काठमाडौं ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार कार्यालय परिसरमा आयोजित कार्यक्रममा ती सवारी साधन धनीलाई बुझाएको हो। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३१ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको जानकारी दिइयो।
कार्यालयमा प्राप्त निवेदन तथा विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा केही सवारी साधन वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला परेका थिए। ट्राफिक प्रहरीले काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, नयाँ बसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागल लगायतका स्थानबाट ती सवारी साधन बरामद गरेको जनाएको छ। आज हस्तान्तरण गरिएका ५३ ओटा सहित चालु आर्थिक वर्षको साउन यता २९६ ओटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकिएको कार्यालयले जनाएको छ।
साथै, चोरीमा संलग्न २९ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट १६ ओटा चोरीका दुई पाङ्ग्रे सवारी साधन समेत बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर तथा वृत्तमा पठाइएको जनाइएको छ। सवारी साधन फिर्ता पाएका धनीहरूले ट्राफिक प्रहरीप्रति आभार व्यक्त गरेका छन्। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र २०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी धनीलाई जिम्मा लगाइएको छ।
यसैबीच, सवारी साधन चोरी तथा हराउने घटना न्यूनीकरण गर्न सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्ने, जीपीएस प्रणाली जडान गर्ने र सुनसान स्थानमा पार्किङ नगर्न प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अनुरोध गर्नुभएको छ। सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ तथा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ।











प्रतिक्रिया