मलाई थाहा छ, मैले भोगेका र यी लेखमा उल्लेख गरेका समस्याहरु देशका कैयौँ नागरिकका, कैयौँ पीडितका पीडाहरु भन्दा ठूलो होइन तर पनि नेपालको एउटा सामान्य नागरिक भएर यो देशमा बाँच्दै गर्दा विभिन्न समयमा मैले भोग्नुपरेको विभिन्न दिक्दारीको साराशं हो ।
मलाई लाग्छ, म जस्तै समस्या यही भूगोलमा पक्कै पनि अरु कसैले भोगेको छ ।
त्यसैले लेख्दैछु ।
यसमा आजको पुस्ताले के चाहन्छ ? र के कस्ता समस्याहरु दैनिक रुपमा भोग्नुपरेको छ भन्ने कथा छ । यसमा थोरै ‘सिस्टम’ प्रतिको ‘इरिटेसन’ र ‘एक्सपेक्टसनको’ कुरा छ ।
म कुनै सभ्रान्त परिवारबाट तालुक राख्दिन । मेरो स्व.बुवाको नाममा कुनै बिघौँ बिघा जमिन थिएन । इमान्दारीताको साथमा रोजीरोटि कमाएर समाजमा एउटा ठिकठाकको प्रतिष्ठा बनाएको इतिहास मात्र छ । मेरो घर जहाँ मेरी आमा मात्र हुनुहुन्छ, विप्रेषणको पैसाले आफ्नो जिन्दगी चलाउनुहुन्छ ।
मेरो भाई कुनै देशमा उफ् ! नभनी काम गर्दैछ । घण्टौँ घण्टा जुत्ता लगाएर काम गर्दा उसको कुहिएका नङ र पसिनाले भिजेर सेतै पल्टेको पैँतालाहरु देख्दा मलाई बेहद माया लाग्छ । मेरी गर्भिणी बुहारी परदेशमै घण्टौँको सिफ्ट भ्याएर थाकेर घरमा आएर आफ्नो सन्तानको सुन्दर भविष्यको कामना गर्छे । यता नेपालमा घरको चारकोठा खाली नै देख्दा मेरो मन अमिलो हुन्छ ।
हालसालै मैले एकजना बुज्रुक नेताले मानिसहरु विदेश च्वाइसले जान्छन् भनेर भनेको सुनेको थिएँ । एकदमै दुःखको साथमा उनको कुरालाई नकार्नुपर्ने हुन्छ कि युवाहरु ‘च्वाइस’ होइन रोजीरोटि र ‘सर्भाइभल लाइफ’ भन्दा अलिक माथि उठ्ने विकल्प नभएर विदेश गएका हुन् । सिधा भन्दा आफ्नो देशमा श्रमको मूल्य नपाएर गएका हुन् । पारिवारीक जिम्मेवारी, आर्थिक अभाव, बेरोजगारी र भविष्यप्रतिको अनिश्चितताले नै युवाहरुलाई विदेशमा घण्टा हान्न बाध्य पारेको हो ।
आज धेरै युवाहरूको मुखबाट एउटै कुरा सुन्न पाइन्छ – “देशमा सिस्टम छैन ।”
सिस्टम नहुनुको अर्थ केवल नियम नहुनु मात्र होइन, नियम भएर पनि कार्यान्वयन नहुनु हो ।
कानुन किताबमै सीमित छ, व्यवहारमा लागू हुँदैन भन्ने गुनासो व्यापक छ । जब योग्यताभन्दा चिनजान बलियो हुन्छ, जब श्रमभन्दा पहुँच ठूलो हुन्छ, तब युवाहरू निराश हुन्छन् । मेहनत गर्नेले अवसर पाउन गाहृो तर शक्तिशालीले सजिलै अघि बढ्ने अवस्था देखिँदा युवाहरूको विश्वास कमजोर बन्छ । यही कारणले धेरैले आफ्नै देशभित्र भविष्य देख्न सकिरहेका छैनन् ।
यहाँ मान्छे भएर मान्छे बन्न कि पैसा चाहिन्छ, कि पावर, कि त गर्न सक्नुपर्छ कसैको जिउ जुरी ।
जब भ्रष्टाचार, ढिलासुस्ती र जिम्मेवारीहीनता चारैतिर हुन्छ, तब नागरिकले राज्यप्रति भरोसा गुमाउँछन् । यहाँ पारदर्शिता नामको मात्र त छ ।
