि उनी बालबाल बचेका हुन्। घटनास्थलमै रहेका National Security Guard (एनएसजी) का कमाण्डोहरूले तत्कालै आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।

प्रहरी हिरासतमा रहेका जमवालले सोधपुछका क्रममा आफूलाई कुनै पश्चाताप नभएको र यो क्षणका लागि २० वर्षदेखि पर्खिरहेको बयान दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले व्यक्तिगत एजेन्डा पूरा गर्न आक्रमण गरेको दाबी गर्दै अब्दुल्ला बाँचेकोमा असन्तुष्टि समेत व्यक्त गरेका छन्।

घटनापछि भारतीय सुरक्षा निकायले थप अनुसन्धान अघि बढाएको छ। उच्च सुरक्षा प्राप्त नेतामाथि सार्वजनिक समारोहमै आक्रमण भएको घटनाले भारतको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको विश्लेषण गरिएको छ।