सस्तो लोकप्रियताका लागि असम्भव सपना बाँड्दिनँ


हरेक टोलमा अहिले चुनावी बहस तीव्र हुँदै गएको छ । काठमाडौंका १० क्षेत्रमध्ये क्षेत्र नम्बर ९ अहिले चुनावी सरगर्मीले उच्च बिन्दुमा पुगेको छ । यो क्षेत्रबाट नेकपा एमालेले दूरदर्शी नेता डा. अयजक्रान्ति शाक्यलाई चुनावी मैदानमा उतारेको छ । राजधानी कसरी बनाउनुपर्दछ भन्ने स्पष्ट भिजनसहित निर्वाचनमा उत्रिएका शाक्यले निर्वाचनपछि गर्ने हरेक कामलाई प्राथकितामा राखेर मतदातालाई आफ्नो भिजन प्रस्तुत गर्दै आउनुभएको छ । प्रस्तुत छ, यसैको सेरोफेरोमा रहेर नेपाल समाचारपत्रले गरेको कुराकानीको सारसंक्षेप :

डा. अयजक्रान्ति शाक्य

एमालेको उम्मेदवार,

काठमाडौं क्षेत्र नम्बर-९

संसद्मा केवल ताली बजाउन वा नारा लगाउन मात्र जाँदिनँ । मेरो तीन दशक लामो राजनीतिक अनुभव र प्राज्ञिक दक्षतालाई देशको ऐन कानुन निर्माणमा केन्द्रित गर्नेछु । राज्यका नीतिहरू वैज्ञानिक र जनमुखी हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

काठमाडौं क्षेत्र नम्बर ९ मा चुनावी अभियान कसरी अगाडि बढाइरहनुभएको छ ?

अहिलेको युग सूचना प्रविधिको युग हो । त्यसैले यस पटकको निर्वाचनमा हामीले परम्परागत शैलीसँगै प्रविधिमैत्री चुनावी प्रचारलाई विशेष प्राथमिकता दिएका छौं । सूचना प्रविधिको उच्चतम उपयोग गर्दै हामीले हाम्रा एजेन्डाहरू मतदाताका बीच पु¥याइरहेका छौं ।
यसका साथै, म स्वयं मतदाताका घरदैलोमा पुगेर उहाँहरूका गुनासा र सुझाव सुन्ने कार्यमा व्यस्त छु । विगतमा जनप्रतिनिधि हुँदा मैले गरेका कामको समीक्षा गर्ने, आगामी योजनाबारे छलफल गर्ने र टोल तथा वडा तहका साथीहरूले तयार पारेका कार्ययोजना अनुसार जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यलाई नै मैले मुख्य अभियान बनाएको छु ।

चुनावी घरदैलोका क्रममा मतदाता र शुभेच्छुकहरूबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

मतदाताहरूमा निकै ठूलो उत्साह र भरोसा पाएको छु । विशेष गरी, काठमाडौं क्षेत्र नम्बर ९ का बुद्धिजीवी र आम नागरिकले एक जना प्राज्ञिक, विकासको स्पष्ट खाका बुझेको र कार्यान्वयन गर्न सक्ने विज्ञ व्यक्तित्वलाई उम्मेदवारका रूपमा पाउनु यस क्षेत्रकै गौरवको विषय भएको प्रतिक्रिया दिनुभएको छ । उहाँहरूले देखाउनुभएको यो अगाध माया र सम्मानले मलाई थप जिम्मेवार बनाएको छ ।

म सस्तो लोकप्रियताका लागि असम्भव सपना बाँड्ने र ठूला भाषण गर्ने कुरामा विश्वास गर्दिनँ । म जे गर्न सक्छु, त्यो मात्र बोल्छु । जनप्रतिनिधि रहँदा वा नरहँदा, सधैं समाजसेवा र अध्ययन–अनुसन्धानमै मेरो समय बित्ने गरेको छ । मेरो एउटै संकल्प छ– ‘बहुजन हिताय, बहुजन सुखाय, सर्वप्रकारेण जगत् हिताय ।’ यही भावनाका साथ म राष्ट्र र जनताको सेवामा समर्पित छु । मतदाताहरूको यो साथ र समर्थनले मेरो जित सुनिश्चित मात्र होइन, यस क्षेत्रको विकासका लागि बलियो आधारसमेत तयार गरेको छ ।

तपाईं यही काठमाडौंमा जन्मिनुभयो, हुर्किनुभयो, यहाँको विकास र समृद्धिको सपनालाई कसरी हेर्नुभएको छ ?