त्यसैले समस्या केवल आर्थिक मात्र होइन, संरचनागत पनि हो । जबसम्म नीति बनाउने र कार्यान्वयन गर्ने देशका महत्त्वपूर्ण हिस्सा इमानदार र जिम्मेवार हुँदैनन्, तबसम्म “सिस्टम छैन” भन्ने गुनासो दोहोरिरहनेछ ।
अब आफ्नो भोगाइतर्फ लागेँ ।
आजभोली काठमाण्डौमा म जस्तै विभिन्न राइड सेयरिङ एप प्रयोग गर्ने प्रयोगकर्ता धेरै छन् । प्रत्येक एप अनुसार त्यसको आफ्नै सुविधा र दायराहरु छन् । ती एपहरु युज गर्ने क्रममा राइडरबाट दुःख पाउनेहरु पनि पक्कै प्रशस्त नै छन् ।
हालसालै म एउटा समस्यामा परेँ ।
गएको शिवरात्रिको दिन म मन्दिर गएको थिएँ । फर्कँदा इन्ड्राइभ बुक गरेँ । तारकेश्वर महादेव मन्दिर देखि ग्रिन सिटि अस्पताल सम्मको यात्रा थियो । केही बेर बाइक अगाडि बढ्ने बित्तिकै बाइक लड्यो । म र राइडर दुवै भुइँमा पछारियौँ । केही क्षण त के भइरहेको छ भन्ने नै थाहा भएन । वरिपरिका व्यक्तिहरू आएर उठाएर राइडरलाई मेडिकल लैजानु भनेर सल्लाह दिएका थिए ।
मेरो ड्रप अफ प्वाइन्ट पनि ग्रिन सिटि अस्पताल नै भएकाले चालकले त्यहीँ पुर्याउँछन् जस्तो लागेको थियो ।
तर राइडरले “सामान्य घाउ हो” भन्दै इन्ड्राइभको पैसा पनि चाहिन्न भन्दै फरार भए । त्यसपछि उनी सम्पर्कमा आएनन् ।
म आफैँ मेडिकल गएँ, सामान्य ड्रेसिङ गराएँ । सुरुमा सामान्य जस्तो लाग्यो । तर घर पुग्दा ज्वरो आउन थाल्यो । राति दुखाइ धेरै बढेपछि भोलिपल्ट अस्पताल गएर एक्स–रे गराएँ । धन्न हड्डिमा ठूलो समस्या रहेनछ । टिटानसको सुई लगाए । डाक्टरले हप्ता दिन आराम गर्न सुझाए । घुँडामा चोट लागेकोले बेस्सरी दुखाई महशुस भयो । दुखाई बढ्दै जाँदा ज्यादै असह्य भएपछि सोचमग्न भएँ । कसरी ख्यालख्यालमै बिनासित्ति समय बर्बाद भयो, पैसा को खर्च अनि शारिरिक कष्ट भयो ।
अझ यो भन्दा नि राइडरको नियत कति नराम्रो !
मेडिकलबाट फर्कदैँ गर्दा मैले सो चालकलाई फोन गरेको थिएँ । फोनमा मैले ड्रेसिङ गराएको र पेनकिलर लिएको तर साँझसम्ममा दुखाई बढ्यो भने एक्स रे गर्नुपर्ने अवस्थामा निजलाई अस्पताल आउनुपर्ने र खर्च व्यहोर्नुपर्ने जानकारी गराएँ । तर चालकले फेरी भने, “मेरो के गल्ति छ र उपचार गर्नुपर्ने । बाटो नै नराम्रो थियो ।” उनीसंग भनाभन परेपछि उनले फोन काटे । त्यसपछि कैयौँ पटक फोन गर्दा पनि उठाएनन् ।
कहिलेकाहीँ गल्ति हुनु, भवितव्य हुनु स्वाभाविक हो तर आफ्नो कारण कोही समस्यामा पर्यो भने त्यसको जिम्मेवारी नलिने ? म जस्तै मानिसहरु दैनिक रुपमा यस्ता किसिमका सेवा प्रयोग गरिरहेका हुन्छन् । त्यसो गर्दा यस्तै घटना कति जनासँग भइरहेका होलान् भन्ने सोच आयो ।
हामीले प्रयोग गरिरहेका यी सेवाहरू साँच्चै सुरक्षित हुनुपर्दैन र ? भन्ने लाग्यो । मेरो केस त सामान्य भयो । यदि ठूलो दुर्घटना भएको भए र चालक फरार भएको भए के हुन्थ्यो ?
