लञ्जास्पद हारपछि पुराना दल ‘आत्ममन्थन’मा

पुनरुत्थान सम्भव कि राजनीतिक अवसान ?



कांग्रेस, एमाले र नेकपाभित्र नेतृत्व परिवर्तनको दबाब बढ्दो छ । विश्लेषकहरू भन्छन्, ‘जनताको सन्देश स्पष्ट छ, अब रूपान्तरण नभए अस्तित्व संकट ।’

काठमाडौं ।

मध्यावधि निर्वाचन २०८२ को परिणामले नेपालको परम्परागत राजनीतिक शक्ति समीकरणलाई गम्भीर रूपमा हल्लाइदिएको छ । दशकौँदेखि सत्ताको केन्द्रमा रहेका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र विभिन्न कम्युनिस्ट ध्रुवलाई एकीकृत गरेको दाबी गर्दै आएको नेकपा यसपटकको निर्वाचनमा अभूतपूर्व रूपमा कमजोर बनेपछि अहिले उनीहरूभित्र गम्भीर आत्ममन्थन सुरु भएको छ । यी सबै दलहरूमा नेतृत्वकै असफलताका कारण परिणाम कमजोर आएको बताउन थालिएको छ ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भारी बहुमतसहित नयाँ राजनीतिक शक्ति प्रदर्शन गरेपछि पुराना दलहरू एक प्रकारले ‘राजनीतिक मूच्र्छा’ जस्तै अवस्थामा पुगेका छन् । पार्टीभित्र नेतृत्वको समीक्षा, संगठन पुनर्गठन र राजनीतिक कार्यदिशा परिवर्तनबारे तीव्र बहस सुरु भएको छ ।

नेतृत्वमै प्रश्न, राजीनामाको दबाब
निर्वाचन परिणाम सार्वजनिक भएसँगै तीनै प्रमुख दलभित्र नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ । पार्टी कार्यकर्ता तथा दोस्रो तहका नेताहरूले अबको बाटो नेतृत्व परिवर्तन र संरचनागत सुधार हुनुपर्ने आवाज उठाइरहेका छन् । विशेष गरी नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पद छोड्नुपर्ने दबाब तीव्र रूपमा उठ्न थालेको छ ।

कांग्रेसमा सभापति गगन थापाका सवालमा भने मिश्रित मागहरू उठिरहेका छन् । एक पक्षले गगनले राजीनामा दिनुपर्ने बताउँदै आइरहेका छन् भने अर्को पक्षले भने शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा गएको अवस्थामा अहिलेको भन्दा पनि खराब परिणाम आउने दाबी गर्दै गगनकै कारण कांग्रेसले अझै खराब परिणाम आउन नदिएको दाबी गर्दै गगनले राजीनामा दिन नहुने बताउँदै आएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार पराजयको मुख्य कारण नेतृत्वको अहंकार, आन्तरिक गुटबन्दी, भ्रष्टाचारप्रतिको सहनशीलता र जनअपेक्षा पूरा गर्न नसक्नु हो । ‘केवल निर्वाचन हार होइन, यो जनताबाट आएको गम्भीर राजनीतिक सन्देश हो । पुराना दलले अब आत्मसमीक्षा नगरेर पुरानै शैलीमा राजनीति गर्न खोजे भने उनीहरूको भविष्य झन् संकटमा पर्न सक्छ’ –राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसार्इं बताउनुहुन्छ । उहाँका अनुसार नयाँ शक्तिको उदयले नेपाली राजनीतिमा पारदर्शिता, सुशासन र जवाफदेहिताको मागलाई केन्द्रीय मुद्दा बनाइदिएको छ ।

एमालेमा तीव्र असन्तुष्टि
नेकपा एमालेभित्र पराजयपछि कार्यकर्ता पंक्तिबाटै अध्यक्ष ओलीप्रति तीव्र असन्तुष्टि व्यक्त हुन थालेको छ । पार्टीभित्र नेतृत्व परिवर्तनको गम्भीर बहस सुरु हुँदै अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने माग बढ्दै गएको छ ।
पार्टीका केही नेताहरूले नेतृत्वको शैली र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै संगठनात्मक सुधारको आवश्यकता औँल्याएका छन् । ‘एमालेजस्तो संगठित दल पनि जनताबाट टाढा भयो भन्ने सन्देश यो परिणामले दिएको छ । पार्टीले अब आफ्नो राजनीतिक व्यवहार र कार्यशैली बदल्नैपर्छ’ –राजनीतिक विश्लेषक प्रसाईंले भन्नुभयो ।

नेकपा पनि संकटमा
पूर्वमाओवादी धारका नेकपा समूहका लागि यो परिणाम अझ चुनौतीपूर्ण बनेको छ । सशस्त्र आन्दोलनको विरासत बोकेर आएको राजनीतिक शक्ति अहिले निर्वाचनमा कमजोर बनेपछि राजनीतिक अस्तित्वको प्रश्नसमेत उठ्न थालेको छ । त्यहाँ पनि अध्यक्ष प्रचण्डको राजीनामा माग्ने क्रम बढेको छ ।
विश्लेषकहरूका अनुसार अब ती समूहले या त एकता र पुनर्संरचना गर्ने, वा नयाँ वैचारिक मार्ग खोज्ने विकल्प रोज्नुपर्ने अवस्था आएको छ ।

पुनरुत्थान सम्भव छ ?
राजनीतिक विश्लेषकहरू भने पुराना दलहरूको पुनरुत्थान पूर्ण रूपमा असम्भव नभएको बताउँछन् । तर, त्यसका लागि गम्भीर सुधार अपरिहार्य रहेको उनीहरूको निष्कर्ष छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्नुहुन्छ– ‘नेपाली कांग्रेस, एमाले वा नेकपाजस्ता दलहरूको संगठन देशभर फैलिएको छ । तर, जनविश्वास गुमेपछि संगठन मात्रले राजनीति टिक्दैन ।

अब उनीहरूले चरित्र, नीति र नेतृत्वमा ठूलो परिवर्तन गर्नुपर्छ ।’ उहाँका अनुसार आगामी केही महिना यी दलहरूको भविष्य निर्धारण गर्ने महत्वपूर्ण समय हुनेछ ।

विश्लेषकहरूका अनुसार यो निर्वाचनले नेपाली राजनीतिमा एउटा नयाँ सन्देश दिएको छ — जनताले अब सुशासन, पारदर्शिता र परिणाममुखी नेतृत्व चाहेका छन् । यदि पुराना दलहरूले यो सन्देशलाई गम्भीर रूपमा लिएर आफूलाई रूपान्तरण गरे भने उनीहरूको पुनरुत्थान सम्भव छ । तर, यदि पुरानै शैली र नेतृत्वमा अडिग रहे भने उनीहरू क्रमशः राजनीतिक किनारामा धकेलिन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।