मेरो लागि राजनीति पेशा होइन, विशुद्ध सेवा हो । म यही काठमाडौंमा जन्मिएँ, यहींको हावापानीमा हुर्किएँ । त्यसैले यस क्षेत्रप्रतिको मेरो दायित्व अगाध छ । मेरो मूल ध्येय भनेकै यस क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्नु हो । विशेष गरी, काठमाडौंको मुटु मानिने यस क्षेत्रको मौलिक संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धन मेरो पहिलो प्राथमिकता हो । म यहाँका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई के विश्वास दिलाउन चाहन्छु भने, म जे बोल्छु, त्यो पूरा गर्छु र मेरो बाँकी जीवन यहीको माटोको सेवामा समर्पित रहनेछ ।

२०७४ सालको निर्वाचनपछि तपाईंले यस क्षेत्र ९ (क) को जनप्रतिनिधि र छोटो समय मन्त्रीका रूपमा काम गर्नुभयो । त्यस अवधिमा भएका मुख्य उपलब्धि के–के हुन् ?

काठमाडौं क्षेत्र नम्बर ९ (क) अन्तर्गतका वडाहरू ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण छन् । म प्रदेशसभा सदस्य र मन्त्री रहँदा यी सम्पदाहरूको पुनरुत्थानमा अहोरात्र खटिएँ । मेरा कामहरू आज जनताको अगाडि छर्लङ्ग छन् । केही मुख्य उपलब्धि यस प्रकार छन्

सम्पदा पुनरुत्थान : श्वेत भैरव फल्चा, श्वेत भैरव नारायण मन्दिर, टेबहाल नास द्यः, वटुचिँकअट नारायण मन्दिर, र पचली भैरवका दुईवटा फल्चाहरूको सफल पुनर्निर्माण । त्यस्तै, वासुकी दह नजिकैको मिन्डोल लिंग बल्खु गुम्बा तथा विभिन्न ऐतिहासिक सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन । साथै यस क्षेत्रमा रहेका अमूर्त सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष योगदान ।

शैक्षिक सुधार : सरस्वती निकेतनमा कम्प्युटर ल्याब, कुलेश्वर आवासीय मावि र जनपथ मावि कलंकीमा सभाहल निर्माण, तथा जनमैत्री क्याम्पसको भवन तथा कम्प्युटर ल्याब निर्माणमा विशेष बजेट व्यवस्था, सरकारी विद्यालयहरुमा शैक्षिक सुधारका लागि विविध कार्यक्रमहरुका सञ्चालन ।

पूर्वाधार र वातावरण : कामपा १२ वडाको खोल्चापाखामा आकर्षक पार्क निर्माण, खड्का गाउँमा खानेपानीका लागि ३ लाख लिटरको पानी ट्याङ्की निर्माण, डिप बोरिङ, फिल्टरेसन प्लान्ट जडान तथा पम्प हाउस तथा बस्तीभर घर–घरमा पाइपलाइन विस्तार, ज्ञानतीर्थ सडक ढलान लगायत क्षेत्रभर अधिकांश ठाउँमा कालोपत्र सम्पन्न र विभिन्न क्लब तथा विद्यालयहरूमा खानेपानी फिल्टर प्लान्ट जडान, मयलबारीलगायत क्षेत्रभित्रका धेरै ठाउँमा खाने पानीको समस्या समाधान लगायतका धेरै पूर्वाधारहरुका काम सम्पन्न ।