घटना भएको दिनपछि पनि म निरन्तर इन्ड्राइभ चढिरहेको छु । नयाँ–नयाँ चालकसंग कुरा गरिरहेको छु । फरक–फरक कुराहरु थाहा पाइरहेको छु । एउटा लाइसेन्स को कपि बुझाएको भरमा इन्ड्राइभ चालकमा नाम दर्ता गर्न पाइने रहेछ । प्रत्येक राइडको १० प्रतिशत मात्र कम्पनीलाई बुझाए पुग्ने रैछ । सबै कुरा अनलाइन । सशरिर उपस्थित भएर केही गर्नै नपर्ने ।
मैले सोधेका मध्यलाई त सो को अफिस पनि थाहा रहेनछ । अनि बिमा बारे त झनै बेखबर ।
म त छक्क परेँ ।ओह
घटना भएको दिनपछि पनि म निरन्तर इन्ड्राइभ चढिरहेको छु । नयाँ–नयाँ चालकसंग कुरा गरिरहेको छु । फरक–फरक कुराहरु थाहा पाईरहेको छु । एउटा लाइसेन्सको कपि बुझाएको भरमा इन्ड्राइभ चालकमा नाम दर्ता गर्न पाइने रहेछ । प्रत्येक राइडको १० प्रतिशत मात्र कम्पनीलाई बुझाए पुग्ने रैछ । सबै कुरा अनलाइन । सशरिर उपस्थित भएर केही गर्नै नपर्ने ।
मैले सोधेका मध्यलाई त सो को अफिस पनि थाहा रहेनछ । अनि बिमा बारे त झनै बेखबर ।
म त छक्क परेँ ।
ओहो ! सिस्टम त गज्जब रहेछ भन्ने लाग्यो ।
ति चालकहरुसंग इन्ड्राइभको मात्र नभई अन्य एपहरु पनि रहेछ । मैले आफ्नो दुर्घटनाको कुरा सुनाउँदा उनीहरुले किन इन्ड्राइभ चढ्नुभएको भनेर मलाई नै प्रश्न गरे । त्यसपछि मैले उनीहरुलाई इन्ड्राइभको चालक चाहिँ किन बनेको त भनेर प्रश्न गर्दा उनीहरु भन्छन्, “अन्य एपमा राइड नआउँदा मात्र इन्ड्राइभ लिने गरेका छौँ । तुलनात्मक रुपमा अरु एप महङ्गो छ र मानिसहरु सस्तो खोज्छन् । सस्तो खोज्दा यस्तै हुन्छ । ”
हुन पनि इन्ड्राइभ एपमा पैसाको बार्गेनिङ र सवारी छनौट गर्न मिल्ने सिस्टम भएकाले होला म जस्तै अरु मानिसहरु यसप्रति आर्कर्षित भएका ।
यो शहरमा विभिन्न कम्पनीका ठुला ठुला होर्डिङ बोर्ड टाँसिएका छन् । ति होर्डिङ बोर्डमा कला क्षेत्रका चिरपरिचित अनुहारहरु छन् । तर के उनीहरु आफुले विज्ञापन गरेका वस्तु वा कम्पनीबारे आम नागरिकको गुनासोलाई पनि थोरबहुत सम्बोधन गर्न सक्छन् त ? कि भाडाका मोडल मात्रै हुन् ? र जनतालाई पङ्गु बनाउँदैछन् ?
घटनाको भोलिपल्टदेखी म सम्बन्धित अफिसको सम्पर्क नम्बर खोज्दै थिएँ । मैले तत्कालै कम्पनिलाई मेल पनि गरेँ । तर उत्तर आएन । कसैलाई थाहा छ कि भनेर फेसबुकमा स्टाटस लेखेँ । थुप्रै नम्बरहरु प्राप्त भयो र सो नम्बरहरुमा कल गरेँ । अधिकाशं नम्बरहरु लाग्दैनथे । मेरो पोस्टमा सम्बन्धित कम्पनीलाई मेन्सन गरेपछि अफिसबाट मलाई कल आएको थियो । कुनै महिला कर्मचारीले गरेकी थिइन् । उनले मसंग घटनाको सबै विवरण सोधिन् । मैले उनलाई आफै अफिस आउने कुरा गरेँ तर उनले त्यसलाई सोझै इन्कार गरिन् । जसमा मलाई अचम्म लागेको थियो । मेरा कैयौँ प्रश्नलाई उनी बडो डिप्लोमेटिक तरिकाले उत्तर दिइरहेकी थिइन् । उनले मलाई बिमा रहेको जानकारी गराउँदै क्षतिपूर्तिको भपाई गर्ने प्रक्रिया बुझाउँछु भन्दै पुनः फोन गर्ने वाचा पनि गरिन् ।
तर त्यसको आफ्नै झमेला छ ।
मलाई त्यहाँबाट चार–पाँच पटक कल आएको छ तर उनीहरुले निकै कम समयमा बुझाउने प्रक्रिया जो कोहिले सहज बुझ्दैन । पठाएको मेल सहज तरिकाबाट जाँदैन ।
