रौतहटमा सडकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय 

1.13k
Shares

रौतहट ।

 नेपाली सेनाले रौतहटको राजपुर नगरपालिका–५, पानी टंकीस्थित सडकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको छ । राजपुरबाट अकोलवा जाने भित्री पक्की सडकखण्डको बीच भागमा फलामको ड्रमभित्र पहेँलो रङको प्लास्टिकको बोरामा राखिएको शंकास्पद वस्तु फेला परेको थियो । 

सूचना प्राप्त भएपछि संयुक्त सुरक्षा टोलीले क्षेत्रलाई घेराबन्दी (कर्डन) गरी सुरक्षा व्यवस्था कडा बनाएको थियो।  त्यसपछि बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा निष्क्रिय पारेको जनाएको छ । निष्क्रिय पारिसकेपछि जाँच गर्दा बोराभित्र माटो मात्र रहेको पाइएको नेपाली सेनाले जनाएको छ ।

 रौतहटको गौरस्थित नारायणदल गणले हरेक निर्वाचन क्षेत्रमा एक–एक बम डिस्पोजल टोली तैनाथ गरेको र राजमार्ग सुरक्षाका लागि समेत छुट्टै टोली तयारी अवस्थामा राखिएको जानकारी दिएको छ। गणका अनुसार कुनै पनि स्थानमा शंकास्पद वस्तु फेला परेमा १० देखि ३० मिनेटभित्र पुग्न सक्ने गरी तयारी अवस्थामा सुरक्षा संयन्त्र राखिएको छ।