यस्तै, कानुन निर्माण, कानुन एप्प निर्माण, हाजर्ड म्यापिङ तथा अलर्टको एप्प निर्माणको काम अघि बढाएको, सूचना प्रविधि सम्बन्धी एपहरू निर्माण तथा मन्त्रालयका अधिकांश कार्यक्रमहरू छोटो अवधिमै सम्पन्न ।

मैले गरेका यी कामहरू केवल तथ्याङ्क मात्र होइनन्, यस क्षेत्रको विकासप्रतिको मेरो इमानदार प्रयासका प्रमाणहरू हुन् । आज जनताको घरदैलोमा पुग्दा यही कामहरुको फेहरिस्त लिएर गएको छु । उहाँले पनि मैले पहिलो जनप्रतिनिधि हुँदा गरेको काम सम्झेर मलाई माया, समर्थन गर्नुभएको छ, जसबाट मलाई थप हौसला मिलेको छ ।

अहिले काठमाडौं क्षेत्र नम्बर–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस जस्ता बलिया प्रतिस्पर्धी पार्टीहरू छन् । यसले गर्दा तपाईंको जित चुनौतीपूर्ण देखिन्छ नि, यसलाई कसरी लिनुभएको छ ?

लोकतन्त्रमा निर्वाचन भनेको विचार, एजेन्डा र कार्यक्षमताको स्वस्थ प्रतिस्पर्धा हो । म निर्वाचनलाई जनताको सर्वोच्च अदालत मान्छु । कुनै पनि उम्मेदवारका लागि निर्वाचन कहिल्यै सजिलो हुँदैन र यसलाई हल्का रूपमा लिनु पनि हुँदैन । यदि हारजित पहिले नै निश्चित हुन्थ्यो भने त निर्वाचनको यो महान् लोकतान्त्रिक अभ्यास र राज्यको यति ठूलो लगानीको औचित्य नै रहँदैनथ्यो । म प्रतिस्पर्धी साथीहरू र उहाँहरूको उम्मेदवारीलाई सम्मान गर्छु ।

म काठमाडौं–९ का मतदाताहरूको चेतना र विवेकमाथि पूर्ण विश्वास गर्छु । अहिले घरदैलोका क्रममा मैले जुन स्तरको स्नेह, माया र समर्थन पाइरहेको छु, त्यसले के पुष्टि गर्छ भने यहाँका जनता परीक्षण भइसकेको र काम गरेर देखाएको नेतृत्वको पक्षमा हुनुहुन्छ । मेरा प्रतिस्पर्धी साथीहरूका आफ्नै एजेन्डा होलान् तर यस क्षेत्रको विकासको निरन्तरता र समृद्धिका लागि मेरो अनुभव र कार्यक्षमताको विकल्प अर्काे हुन सक्दैन । म चुनौतीलाई अवसरमा बदल्न अभ्यस्त छु र यसपटक पनि क्षेत्र नम्बर ९ का सचेत मतदाताहरूले विकास र स्थिरताको पक्षमा मतदान गर्नेछन् भन्नेमा म ढुक्क छु ।

बजारमा एमालेभित्र अन्तर्घातको डर छ र कतिपय नेताहरू तपाईंको पक्षमा खुलेका छैनन् भन्ने चर्चा छ नि, वास्तविकता के हो ?

यो विपक्षीहरूले फैलाएको निराधार हल्ला र योजनाबद्ध भ्रम मात्र हो । एमाले एक ढिक्का भएर निर्वाचनमा होमिएको छ । म काठमाडौं महानगरपालिका–२१, लगनटोलको स्थायी बासिन्दा हुँ, जुन क्षेत्र एमालेको लालकिल्ला मानिन्छ । हाम्रा आदरणीय नेता तथा पूर्वमेयर विद्यासुन्दर शाक्य यहींको हुनुहुन्छ । उहाँले यही वडाबाट दुईपटक वडाध्यक्ष तथा मेयरमा समेत निर्वाचित हुनु भएर महानगरको नेतृत्व गर्नुभएको इतिहास छ ।