जुन नम्बरबाट मलाई फोन आउँछ, त्यो नम्बरमा केही कुरा सोध्न खोज्दा कल लाग्दैन । ह्वाटस एप र भाइबर केही छैन । हरेक कल रेकर्डेड हुन्छ । बडो चलाखीपूर्ण तरिकाबाट जवाफ दिने शैली कम्पनीको नियमजस्तो लाग्छ । धेरै उत्तरहरु जमानाअनुसार अटोमेटेड छन् । जब उनीहरु चाहन्छन्, तब मात्र सम्पर्क हुन्छ । हामीले गर्दा हुँदैन ।
मैले निकै पटकको प्रयासपछि मेल पठाउन सफल भएँ । त्यसको प्रत्यूतरमा छिटै त्यसबारे अनुसन्धान गर्ने र यस विषयलाई गम्भिरतापूर्ण समिक्षा गर्ने बताइएको छ । मैले आफ्नो सम्पूर्ण कागजात पनि पेश गरेको छु ।
ढिलो चाँडो मैले आफ्नो भपाई त पाउनैपर्छ ।
तेहृ चौध दिन यता बारम्बार घाउ सफा गर्नु, मल्हम लगाउनु, औषधि खानु र कष्ट लिएर हिड्न पर्ने दैनिकी भएपछि मलाई केही ठिक लागिरहेको छैन ।
बारम्बार मनमा दोहोरिने प्रश्न के हो भने यो देशमा जसले जे पनि गर्न पाइने हो र? जो पनि आयो आफ्नो दुनो सोझ्यायो ?
प्रहरी भन्छ, “यिनिहरु लिगल होइनन् ।” प्रश्न उठ्छ, आखिर अवैद्यानिक मानिएका कम्पनीहरु कसरी खुलेआम सञ्चालन भइरहेका छन् त ? कसरी पास हुन्छ पारदर्शिता र जवाफदेहिता नअपनाएका कम्पनिहरुको सञ्चालन प्रक्रिया ?
हिजो साँझ फेरी म इन्ड्राइभ चढेँ । एकजना अति नै शालिन र इमान्दार चालकसंग भेठ भयो । म र म जस्ता सयौँ हण्डर खाएका साथै कानूनी राज्यको अनुभूत गर्न नपाइ नियतिले पिल्सिएको अर्को एक अनुहार । उनीसंग लामै भलाकुसारी भयो । पेशाले इन्जिनियर रहेछन् र फुर्सदमा यो काम पनि गर्दारहेछन् । उनीसंग यहि विषयमा कुरा भयो । कुरा गर्दै जाँदा थाहा भयो कि राइडरहरु संग पनि विभिन्न समस्या हुँदो रहेछ । तर जुनबेला समस्या भयो, त्यो बेला समाधान पाउन गाहृो । कम्पनिको अनुकुलतामा मात्र जवाफ आउने । उनी भन्दै थिए, “कम्पनीले आफ्नो कुरा मात्र सहि ठान्छ । हाम्रा कुराहरुको सुनुवाई हुँदैन ।”
न कुनै प्रत्यक्ष भेटघाट । न कोहि प्रतिनिधी । कम्पनीको गोप्यतालाई चाहिँ मान्नैपर्छ ।
घटनाको तीन दिनपछि मात्र म प्रहरीकोमा रिपोर्ट गर्न पुगेको थिएँ । मलाई एकजना हितैषी मित्रले सहारा दिनुभयो । प्रहरीकोमा नालीबेली बताउन नपाउँदै एकजना प्रहरीले बताए कि आज त बिदाको दिन हो । “आज ल्होसार, भोली प्रजातन्त्र दिवस अब पर्सी मात्र आउनुहोला ।” उनको जवाफले मलाई बिझायो ।
मलाई यो प्रहरी प्रशासनमा बिदा भन्ने कुरा नै गजब लाग्छ । समस्या लिएर जाँदा कि त प्रहरी कार्यालय बन्द नै हुनुप¥यो नत्र त थोरै भएपनि एक्सनको त शुरुवात होस् न ।
एउटा सामान्य नागरीकको नजरमा प्रहरी भगवान हो । र हरेक पीडितको अपेक्षा आफ्नो समस्या छिटो सुल्झियोस् भन्ने नै हुन्छ । उहाँहरुको लागी एउटा समस्या भनेको समस्याहरुको चाङमा अर्को एउटा समस्या थपिनु होला तर पीडितलाई त्यो समस्या दिक्दारी हो ।
“आइहाल्नु भो एउटा निवेदन लेखेर जानु न त” भन्ने आदेश पाएपछि साथी र म निवेदन दिएर फर्कियौँ ।
म एकदम शान्त प्रवृत्तिको मान्छे हुँ । मलाई झैझगडा र झमेलामा पर्न नपरे हुन्थ्यो भन्ने लाग्छ । आफैलाई अन्याय हुँदा पनि भो ! म अब यसमा थप बहस गर्दिन भनेर कैयौँपटक चुप बसेको छु । तर पुलिस रिपोर्ट गर्नैपर्ने कुरामा चौकी नजाने त कुरै भएन ।
