ग्राउन्ड जिरो रौतहट–१ चौथोपटक विरासत फर्काउने दाउमा रहेका पूर्वप्रम नेपाललाई चुनौती

3.38k
Shares

रौतहट ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ यति बेला देशकै ध्यान केन्द्रित बनेको छ । राजनीतिक दलहरूबीचको कडा प्रतिस्पर्धा, प्रभावशाली उम्मेदवारहरूको उपस्थिति र स्थानीय राजनीतिक समीकरणका कारण यो क्षेत्रको देशकै ध्यान केन्द्रित बनेको हो ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपाल पुनः यसै क्षेत्रबाट चौथोपटक चुनावी मैदानमा उत्रिएपछि क्षेत्र नबर १ को राजनीतिक माहोल निकै रोचक बनेको हो । उहाँ २०५६, २०७० र २०७९ मा यस क्षेत्रबाट विजयी हुनुभएको थियो भने २०६४ मा उहाँ नेकपा (माओवादी) का उम्मेदवार देवेन्द्रप्रसाद पटेलसँग रौतहटकै क्षेत्र नम्बर ६ मा पराजित हुनुभएको थियो ।

यसपटक राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव रहने भन्दै पूर्वप्रधानमन्त्री नेपाल मतदातामाझ पुग्नुभएको छ । २०७९ मा कांग्रेस–माओवादी गठबन्धनको समर्थनमा ३३ हजार ५२२ मत ल्याएर विजयी हुनुभएका उहाँ यसपटक गठबन्धनविहीन प्रतिस्पर्धामा रहनुभएको छ । उहाँका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ता, नेपाली कांग्रेसका अनिलकुमार झा, जसपा नेपालका योगेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी हुनुहुन्छ ।

मधेसकेन्द्रित दलबाट राजनीति सुरु गर्नुभएका नेकपा एमालेका अजय गुप्ता २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बन्नुभएको थियो । तत्कालीन नेकपा एमालेका उम्मेदवार नेपालसित ३ सय ३८ मत अन्तरले पराजित हुनुभएको थियो । २०७९ मा कांग्रेससितको गठबन्धनमा नेपालले गुप्तालाई ६ हजार ६ सय मतले पराजित गर्नुभएको थियोे । यसपटकको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले जनताको सपनालाई यथार्थमा बदल्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी भने २०७४ मा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट र ०७९ मा पनि नेपाली कांग्रेसबाट प्रदेशमै टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराई चुनाव लड्दा पराजित हुनुभएको थियो । ०७९ को चुनावमा यस क्षेत्रमा रास्वपाका मिस्टर सूर्यदेव कोइरालाले १ सय ६३ मत ल्याउंदा जमानत जफत भएको थियो । जसपा नेपालबाट उम्मेदवार बन्नुभएका योगेन्द्र यादव पनि प्रभावशाली उम्मेदवार हुनुहुन्छ ।

०७४ को प्रदेशसभामा जित्नुभएका यादव पूर्वमन्त्री हुनुहुन्छ । २०७९ को प्रदेश सभा निर्वाचनमा उहाँले ५ हजार ७ सय २९ मत ल्याई तेस्रो हुनुभएको थियो तर यसपटक भने उहाँ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा चुनावी मैदानमा रहनुभएको छ । उहाँले शिक्षा स्वास्थ्य सुधारका अलावा अलपत्र पूर्वाधार निर्माणमा आफ्नो भूमिकाका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका अनिल झा पुनः आफ्नै पुरानो क्षेत्र रौतहट १ मा फर्किनुभएको छ । २०६४ को पहिलो संविधान सभामा झा समानुपातिक निर्वाचन प्रणालीमार्फत संविधान सभा सदस्य चयन हुनुभएको थियो । २०७४ को प्रतिनिधिसभा सदस्यमा उहाँ राष्ट्रिय जनाता पार्टी रौतहट क्षेत्र नम्बर १ बाट २१ हजार ४ सय ७२ मत ल्याएर विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार अनिल झाले ०७९ मा नेपाली कांग्रेसले पाएको मत र आफू लोसपामा हुँदाको मतको जोड नै आफ्नो विजयी यात्रा रहने बताउनुभयो ।

आम जनता पार्टीबाट त्रिभुवन साहको पनि उम्मेदवारी रहेको छ । पूर्वप्रधानमन्त्री नेपालले नर्सिङ कलेज, पोलिटेक्निकल कलेज, बाटो, पुल, गौर–चन्द्रपुर सडक आफ्नै पहलमा बनाएर विकासको लहर छरेको भन्दै मतदातालाई रिझाउन लागि पर्नुभएको छ ।
उम्मेदवारहरूले घरदैलो, कोणसभा र आमसभामार्फत मतदातालाई आकर्षित गर्ने प्रयास तीव्र बनाएका छन् भने उनीहरूले विशेष गरी रोजगारी, कृषि, सडक पूर्वाधार, शिक्षा स्वास्थ्य नै विकासको मुख्य चुनावी एजेन्डाका रूपमा मतदाताहरू माझ पु¥याइरहेका छन् ।

जिल्लाको दक्षिण भेगमा पर्ने रौतहट–१ मा मधेसी समुदायको मतदाताको बाहुल्य छ । यस क्षेत्रमा यादव, मुस्लिम र तेली, ब्राह्मण, तत्मा समुदायको जनसंख्या धेरै छ । कुर्मी, सुठी, मलाहा, कोइरी, दुसाद÷पासवान, बिन, कानु नुनिया समुदायको पनि बसोबास बाक्लो छ । यस क्षेत्रमा १ लाख ८ हजार ७ सय २६ मतदाता रहेका छन् ।

पाँचौंपटक संसदीय निर्वाचन लड्दै गर्नुभएका नेता नेपालका लागि यो निर्वाचन प्रतिष्ठाको लडाइँ बनेको छ भने नेकपा (एमाले) बाट उम्मेदवार बनेका अजयकुमार गुप्तालाई २०७० र २०७९ का निर्वाचनमा नेपालसँग झिनो मतान्तरले पराजित भएको पुरानो हारको बदला लिँदै ‘पासा पल्टाउने’ रणनीतिमा हुनुहुन्छ ।