त्यति मात्र होइन, अभिभावकका रूपमा पूर्वमन्त्री तथा नेता कृष्णगोपाल श्रेष्ठको मलाई पूर्ण साथ छ । उहाँ स्वयं मेरो निर्वाचनमा अहोरात्र खटिरहनुभएको छ । समानुपातिक सांसद कुलभक्त शाक्य, प्रदेशसभा सदस्य केशव पोखरेल तथा समानुपातिक उम्मेदवार डा. सानुमैया खड्का (सविता) लगायतका सम्पूर्ण नेतृत्व तह मेरो विजय सुनिश्चित गर्न टोल–टोलमा पुगिरहनुभएको छ । काठमाडौं महानगरकी कार्यवाह प्रमुख सुनीता डंगोलको पदीय मर्यादाका कारण चुनावी प्रचारमा प्रत्यक्ष देखिन नमिल्ने कानुनी पाटो बेग्लै हो तर उहाँको पूर्ण नैतिक समर्थन र शुभेच्छा मसँगै छ । त्यसैले, पार्टीभित्र कुनै पनि प्रकारको मतभेद छैन, हामी एउटा चट्टानी एकताका साथ मैदानमा छौं ।

तपाईँको चुनावी एजेन्डा चाँहि के–के छन् ?

मेरो लागि राजनीति पद र प्रतिष्ठा प्राप्तिको सिँढी मात्र होइन, यो त समाज रूपान्तरणको एउटा लामो साधना र पवित्र सङ्कल्प हो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि आजसम्मको मेरो अनवरत यात्रा केवल पदका लागि थिएन, बरु लोकतन्त्रको सुदृढीकरण र जनसेवाका लागि थियो । म विगत तीन दशकदेखि अविचलित रूपमा यही माटो र यहाँका जनताको सुख–दुःखमा एकाकार छु । मेरो यसपटकको उम्मेदवारी केवल संसद्को एक सिटका लागि मात्र नभई अनुभव, विज्ञता र विकासको त्रिवेणीमार्फत यस क्षेत्रको मुहार फेर्नका लागि हो ।

म आश्वासनको खेती गर्ने र असम्भव सपना बाँड्ने राजनीतिमा विश्वास गर्दिनँ । पहिलो र मुख्य एजेन्डा भनेको मेरो वर्षाैंको राजनीतिक अनुभव र मैले हासिल गरेको प्राज्ञिक ज्ञानको उच्चतम संयोजनमार्फत राज्यको नीति निर्माण तहमा अर्थपूर्ण र बौद्धिक योगदान गर्नु हो । हामीलाई अब गफ गर्ने होइन, योजनाबद्ध विकासको वैज्ञानिक खाका कोर्न सक्ने नेतृत्व चाहिएको छ । काठमाडौं क्षेत्र नम्बर ९ को मौलिक कला, जीवन्त संस्कृति र हाम्रा ऐतिहासिक धरोहरहरूको संरक्षण गर्दै यस क्षेत्रलाई विश्वकै आकर्षक सांस्कृतिक पर्यटन केन्द्र बनाउनु मेरो सर्वोच्च प्राथमिकता हुनेछ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई टेवा पु¥याउन म शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रविधिमैत्री बनाउँदै पूर्ण निष्ठाका साथ समर्पित रहनेछु ।

मेरो चुनावी एजेन्डाचाँहि संक्षेपमा यसप्रकार छन्:

विज्ञता र विवेकमा आधारित राजनीति

म संसद्मा केवल ताली बजाउन वा नारा लगाउन मात्र जाने छैन । मेरो तीन दशक लामो राजनीतिक अनुभव र प्राज्ञिक दक्षतालाई देशको ऐन कानुन निर्माणमा केन्द्रित गर्नेछु । राज्यका नीतिहरू वैज्ञानिक र जनमुखी हुनुपर्छ भन्ने मेरो मान्यता छ । विकासका योजनाहरू तर्जुमा गर्दा विज्ञहरूको राय र तथ्यलाई आधार बनाएर काम गर्ने पद्धतिको विकास गर्नेछु ।