तर जुनजुनबेला गएँ, त्यो बेला मैले प्रहरी प्रशासनबाट सहज रुपमा कुनै सहयोग पाएको छैन । म खासै कुनै सोर्सफोर्स लगाएर काम गराउन जान्दिन । बाजेबराजुकै पालाबाट आफ्नो घरमा हुने राजनैतिक चलपहलले उक्त पार्टिप्रतिको आस्था बाहेक जिल्लाका ठुला नेताहरुसंग मेरो हिमचिम छैन । भलै कार्यक्रम सञ्चालनको क्रममा मैले कैयौँ नेताहरुलाई भेटेको छु । मलाई के मा विश्वास लाग्छ भने एउटा सामान्य नागरिक भएको हिसाबले राज्यबाट पाउने सेवासुविधा र अधिकार जो कोहिले कुनै पनि हालमा पाउनैपर्छ ।
निवेदन दिएर फर्कदैँ गर्दा मलाई ६ वर्षअघिको घटना याद आयो । एक साँझ मेरी आमालाई लिएर म पशुपतिनाथको सन्ध्या आरति हेर्न गएकी थिएँ । पार्किङमा स्कुटर राखेर गएकी म, आरति सकेर आउँदा आफ्नो स्कुटर नभेट्दा आत्तिएँ ।
प्रहरी वृत गौशाला संगै भएकाले हतारहतार त्यहिँ गएँ । आफ्नो नालिबेली बताउन नपाउँदै त्यहाँका प्रहरीले आज त ढिला भयो, भोली आउनु भनेर मेरो मुख टाल्दिए । म के नै गर्न सक्थेँ र ? फर्किएँ । यहि कुरा जहिले खट्किरहन्छ कि तुरुन्त एक्सन लिँदा हुन सक्ने समस्याको समाधान ढिलासुस्ती गर्दा कसरी हुन सक्छ र ?
त्यहि स्कुटरको काण्डले म घर गएका बेला हेटौँडाबाट समातिएँ । भैदियो के भने स्कुटर चोरेर चोरले गाँजा ओसारपसार गर्न थालेछ । त्यहि स्कुटरको डिक्कीमा गाँजा भेटिएपछि चोरले दिएको बयानले सवारी धनी भएको कारणले म समातिएको थिएँ । बलियो पक्ष के थियो भने घटनाको पर्सीपल्ट मैले निवेदन दिईसकेको थिएँ । नत्र म जेल चलान हुन्थेँ । घटना गाँजासम्म मात्र होईन स्कुटरमा सवार अर्की नाबालिगसंग पनि जोडिएकाले अदालतमा २ वर्षसम्म मैले धाउन प¥यो । म एक्लै लडिरहेको थिएँ । यो व्यस्त शहरमा मलाई कसैलाई दुःख दिन मन लाग्दैन । म एक्लै अदालतको शौचालयमा ग्वाँ–ग्वाँ रोएर हिँड्थे ।
पछि अदालतले चाहेको बेला स्कुटर फिर्ता ल्याउने शर्तमा मैले स्कुटर पाएँ । निकाल्न मिल्ने पार्टपुर्जा सबै झिकिएको अवस्थामा पाएको स्कुटर मर्मत गर्न र यातायातको कर तिर्न रु ५१ हजार लाग्यो । संयोगले त्यहि वर्ष चलचित्र पत्रकार संघ नेपालले प्रदान गर्ने चलचित्र पत्रकारीता पुरस्कार बाट मैले रु ५१ हजारकै पुरस्कार पाएकी थिएँ ।
यो घटनाको अन्तरालमा एकजना प्रहरीले मलाई फोन गरिरहन्थे । हरेक पटक चौकीमा मलाई एक्लै देखेकाले उनी म संग इतरिन खोज्दै थिए । मैले उनको नियत बुझेपछि उनलाई बेस्सरी झपारेको थिएँ । मैले मेरो जिवनमा अनगिन्ती ह्यारेसमेन्ट भोगेकाले म यस्ता कुराले एकदम हाइपर भइहाल्छु ।
मैले अघिल्लो घटनामा भनिहालेँ, “आज बिदा छ” भनेर जसरी पर्सी आउनु भन्ने सुझाव आयो । त्यसकै सट्टा तुरुन्त चालकलाई फोन गरेर तुरुन्त चौकी आउनु भनेको भए त केही कुराहरु समाधान त हुन सक्थे नि ? कि त बिदाको दिनमा प्रहरी प्रशासनमा ताला लाग्नुप¥यो, हैन भने प्रहरी परिसर भित्रै भेटिने प्रहरीहरु घाम तापेर आनन्द लिइरहँदा आज त बिदा छ भनेर कपाल कन्याउँदै पीडितका कुरा किनारा लगाउँदा कसरी सुरक्षाका निकाय प्रतिको विश्वास बढ्छ र ? प्रहरी प्रशासनको भुमिका त २४ घण्टा नै हुनुपर्छ, हैन र ?
