–सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने
–उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने
–निर्वाचनका समयमा प्रवाह हुने मिथ्या, भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति निरुत्साहित र नियन्त्रण गर्न प्रभावकारी अनुगमन हुने
काठमाडौं।
मौन अवधिमा हुनसक्ने सामाजिक सञ्जालको दुरुपयोगका बारे निर्वाचन आयोगले विशेष निगरानी गर्ने भएको छ ।
मतदानअघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको भए पनि त्यस अवस्थामा सामाजिक सञ्जालको भरपुर दुरुपयोगमा हुनसक्ने आयोगले विश्लेषण गरेको छ । आयोगले सोमवार मध्यरातिदेखि मौन अवधि लागू गरेको छ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लंघनको नियमन चुनौतीपूर्ण बन्दै आएको स्थितिमा आयोगले त्यसलाई रोक्न विशेष संयन्त्रको व्यवस्था गरेको जनाएको छ ।
सो अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन । निर्वाचन व्यवस्थापनका हिसाबले यो अवधिको विशेष अर्थ र महत्व रहने जनाउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो– ‘दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अवसर हो ।’
निर्वाचन प्रचार अभियानलाई केवल विजयी हुने साधनका रूपमा मात्र नलिई आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने मान्यता रहेको जनाउँदै उहाँले आम मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गरुन् भन्ने मनसायमा विश्वव्यापी रूपमा नै मतदानअघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको जानकारी गराउनुभयो । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने चलन छ ।
मौन अवधिका लागि तोकिएका आचरण अक्षरशः पालना गर्दा त्यसबाट राजनीतिक दल, उम्मेदवार एवं सरोकारवाला सबैबाट निर्वाचनको स्वच्छता र निष्ठा प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास आयोगले लिएको पनि उहाँको भनाइ रहेको छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोस्ट गरेको पाइए कारबाही हुने चेतावनी दिनुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनका समयमा प्रवाह हुने मिथ्या, भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति निरुत्साहित र नियन्त्रण गर्न प्रभावकारी अनुगमन हुने बताउनुभयो । उहाँले विसं २०७९ को निर्वाचनमा पनि निर्वाचन आयोगले सम्बद्ध निकायको सहयोग र सामाजिक सञ्जाल सञ्चालकका प्रतिनिधिमार्फत विशेष पहल गरेको स्मरण गर्दै यसपटक त्यसलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
एआईलगायत प्रविधिको प्रयोग गरेर सामाजिक सञ्जालका माध्यमबाट विपक्षीको चरित्र हत्या र नागरिकमाझ भ्रामक सूचना प्रसार गर्ने प्रयासलाई रोकिने र यसमा सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ । निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगबाट हुने मिथ्या र भ्रामक सूचना तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनका लागि आयोगले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनीसँगको सहकार्य गर्दै आएको जनाएको छ ।
पर्सि बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् । प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन हुनेछ । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।
निर्वाचनमा २ लाख १५ हजार कर्मचारी खटिँदै छन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल ४ करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरी मतदानस्थल पु¥याइसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।











प्रतिक्रिया