वैज्ञानिक र व्यवस्थित शहरी विकास

काठमाडौंको अव्यवस्थित शहरीकरण आजको मुख्य चुनौती हो । मैले यस क्षेत्रका लागि एक वैज्ञानिक गुरुयोजना तयार गरेको छु । अव्यवस्थित ढल, खानेपानी र सडकको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्दै क्षेत्र नम्बर ९ लाई सुन्दर, स्वच्छ र बस्नयोग्य बनाउन म नेतृत्वदायी भूमिका खेल्नेछु । खुला क्षेत्रको संरक्षण र हरित शहरको अवधारणा मेरो विशेष प्राथमिकतामा रहनेछ ।

सांस्कृतिक पुनर्जागरण र सम्पदा संरक्षण

हाम्रो पहिचान नै हाम्रो संस्कृति हो । यस क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर, फल्चा, बहाः र चैत्यहरूको मौलिक स्वरूप नबिग्रने गरी पुनरुत्थान र जीर्णाेद्धार गरिनेछ । यहाँको मूर्त–अमूर्त संस्कृतिलाई पर्यटनसँग जोडेर स्थानीयको आर्थिक स्तर उकास्ने र हाम्रा सम्पदाहरूलाई विश्वमाझ चिनाउन सांस्कृतिक कोरिडोरको अवधारणा अघि बढाइनेछ ।

मौलिक अधिकारका रूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्य

शिक्षा र स्वास्थ्य व्यापार होइन, नागरिकको मौलिक अधिकार हुनुपर्छ । मेरा प्रयासहरू सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुधार गर्नमा केन्द्रित हुने छन् । प्रत्येक वडामा अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच पु¥याउने, ज्येष्ठ नागरिकका लागि विशेष स्वास्थ्य योजना र विपन्नका लागि सर्वसुलभ उपचार सुनिश्चित गर्न म नीतिगत र व्यावहारिक दुवै तहमा सक्रिय रहनेछु ।

युवा स्वरोजगार र डिजिटल रूपान्तरण

अहिलेको युग सूचना प्रविधिको हो । सूचना प्रविधिको उच्चतम प्रयोग गरी सरकारी सेवालाई भ्रष्टाचारमुक्त र झन्झटमुक्त बनाउन म पहल गर्नेछु । युवाहरूलाई प्रविधिसँग जोडेर स्थानीय स्तरमै स्टार्टअप र उद्यमशीलताका अवसरहरू सिर्जना गरिनेछ । बिदेसिन बाध्य युवा जनशक्तिलाई स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न डिजिटल इकोनोमीको अवधारणालाई यस क्षेत्रमा नमुनाका रूपमा लागू गरिनेछ ।

-मेरा लागि राजनीति पद र प्रतिष्ठा प्राप्तिको सिँढी मात्र होइन, यो त समाज रूपान्तरणको एउटा लामो साधना र पवित्र सङ्कल्प हो ।

-म प्रदेशसभा सदस्य र मन्त्री रहँदा विशेष गरी सम्पदा पुनरुत्थान, शैक्षिक सुधार तथा पूर्वाधार र वातावरणमा काम गरें ।

संसद्मा केवल ताली बजाउन वा नारा लगाउन मात्र जान्न तीन दशक लामो राजनीतिक अनुभव र प्राज्ञिक दक्षतालाई देशको ऐन कानुन निर्माणमा केन्द्रित गर्नेछु ।

-मेरो यसपटकको उम्मेदवारी केवल संसद्को एक सिटका लागि मात्र नभई अनुभव, विज्ञता र विकासको त्रिवेणीमार्फत यस क्षेत्रको मुहार फेर्नका लागि हो ।

-बिदेसिन बाध्य युवा जनशक्तिलाई स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न डिजिटल इकोनोमीको अवधारणालाई यस क्षेत्रमा नमुनाका रूपमा लागू गर्नेछु ।