काठमाडौँको ऐतिहासिक बसन्तपुर दरवार स्क्वायर क्षेत्रमा मङ्गलबार बिहान शुभ साइतमा चीर ठड्याइएसँगै

फागुपर्व (होली) विधिवत रूपमा सुरु


काठमाडौँ ।

काठमाडौँको ऐतिहासिक बसन्तपुर दरवार स्क्वायर क्षेत्रमा मङ्गलबार बिहान शुभ साइतमा चीर ठड्याइएसँगै यस वर्षको फागुपर्व (होली) विधिवत रूपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो।

परम्पराअनुसार विशेष पूजा–आराधनापछि चीर उभ्याएर फागुपर्व प्रारम्भ गरिएको हो। चीर ठड्याउने कार्यमा स्थानीय गुठीका प्रतिनिधि, पुरोहित तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। चीर ठड्याउने परम्परा फागुपर्वको सुरुवात संकेत गर्ने चीर ठड्याउने परम्परा विशेषगरी काठमाडौँ उपत्यकामा प्रचलित छ। रंगीन कपडाका टुक्राहरू बाँधेर बनाइएको चीर ठड्याएपछि राजधानी क्षेत्रमा होलीको रौनक औपचारिक रूपमा सुरु हुन्छ।

यसलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ। फागुपर्वलाई आपसी सद्भाव, भाइचारा र उत्साहको पर्वका रूपमा मनाउने गरिन्छ। युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्म सबै वर्गका मानिसहरू रंग अबिर खेल्दै रमाइलो गर्ने गर्छन्। सुरक्षाको विशेष व्यवस्था फागुपर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन नेपाल प्रहरी ले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।

उपत्यकाका मुख्य चोक, पर्यटकीय क्षेत्र तथा भीडभाड हुने स्थानमा अतिरिक्त प्रहरी परिचालन गरिने बताइएको छ। मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, जबर्जस्ती रंग दल्ने तथा सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्नलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ। फागुपर्वको महत्व फागुपर्व हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्वमध्ये एक हो। तराईका जिल्लाहरूमा पूर्णिमाको भोलिपल्ट मनाइने यो पर्व पहाडी तथा हिमाली क्षेत्रमा पूर्णिमाकै दिन विशेष रूपमा मनाइन्छ। धार्मिक विश्वासअनुसार होलीले दुष्ट शक्तिको अन्त्य र सत्यको विजयको सन्देश दिन्छ। वसन्तपुरमा चीर ठड्याइएसँगै राजधानीमा फागुपर्वको उल्लास छाएको छ। अब पूर्णिमासम्म विभिन्न सांस्कृतिक कार्यक्रम, रंग–अबिर खेल्ने तथा आपसी भेटघाटको क्रम चलिरहनेछ।