‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ समूहद्वारा बिउबिजन वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न


काठमाडौं

 ‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ नामक सामाजिक अभियान समूहले आज राजधानीमा आयोजना गरेको बीउबिजन साटासाट तथा वितरण कार्यक्रम  उत्साह र अत्याधिक सहभागिताका साथ सम्पन्न भएको छ। समूहका फेसबुक पेजमा सक्रिय १ लाख ६६ हजारभन्दा बढी सदस्य र देश तथा विदेशमा फैलिएका हजारौं समर्थकहरूको साझा प्रयासले यो कार्यक्रम सफल भएको हो। यो समूहले सोशल मिडिया फेसबुकमाार्फत सदस्यहरूको अनुभव, फोटो तथा भिडियोको माध्यमबाट कौशी खेतीसम्बन्धी जानकारीहरू एक आपसमा साटासाट गरी खेतीयोग्य जमिनको अभावमा तरकारी तथा सागपातहरू किनेर खानुपर्ने अवस्थाको अन्त्य गर्दै सफलतापूर्वक कौशी खेतीको प्रवर्द्धन गरेको छ । कार्यक्रममा विभिन्न थरीका तरकारीका बीउबिजनहरू वितरण गरिएको थियो ।

पाँच वर्षअघि शुरु भएको यो फेसबुक समूहमा ‘पारिको होइन अब बारीको’ भन्ने नाराका साथ सदस्यहरू घरको कौसी र करेसाबारीमा जैविक तरकारी, फुल र फलफूल उत्पादन गर्ने, रोग–किरा नियन्त्रण र विषादीमुक्त खेतीका उपायहरू एकआपसमा साझा गर्दै आएका छन् । कौसी तथा करेसाबारीसम्बन्धी गीत र उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अझ उल्लासमय बनाएको सहभागीहरूले बताएका छन्।

आजको कार्यक्रममा स्व-प्रेरणाद्वारा  धेरै सहभागीहरूले आफ्ना बीउ तथा बिरुवा ल्याएर बाँडफाँड गरे, जसले सहकार्यको नयाँ उदाहरण प्रस्तुत गरेको आयोजकहरूले बताएका छन्। समूहका एडमिन तथा मोडरेटरहरूले बीउको वैज्ञानिक छनोट, जैविक मल प्रयोग र मौसमसँग मिल्ने तरकारी रोपाइँका सुझावहरू फेसबुक लाइभ मार्फत देशभरका सदस्यहरूलाई प्रत्यक्ष जानकारी गराएका थिए। समूहकी सक्रिय सदस्य अञ्जु बास्तोलाले कार्यक्रमबारे जानकारी दिंदै समूहमा नियमित पोस्ट गरेर सक्रिय रहने साथीहरू, फेसबुकले प्रदान गरेको अंकको र कार्यक्रमप्रति देखाएको सक्रियताका आधारमा ११२ भन्दा बढीको नामावली तयार गरी सोहीअनुसार बिउबिजन बाँडिएको बताइन् । अर्का सक्रिय सदस्य नविन प्रधानले आफूहरूसँग भएको सीमित साधन र स्रोतहरूको अधिकतम उपयोग होस् भन्ने हेतुले यस्तो व्यवस्था गरिएको जिकिर गर्दै कसैको नाम छुटेको भए मन नदुखाउन आग्रह गर्दै फेरिफेरि हुने कार्यक्रममा सबैलाई समेटिने बताए।

कार्यक्रममा अतिथिका रूपमा उपस्थित प्रकाश सायमी र रामचन्द्र मान सिंहले हरित अभियानले सहरमा वातावरणीय सन्तुलन र खाद्य आत्मनिर्भरता प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। यस अवसरमा अभियन्ता दुर्जय चेतनाले समाजसेवामा सबैभन्दा ठूलो कुरा पवित्र मन र निरन्तरता भएको उल्लेख गर्दै अभियानमा ऊर्जावान् र पवित्र मन भएका साथीहरूको साथले यो कौसी क्रान्तिलाई हरेकको घरघरमा पुर्‍याउन थप हौसला मिलेको बताए। देशभरबाट सामाजिक सञ्जालमार्फत कार्यक्रमप्रति समर्थन र हौसला प्राप्त भएको आयोजकहरूले जनाएका छन्।