काठमाडौँ।
पाकिस्तानले अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा ‘सातवटा आतङ्कवादी अड्डा र शिविर’ माथि लक्षित हवाई आक्रमण गरेको दाबी गरेको छ। गुप्तचर सूचनाका आधारमा कारबाही गरिएको र हालै पाकिस्तानभित्र भएका आत्मघाती हमलाहरूको प्रतिक्रियास्वरूप यो कदम चालिएको इस्लामाबादको भनाइ छ।
पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार आक्रमणहरू ‘पाकिस्तानी तालिबान’, फितना अल–खवारीज तथा इस्लामिक स्टेट अफ खोरासान प्रान्तसँग सम्बद्ध संरचनामाथि केन्द्रित थिए। ती समूहहरूले अफगानिस्तानमा रहेका नेतृत्वको निर्देशनमा पाकिस्तानमा हमलाहरू गरिरहेको बलियो प्रमाण आफूहरूसँग रहेको पाकिस्तानले दाबी गरेको छ।
तर अफगानस्थानको तालिबान सरकारले भने पाकिस्तानको दाबीलाई अस्वीकार गर्दै नागरिक बस्तीमाथि बमबारी गरिएको आरोप लगाएको छ। तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार नान्गारहार र पक्तिका प्रान्तमा भएको आक्रमणमा महिला तथा बालबालिकासहित दर्जनौँ सर्वसाधारणको ज्यान गएको छ भने धेरै घाइते भएका छन्।
नान्गारहारमा एक घरलाई लक्षित गरी गरिएको आक्रमणमा २० जनाको मृत्यु भएको दाबी गरिएको छ। पक्तिकामा एउटा मदरसा पनि निशानामा परेको बताइएको छ। तालिबान पक्षले यी सबै क्षेत्र ‘नागरिक क्षेत्र’ भएको जिकिर गरेको छ।
तालिबान नेतृत्वको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानको कदमलाई अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्तामाथिको स्पष्ट उल्लङ्घन भनेको छ। “अन्तर्राष्ट्रिय कानुन, असल छिमेकी सिद्धान्त र इस्लामिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।
रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारिज्मीले देशको सार्वभौमसत्ता र जनताको सुरक्षाको रक्षा गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै “उपयुक्त समयमा योजनाबद्ध प्रतिक्रिया दिइने” चेतावनी दिएका छन्।
यता पाकिस्तानले भने अफगान तालिबान सरकारसँग आफ्नो भूमि ‘आतङ्ककारी समूहहरूले पाकिस्तानविरुद्ध प्रयोग गर्न नदिन’ पटक–पटक आग्रह गरिएको तर ठोस कारबाही नभएको दाबी गरेको छ।
दुवै देशबीच आरोप–प्रत्यारोप चर्किँदै जाँदा सीमा क्षेत्रमा तनाव बढ्ने संकेत देखिएको छ। क्षेत्रीय सुरक्षामा यस घटनाले दीर्घकालीन प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ। –बीबीसीबाट











प्रतिक्रिया