गगन–विश्वको सक्रियताले कांग्रेस ‘डिफेन्सिभ’बाट ‘अफेन्सिभ’ हुँदै

2.16k
Shares

काठमाडौँ ।

फागुन २१ गतेको निर्वाचन निर्वाचन नजिकिँदै गर्दा र प्रचारप्रसारको दिन घट्दै जाँदा नेपाली कांग्रेसले देशका प्रमुख सहरहरूमा आमसभाहरू आयोजना गरिरहेको छ । कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा हेलिकोप्टर चढेरै भए पनि देश दौडाहामा हुनुहुन्छ । थापा र शर्माको दौडाहाले कांग्रेस कार्यकर्तामा नयाँ रक्तसञ्चार गराएको छ भने पछिल्लो समय मत परिवर्तन गर्ने मनस्थिति बनाएका कांग्रेस समर्थक मतदाताहरूका लागि आफ्नै दल रोज्ने वातावरणसमेत बन्दै गएको देखिएको छ ।

शनिवार सभापति थापाले बाराको कोल्हबीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सबै जातजातिको साझा पार्टी भएकाले अहिले अवसर नपाएका स्थानीय समुदायले अब आउने स्थानीय र प्रदेश चुनावमा मौका पाउने भन्दै कार्यकर्ताहरूलाई आश्वस्त पार्नुभएको थियो ।

त्यसै गरी उपसभापति शर्माले शनिवार नै गुल्मीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुशासन स्थापना गर्न पहिला शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु हुने बताउनुभयो । उहाँले पहिला सभापति थापा र पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर शासन सुधारको थालनी गर्ने उद्घोष गर्नुभयो ।

यसै साता कांग्रेसले पोखरा र बुटवलमा पनि ठूलो चुनावी सभा सम्पन्न गरेको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले तय भइसकेको आमसभा पनि स्थगित गरेको थियो भने एमालेले सभा गर्ने छाँटकाँट देखाएको छैन । पोखरामा भएको सभाले कांग्रेसको जनाधार बलियो भएको देखाएको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको दाबी छ ।

जेन–जी आन्दोलनपछि निराश भएका नेता तथा कार्यकर्ताहरू नयाँ नेतृत्व र दृष्टिकोणका कारण उत्साहित भएर अघि बढ्ने अवस्था आएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘पोखरामा भेला भएको ठूलो सभाको प्रवाहको सन्देश गाउँगाउँमा पुगेको छ, जनतामा भरोसा र आशा जगाएको छ ।’

गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नेतृत्वमा आएलगत्तै चुनावी महासंग्राममा होमिएको कांग्रेसका सभापति थापा र उपसभापति शर्माको जोडीले चुनावी अभियान अघि बढाउँदै गर्दा कार्यकर्ताहरू ‘डिफेन्सिभ मुड’बाट ‘अफेन्सिभ’ हुन थालेका छन् ।

भदौमा भएको जेन–जी आन्दोलन र पार्टीभित्रको विवादका कारण निराश भएका कांग्रेस कार्यकर्ताहरू चुनाव नजिकिँदै गर्दा निकै उत्साहित देखिएका छन् । अघिल्लो महिनासम्म पार्टीको पुरानो जनमत नै जोगाउन हम्मेहम्मे हुने देखिएको कांग्रेसप्रति अहिले भने जनलहर आएको कांग्रेस कार्यकर्ताको भनाइ छ । उनीहरूको भनाइ छ– ‘थापाको नेतृत्वले जनतामाझ जान सजिलो भएको छ र बदलिएको कांग्रेसले देश बनाउन सक्छ भन्ने सन्देश दिन पाइएको छ ।’

सभापछि देशभर देखिएको उत्साह
पोखराको सभापछि पोखरामा मात्रै होइन, कांग्रेसको अन्य सभाहरूमा पनि नेता तथा कार्यकताहरूको उपस्थिति बाक्लो देखिएको छ । अघिल्ला निर्वाचनमा ठूलाठूला सभा गर्नेमा नेकपा (एमाले) अग्रपंक्तिमा थियो, तर यसपटक एमालेले एउटै पनि क्षेत्रीय स्तरका सभा आयोजना गरेको छैन । तर, कांग्रेसले ठूला सहरहरूमा सभा आयोजना गरिरहेको छ । सभामा आएका कांग्रेस कार्यकर्ताहरू अहिले जताततै मत परिर्वतनको लहर चलेको बेला कांग्रेसको नेतृत्व त्यसलाई रोक्न पनि लागि परेको सुनाउँछन् । यद्यपि, कांग्रेसले आफू बद्लिएको र देश बदल्ने संकल्प गरेको कुरा जनताको तहमा अझै पुगी नसकेको अनुभव कांग्रेस कार्यकर्ताहरूको छ ।

सपापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेपछि सबै नेता कार्यकर्ताहरू उत्साहित भएको नेपालगञ्जका कांग्रेस नेता तथा कार्यकर्ताहरूले सुनाए । नेपालगञ्ज र सुर्खेतमा कांग्रेसले बिहीबार ठूलो चुनावी सभा गरेको थियो । सभामा ब्यक्त अभिव्यक्ति र विचारहरूले कांग्रेस कार्यकर्ताहरूलाई जुट्न सहज भएको उनीहरूको दाबी छ । नेपालगञ्जका कांग्रेस कार्यकर्ता कपिल शर्माले कांग्रेस सभापति थापाले व्यक्ति नभई प्रणालीले देशको विकास गर्नेमा जोड दिँदै आएको बताउनुभयो । कांग्रेसमा युवा नेता नेतृत्वमा आएपछि परिवर्तन र उत्साह बढेको जिकिर गर्दै उहाँले भन्नुभयो–‘यसले मत परिर्वतन गर्छौं भन्नेलाई पनि रोक्न सफल भएका छौं ।’

कांग्रेसकी नेतृ उमा आलेले सभाहरूमा भएका सम्बोधनले उत्साह भरेको बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वमा सभामा दिएका अभिव्यक्ति तथा सार्वजनिक गरेका परिर्वतनका एजेन्डाहरू समस्याका समाधान जगाउने मुख्य आधार बनेको दाबी पनि गर्नुभयो ।

विगतमा गठबन्धन गरेर चुनावमा जाँदा पार्टीको चुनाव चिह्नमा मत दिन नपाएका कांग्रेस मतदाताहरूमा यस पटक रूखमा मत दिन पाउने कुराले पनि उत्साह थपेको देखिन्छ । यद्यपि, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष अहिले पनि खुलेर चुनावी प्रचारमा सहभागी भएका छैनन् ।

पूर्व सभापति सभापति देउवामात्रै होइन, देउवा पक्षका कुनै पनि नेताहरू सक्रिय भएको पाइएको छैन । देउवा समूहले अन्तर्घात गरेको अवस्थामा कांग्रेसले सुदृढ परिणाम ल्याउन कठिन पर्न सक्ने आशंका पनि गरिँदैछ । कतिपय जिल्लामा असन्तुष्ट कांग्रेस कार्यकर्ताले एमाले, माओवादी वा रास्वपाका उमेदवारलाइ मत दिने बताईरहेका छन् । देउवा पक्षलाई प्रत्यक्ष रूपमा पार्टीको पक्षमा नै परिचालन गर्न कतिको सफल हुने हो भन्ने विषयले पनि चुनावमा कांग्रेसको स्थिति निर्धारण गर्ने कांग्रेस कार्यकर्ताहरूको भनाइ छ ।

सर्लाहीमा गगनका यस्ता छन् चुनौती
सर्लाही जिल्ला दोस्रो जनआन्दोलनपछिको सबै चुुनावमा प्रमुुख चर्चाको केन्द्र बन्दै आएको जिल्ला हो । अघिल्ला निर्वाचनहरूमा मधेस केन्द्रित दल तथा पात्रका कारण चर्चामा आउने गरेको यो जिल्लाले अहिले नेपाली कांग्रेसका सभापति गगनकुुमार थापाले सर्लाही–४ बाट आप्mनो उम्मेदवारी दिएपछि बढी चर्चा पाएको छ । सुरुमा गगन कमजोरजस्तो देखिए पनि

पछिल्ला दिनमा उहाँको पक्षमा माहोल सशक्त बन्द्यै गएकाले विजयी बन्ने सम्भावना प्रबल देखिएको छ ।
गगन आफंै उम्मेदार भएको सर्लाही–४ मा निवार्चित जनप्रतिनिधिदेखि मधेस केन्द्रत दलको प्रभावशाली व्यक्तिहरू समेत कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । चुनावी माहोल बढाउनका लागि नेताहरूको प्रवेशले ठूलो काम गरेको देखिएको छ । संविधान सभाका सदस्य केदारनन्दन चौधरी र जनता समाजवादी पार्टी नेपालका महासचिव मनिषकुमार मिश्र औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं–४ ‘ख’ प्रदेशका उम्मेदवार कृष्णकुमार कुशवाह, गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, वडा नं २का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं ५का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

महतो र शाह नेपाल कम्युनिस्ट पार्टी, गुप्ता जसपा, पण्डित एमालेबाट वडाध्यक्षमा विजयी हुनुभएको हो । त्यसै गरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गर्नुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेतासमेत रहेका बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

विगतको चुुनावमा जातीय समिकरणले धेरै काम गरेको यस क्षेत्रमा थापाको आप्mनो प्रत्क्षय जनसम्पर्कमा कमीका कारण समस्या पर्ने देखिन्छ । नेपाल कांग्रेसवाट राजनीति गदै आएका अमरेशकुमार सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको छ । उहाँ थापाका लागि सबैभन्दा बढी चुनौतीको रूपमा देखिएको छ ।