म अझ १० वर्ष अघिको घटना सुनाउँछु । एउटा अनलाईनले मेरो फोटोको दुरुपयोग गरेर एउटा समाचार छापेको थियो, समाचारको शिर्षक थियो, यिनै हुन्, “श्रीमानलाई हलो जोत्न पठाएर परपुरुषसंग यौन सम्बन्ध राख्ने महिला” मलाई एकजना साथीले स्क्रिनसट पठाएपछि म झस्किएँ । उक्त समाचार कपि गर्दै थप चारवटा अनलाइनले मेरो फोटो फैलाए । समाचारको तल आएको अश्लिल गालीहरुले म चिढिएको थिएँ । यत्तिकै यो अनलाईनलाई छोड्नुहुन्न भनेर म टेकुको साइबर ब्युरो गएँ । त्यहाँ गएपछि शुरुमै म हाँस्यको पात्र बनिएँ । मेरा गाजलको कोस र लिपिस्टीक मेरो उत्ताउलोपनको मानक बन्यो । एकजना प्रहरीले “फेसबुकमा धेरै राम्रो फोटो हाल्नुहुन्न नि !” भनेर सुझाव दिए । अर्को प्रहरीबाट के उत्तर आयो भने, “यस्तो त कति हुन्छ कति । नजरअन्दाज गर्नुपर्छ ।”
आफुले चिनेको प्रहरीबाट काम हुन्छ कि भनेर म आफ्नो गृहजिल्लामा प्रेसमा काम गर्दा चिनेको अनुहार खोज्दै गएँ । ति उच्चपदस्थ अधिकारीको क्याबिनमा जाँदा मलाई चियाले स्वागत त भयो तर दुध चियाको गुलियोपन घाँटिबाट उत्रिन नपाउँदै उनले मलाई भने, “तिमी ऐश्वर्य राय हो र ? किन आत्तिएको यस्तो सानो न्युजले ?”
मैले भने, “हो सर म ऐश्वर्य राय त होईन तर यहि नेपाल यातायातमा धक्का मुक्का खाँदै हिँड्ने एउटा आम अनुहार चाहिँ हो । हजुरकै परिवारमा कसैलाई यस्तै परेको भए यस्तै भनिसिन्थ्यो र ?” उनी हाँसे मात्र ।
म त्यो कुराको लागी धेरै दिन धाएँ । अधिकांश अनलाईन नेपालमा दर्ता थिएनन् । मलाई दिन बिराएर मानवअधिकार आयोग, महिला आयोग, प्रेस काउन्सिलको चक्कर काट्दा काट्दा दिक्दार लागेपछि जान बन्द गरेँ ।
त्यसैले मलाई प्रहरी मेरो साथी कहिल्यै लाग्दैन ।
यो बाहेक राहदानी बनाउँदाको सास्ती, नागरिकता सच्याउँदाको झमेला, त्रिभुवन विश्वविद्यालयको लाइनसंग जोडिएका कैयन् किस्सा छन्, जुन सबै उल्लेख गर्न सकिँदैन ।
कहिलेकाहीँ अर्को कोणबाट सोच्छु, के सरकारी कर्मचारीहरु आफ्नै समस्याले गिजोलिएका छन् ? उनीहरु जागिरे भएबापत राज्यले दिएको सेवासुविधा के उनीहरुका लागी अपुग छ ? के त्यसैकारण उनीहरु आमजनताका समस्यालाई चासो लिएर फत्ते गदैनन् ? कि ‘फुल फ्रस्टेसन’मा छन् ?
साराशं त पक्कै यहि हो । आधारभुत आवश्यकता नै हाम्रा लागी अत्याधिक महङ्गा भएका छन् ।
नेपालमा हरेक कुरामा झन्झटिलो प्रक्रिया भएर अघि बढ्छ । जहाँ जाँदा पनि लाइन बस्नुपर्ने पट्यारलाग्दो अवस्था छ । प्रविधिको युगमा पनि व्यवस्थित र छिटो सेवा प्राप्त हुँदैन । सजिलै प्राप्त हुँदैन । अस्पतालमा सेवा लिन, सरकारी काम गर्न, शिक्षाका काम नै किन नहोस् उर्जा र समय खर्चिने गरी हैरानी खेप्नुपर्छ । त्यसैले त एक महिना मात्र विदेशमा गएर कोही किन नफर्किउन्, हरेक व्यक्ति भन्छन्, “हाम्रो देशमा किन यति ढिलासुस्ती ?”
