‘सहमतिबिनाको चुनावले द्वन्द्व निम्त्याउने खतरा’


मुलुक संकटमा, व्यवस्थाको नराम्रो पक्ष परित्याग गर्न आह्वान

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्था र आगामी प्रतिनिधिसभा निर्वाचनबारे गम्भीर असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय सहमतिबिना चुनावको औचित्य नहुने धारणा सार्वजनिक गर्नुभएको छ । ७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी गरेको भिडियो सन्देशमार्फत पूर्वराजा शाहले मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको भन्दै व्यवस्थाको नराम्रो पक्षलाई त्याग्न आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले मुलुक अहिले संकटको अवस्थामा रहेको तथा अस्थिरता, खिचातानी र दिगो सहमतिबिना अघि बढ्ने राजनीतिक अभ्यासले देशलाई नकारात्मक प्रभाव पुगेको टिप्पणी गर्नुभयो । यस्तो अवस्थामा राजनीतिक सहमति बनाएरमात्र निर्वाचनको वातावरण तयार पार्नुपर्छ भन्ने कुरामा पूर्वराजाले जोड दिनुभएको छ ।

उहाँले भन्नुभयो –‘कुनै पनि खिचातानी नहोस् भनेर राष्ट्रिय सहमति बनाएरमात्र निर्वाचनमा जाने वातावरण बनाउनुपर्दछ ।’ उहाँले वर्तमान अवस्थामा अधिकारमात्र खोज्ने र कर्तव्य नखोज्ने प्रवृत्तिले राजनीति, प्रशासन र समाजमा विभेद पैदा गरेको स्पष्ट पार्दै भन्नुभयो–‘मुलुकको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस भएको छ । आम जनभावना अहिले चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखिन्छ । ’

पूर्वराजाले चुनावलाई प्रजातन्त्रको आवधिक अभ्यास भनेर स्वीकारे पनि, ‘राष्ट्रिय सहमतिबिना भएको चुनावले मुलुकलाई नयाँ गति नदिने’ भन्दै सावधान गराउनुभएको छ ।भिडियो सन्देशमा पूर्वराजाले मुलुकमा विगतमा अनेक आन्दोलन र संघर्ष भएको पनि स्मरण गराउँदै ती परिवर्तनले ‘नेपाल र नेपालीलाई के दियो ?’ भन्ने प्रश्नले अहिलेको वास्तविकता उजागर गरेको टिप्पणी गर्नुभएको छ ।

कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नुपर्नेमा जोड दिँदै पूर्व राजाले मुलुकले नेतृत्व, नीति र प्रणालीलाई पुनर्मूल्यांकन गर्नुपर्ने बताउनुभयो । राजनीतिक पक्षहरूले अस्वभाविक ढंगले हिँड्नुभन्दा, देशको भू–बनोट र सामाजिक प्रकृतिसँग मेल खाने व्यवस्थालाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो ।
पूर्वराजाले संदेशमा प्रजातन्त्रको रक्षा, प्रयोग र प्रशोधन गर्ने आवश्यकता पनि औँल्याउँदै भन्नुभएको छ– ‘हामीले यथार्थ धरातलमा उभिएर प्रजातन्त्रको प्रयोग र प्रसोधन गर्दै जानुपर्दछ,’

उहाँको विश्लेषणमा नेपालको एकीकरण, प्रजातान्त्रीकरण र आधुनिकीकरणले जनताको बदलिँदो चाहना तथा आवश्यकतालाई ध्यानमा राखेर समायोजन र परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोडिएको छ । यसले न केवल प्रजातन्त्रलाई बलियो बनाउनेछ, बरु आम जनताको दैनिक काम काजलाई सहज र सरल बनाउने अपेक्षासहितको व्यवस्था निर्माण गर्ने सम्भावना बढाउने पूर्वराजाको तर्क छ ।

भिडियो सन्देशमा पूर्वराजाले अहिलेको राजनीतिक परिदृश्यमा प्रमुख समस्या सहमतिको अभाव रहेको उल्लेख गर्दै देशको भू–बनोट र समाजको प्रकृतिसँग सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने बताउनुभयो ।