अँ ! साँच्चै स्कुटरको लाइसेन्स प्रिन्ट भएर नआउँदा एउटा चिर्कटो बोकेर हिँडेको पनि ३ वर्ष हुन लागिसकेछ ।
थोरै शिक्षाको कुरा गरौँ । कुनै समय म एउटा क्याम्पसमा पढाउँथे । पढाइ मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सघाउँथे । उनीहरुप्रति गरेको मेरो मेहेनत देखेर मेरा सहकर्मीहरु भन्थे, “म्याम नयाँ नयाँ हुनुहुन्छ । यति मेहेनत आवश्यक पर्दैन । मसला अर्कै छ ।” कक्षामा जान्थेँ, विद्यार्थीहरु भन्थे, “म्याम हामीलाई यति धेरै गर्नुपदैन ।” पछि थाहा भयो परिक्षाका बेला परिक्षा केन्द्र नै किनेर ‘टेलिग्राम’ जस्ता एपको माध्यमबाट पुराका पुरा प्रश्नहरुको उत्तर शिक्षकहरुबाटै लेखाएर सबै विद्यार्थी पास गराउने सेटिङ सो क्याम्पससंग रहेछ । परिक्षाको समयअवधि भित्र नै मैले पठाएको एक मेसेजको प्रत्युत्तर विद्यार्थीले दिएपछि उनीसंग मैले सबै सत्य ओकलेको थिएँ ।
यो विषयमा मैले थप खोज गरेँ । क्याम्पसको सेयरहेल्डर टिम मेम्बरमा कसैको प्राइभेट एस.इ.इ रहेछ, कसैको कन्सलटेन्सी, कसैको म्यानपावर । अर्थात् एउटा पुराका पुरा चेन । विद्यार्थी सबै पास र सिधा विदेश । धेरै अभिभावकहरु आफ्नो सन्तान बाहिर पठाउन यसकै सहारा पनि लिँदा रहेछन् । एकपटक एकजना अभिभावक खाममा एक लाख बढी रकम लिएर आएकी थिईन् । उनको बच्चो ११ कक्षामा पढ्दै थियो र एउटा केसले जेलमा पुगेको थियो । कलेज प्रशासनले उनले दिएको दाम समात्यो र छोरो पास भयो ।
त्यसपछि मलाई त्यहाँ पढाउन मन लागेन । प्रिन्सिपलले “क्लासमा पढाएजस्तो गर्नु न !” भनेजस्तो मैले अभिनय गर्न सकिन । अँ, उनीबाट गलत नियतको प्रस्ताव पनि आएको थियो । बदलामा उनले मलाई जे भन्यो त्यहि किनिदिने लालच देखाएका थिए ।
कहिलेकाँही सोच्छु, चाहिने भन्दा बढि इमानदारिता भारी पर्छ ।
मैले पढाएका अधिकांश विद्यार्थीहरु विदेश छन् । कहिलेकाँहि हाइ हेल्लो हुँदा उनीहरु नेपालमा केही नभएको गुनासो गर्छन् । ‘लक्जरी लाइफ’को तुरुप फ्याँक्छन् । स्वेच्छाले विदेश जानु, पढेर वा सिप सिकेर फर्किनु भनेको राम्रो कुरा हो तर नेपालमा भविष्य छैन भन्नु हाम्रो ठुलो दुर्भाग्य हो । कस्तो भाष्य निर्माण गरेका रैछौँ त हामीले ?
हाम्रो शिक्षा सैद्धान्तिक मात्र भयो । हामीसंग उद्यमशीलता, प्रविधिमैत्री शिक्षा र व्यवहारिक सीप र बजार पर्याप्त हुन नसकेकै हो । भएका दक्ष जनशक्ति पनि बाहिरिने क्रम बढ्दै जाँदा यसले आर्थिक मात्र होइन, सामाजीक, साँस्कृतिक पक्षमा समेत असर पारेको छ । हाम्रा परिवार पनि टुट्ने अवस्थामा छन् ।
इमान्दारीताको साथमा काम गर्छु र आफ्नै देशमा बस्छु भन्ने मेरो यो उमेरसम्मको अडान पनि कतिन्जेलसम्म टिक्छ होला ? म आफैले आफैलाई च्यालेन्ज गर्दैछु ।
यतिबेला चुनावको माहोलले देश गरम छ । सामाजिक सञ्जालमा हरेक राजनैतिक शक्तिको आफ्नै प्रर्दशनी र होडबाजि व्याप्त छ । नागरिकका अपेक्षाहरु छरपष्ट देखिन्छन् । गुटउपगुटका गोलाहरु सक्रिय छन् । विभिन्न राजनैतिक दलका नेताहरु आफ्नो विश्वासका साथमा वाचापत्र, प्रतिज्ञापत्र, घोषणा पत्र, करार पत्र आदि इत्यादि लिएर जनताको घरघरमा पुगेका छन् । जनताहरु पनि नेतालाई तौलँदै छन् । माहोल जे पनि हुनसक्ने अवस्थामा छ ।
जे होस्, कोरिएका ति कागजहरुमा विकास, रोजगारी, शिक्षा सुधार, सुशासन र भ्रष्टाचार नियन्त्रणका ठूला–ठूला प्रतिबद्धता समेटिएका छन् । सुशासन कायम गर्ने, युवालाई उद्यमशील बनाउने, विदेश पलायन रोक्ने र अवसर सिर्जना गर्ने वाचा पनि दोहोरिएका छन् ।
तर प्रश्न उठ्छ–यी प्रतिबद्धताहरू कति व्यवहारमा रूपान्तरण हुन्छन् त ? विगतका चुनावहरूमा पनि यस्तै आश्वासन दिइएका थिए, तर तीमध्ये धेरै योजनाहरू कागजमै सीमित भए । यही कारण आजको युवा पुस्ता घोषणाभन्दा कार्यान्वयनलाई प्राथमिकता दिन थालेको छ ।
युवा अब भावनात्मक नाराले प्रभावित हुने अवस्थामा छैनन् । उनीहरू स्पष्ट योजना, समयसीमा र जवाफदेहिताको माग गरिरहेका छन् । घोषणा–पत्र केवल मत आकर्षित गर्ने दस्तावेज नभई, नैतिक प्रतिबद्धता र सार्वजनिक जिम्मेवारीको प्रमाणपत्र हुनुपर्छ । यदि दलहरूले आफ्ना प्रतिज्ञा र कार्यबीचको दूरी घटाउन सकेनन् भने विश्वासको संकट अझ गहिरो बन्न सक्छ ।
त्यसैले अब आवश्यक छ– घोषणा होइन, परिणाम । आश्वासन होइन, उत्तरदायित्व । भाषण होइन, कार्य । यही नै आजको युवाको स्पष्ट अपेक्षा हो ।
यो नैराश्यताका बिचमा आशाका किरणहरु नभएका होइनन् ।
अनेक युवा स्वदेशमै संघर्ष गर्दै साना–ठूला व्यवसाय सञ्चालन गरेर रोजगारी सिर्जना गरिरहेका छन् । आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गरिरहेका छन् । केही युवा सामाजिक विकृति, अन्याय र भ्रष्टाचारविरुद्ध निर्भीक आवाजहरु उठाइरहेका छन् । प्रविधिको सदुपयोग गर्दै नवप्रवर्तनका माध्यमबाट नयाँ सम्भावनाका ढोका खोलिरहेका छन् । चुनौतीहरू जति नै कठोर किन नहोस्, आशा, परिश्रम र आत्मविश्वासका साथ अगाडि बढ्ने साहस नै युवाको पहिचान हो ।
युवा पुस्ता केवल समस्या भोग्ने वर्ग होइन, परिवर्तनको नेतृत्व गर्न सक्ने सशक्त शक्ति हो । इतिहासले बारम्बार प्रमाणित गरेको छ, जब युवा सचेत र सक्रिय हुन्छन्, तब समाज जडता तोडेर अघि बढ्छ ।
युवा शक्ति केवल जनसंख्याको आँकडा मात्र होइन, राष्ट्रको भविष्यको मार्गनिर्देशक हो । यही ऊर्जा, सिर्जनशीलता र दृढ इच्छाशक्तिलाई सही दिशा, अवसर र नीति समर्थन मिल्यो भने नेपालले विकासको नयाँ गति समात्न सक्छ ।
त्यसैले युवालाई केवल मत हाल्ने दिन सम्झिने वर्ग र श्रमिकका रूपमा होइन, निर्णय प्रक्रियाको साझेदारका रूपमा स्वीकार गर्नुपर्छ । जब युवाको विचार सुन्ने र क्षमतामा विश्वास गर्ने संस्कार विकास हुन्छ, तब राष्ट्रले सम्भावनाको नयाँ अध्याय मात्र होइन, आत्मनिर्भर र समृद्ध भविष्यतर्फ ठोस कदम चाल्न सक्छ ।











प्रतिक्रिया