स्थानीय तहदेखि राष्ट्रिय तहसम्मको राजनीति खिचातानीपूर्ण हुँदै गएको जिकिर गर्दै उहाँले अधिकारको माग र कर्तव्यको परित्यागले राजनीतिक वातावरणलाई झन् जटिल बनाएको र यसले लोकतन्त्रको मूल सिद्धान्तलाई कमजोर पार्ने खतरा उत्पन्न गरेको टिप्पणी गर्नुभयो । पूर्वराजा ज्ञानेन्द्रले यस सन्दर्भमा दल र नेताहरूलाई ‘सामान्य हित र राष्ट्रियताको हित’ माथि उठेर सोच्नसमेत आग्रह गर्नुभएको छ ।

निर्वाचनको औचित्यमा प्रश्न
पूर्वराजा ज्ञानेन्द्रका अनुसार, प्रजातन्त्रमा ‘आवधिक निर्वाचन स्वाभाविक’ भए पनि अहिलेको राजनीतिक अवस्थाले चुनावको औचित्यमा प्रश्न उठाएको छ । उहाँले भन्नुभयो –‘यो समयको आम जनभावना— चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्दछ ।’

उहाँले प्रधानमन्त्री, पार्टी नेताहरू, प्रतिपक्ष दल तथा मध्यवर्ती शक्ति सबैलाई राजनीतिक सहमति, साझा लक्ष्य र अभ्यासका लागि आह्वान गर्दै राजनीतिक सहमतिबिना चुनाव मुलुकको विकास र स्थिरता दुवैलाई चुनौतीपूर्ण बनाउने बताउनुभयो ।
कमजोर सहमतिले मुलुकलाई फूट, द्वन्द्व र विद्रोहको दिशातर्फ ढाल्ने खतरा रहने भन्दै उहाँले सक्रिय र समावेशी राजनीति नै दीर्घकालीन समाधानको मार्ग हो भन्नुभएको छ ।

पूर्वराजाको सन्देशले नेपाली राजनीति र व्यवस्थामा गम्भीर समीक्षा र आत्मचिन्तनको आवश्यकता औँल्याएको छ । उहाँले मुलुकको संकट बुझ्दै व्यवस्थाको नराम्रो पक्षलाई परित्याग, राम्रा पक्षलाई आत्मसात गर्ने, र राष्ट्रिय सहमति सँगाल्ने दिशातर्फ नेतृत्वलाई सोच्न आग्रह गर्नुभएको छ ।

राजनीतिक सहमतिबिना भएको चुनावले वर्तमान राजनीतिक खिचातानीलाई अझ तीव्र बनाउने र जनताको अपेक्षालाई पूर्ण रूपमा अभिव्यक्त गर्न नसक्ने विश्लेषकहरूको मतसँग मेल खाने अंशहरू पनि पूर्वराजाको सन्देशमा देखिन्छन् ।राज्यको नेतृत्व र सबै राजनीतिक दलहरूले पूर्वराजाको यस सन्देशलाई ‘मुलुकको साझा हितमा’ लिएर समावेशी संवाद र सहमतिका साथ चुनावको वातावरण तयार गर्ने कि वर्तमान विवादित स्थिति यथावत रहने छ ।

पूर्वरानी कोमल शाहको ७५औं जन्मदिन सार्वजनिक रूपमा नमनाइने भएको छ । निर्वाचन आचारसंहिताको कारणले पूर्व रानी कोमलको जन्मदिन यस वर्ष सर्वसाधारणको लागि स्थगित गरिएको हो ।पूर्वरानीको जन्मदिन भव्य रूपमा मनाउने तयारी गरिएको भए तापनि निर्वाचनका कारण अचानक रोकिएको जानकारी निर्मल निवास स्रोतले नेपाल समाचारपत्रलाई दिएको छ ।

सार्वजनिक कार्यक्रम स्थगित भए पनि, परिवार र आफन्तबीच जन्मदिन मनाउने कार्यक्रम भने यथावत रहेको छ । यसअन्तर्गत पूर्वराजपरिवार, केही सचिवालयका कर्मचारी र परिवारका सदस्यहरूमात्र कार्यक्रममा सहभागी हुने बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व रानी कोमलको जन्मदिन मनाउनका लागि झापाबाट काठमाडौं फर्किनुभएको थियो ।