कोरोनाकालमा प्रदेशकै उत्कृष्ट पूर्वमन्त्री घिमिरे मोरङ ४ मा,मोदी र गुरुलाई चुनौती, परिवर्तनको आशमा रास्वपा


विराटनगर ।

आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनले मोरङको क्षेत्र नम्बर ४ लाई पनि तताएको छ । राजनीतिक दलका उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न रणनीतिहरु तयार पारिरहेका छन् । अहिलेको निर्वाचनलाई विगतभन्दा फरक रुपमा मतदाता र उम्मेदवारहरुले समेत लिएका छन् । जेनजी आन्दोलनपछिको परिवर्तित अवस्थामा हुन् गइरहेको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर–४ यसपटकको निर्वाचनमा विगतभन्दा फरक ढंगले चर्चामा छ । यहाँ हेभिवेटहरुसँग नयाँ प्रतिस्पर्धाका लागि मैदानमा छन् ।

यो क्षेत्र पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाका विश्वास पात्र अर्थसहित विभिन्न मन्त्रालयको नेतृत्व गरिसकेका महेश आचार्यको निर्वाचन क्षेत्र हो । विगतमा यो नेपाली कांग्रेसको किल्ला मानिन्थ्यो । तर, दुई निर्वाचन कांग्रेसको पकडमा नरहँदा तत्कालीन नेकपा माओवादी केन्द्रले यहाँ आफ्नो झन्डा फहरायो । बलियो संगठन भएपनि एमालेले यहाँ आफूलाई स्थापित गर्न सकेको छैन् । यस पटक यो क्षेत्रमा मानिसदेखि मानिस नै डराउनु पर्ने कोरोनाकालमा जनताको सेवा गरेकै कारण सात प्रदेश मध्येबाट उत्कृष्ट मन्त्रीको सम्मान पाउनु भएका एमालेका जीवन घिमिरे चुनावी मैदानमा उत्रिनु भएको छ ।

स्थानीय विश्लेषणानुसार उहाँ यसपटक सबैका लागि सबैभन्दा चुनौती बन्नु भएको छ । तर जेनजी आन्दोलनपछि परिवर्तित अवस्थाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासहितको उपस्थितिले परिणाम के होला भन्ने अनेकन् अड्कलबाजी सुरु भएका छन् । यहाँ माओवादी यसपटक नेकपाबाट पूरानै विरासत दोहोर्याउने तयारीमा छ । तर विगतमा गठबन्धनबाट पाएको जित र यसपटक कडा प्रतिस्पर्धीका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट निर्वतमान सांसद अमनलाल मोदीलाई ‘ह्याट्रिक’ गर्न फलामकै चिउरा चपाउनु सरह हुने स्थानीय विश्लेषण गरिरहेका छन् ।

यहाँ घिमिरे र मोदीसँगै कांग्रेसको विगतको विरासत फर्काउन महामन्त्री गुरु घिमिरे मैदानमा हुनुहुन्छ भने रास्वपाले स्थानीय संचारकर्मी सन्तोष राजवंशीलाई उम्मेदवार बनाएको छ । अन्य प्रतिस्पर्धी उम्मेदवारमध्ये सन्तोष नयाँ अनुहार हुनुहुन्छ तर ग्रामीण क्षेत्रको समर्थन र सहरी क्षेत्रका सचेत मतदाताको परिवर्तनको चाहनाबाट निर्वाचन परिणाम आफ्नो पक्षमा आउने उहाँले दाबी गर्नुभएको छ । मोदीको गाउँ प्रभाव यसपटक आफ्नै कारण गुम्ने र अधिकांश ग्रामिण क्षेत्रको समर्थन आफुले पाउने उहाँको निष्र्कष छ । तर मोदी आफूले गरेका विकास निर्माणकै कारण आफ्नो ह्याट्रिक सुनिश्चित भएको दाबी गर्नुहुन्छ । कांग्रेसले गुमाएको विरासत फर्काउन गुरु घिमिरे पनि लागिपर्नुभएको छ ।

विशेष महाधिवेशनको विद्रोहबाट महामन्त्रीमा सर्वसम्मत हुनु भएका घिमिरे यसबाट नयाँ कांग्रेसका रुपमा आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुहुन्छ । तर उहाँलाई प्रतिस्पर्धीभन्दा आफ्नै भित्रको डरले पोल्न थालेको स्थानीय विश्लेषण गर्छन् । उहाँले कांग्रेस एकढिक्का भएको सन्देश प्रभाव गर्दै स्थानीयलाई भेटिरहनु भएको छ । यो क्षेत्रमा कांग्रेसकै दिलीप गच्छदार निर्णायक मानिनुहुन्छ । उहाँको सहयोग विना घिमिरे अधुरो हुने कांग्रेस नेताहरु नै टिप्पणी गर्दछन् । प्रदेश सभा निर्वाचनमा समेत पराजय भएको विगत, विगत देखिनै कांग्रेसभित्र विद्रोहको चेत र विशेष महाधिवेशनको विवादले यो निर्वाचनमा पनि गुरुलाई सताउने स्थानीय अनुमान गर्छन् ।

तर गुरुराज भने कांग्रेस अब एक ढिक्का भएर अघि बढेकाले समस्या नहुने जिकिर गर्नुहुन्छ ।सबै दाबेदारका बीच सबैभन्दा चुनौती भने एमालेका जीवनलाई मान्न थालिएको छ । स्थानीय मतदाता नै उहाँले प्रदेश मन्त्रीका रुपमा गरेको कामबाट प्रभावित भएको देखिएको छ । मानिसले मानिसबाटै डराउनु पर्ने अवस्थामा घिमिरेले सात प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरेकै कारण उत्कृष्ट मन्त्रीको सम्मान पाउनु भएको थियो । नेता घिमिरे केन्द्र सरकारले देशभरका प्रदेश मन्त्रीहरुको मूल्यांकन गर्दा उत्कृष्ट मन्त्री घोषित भई सम्मानित भएका नेता हुनुुहुन्छ ।

कोरोना अस्पताल निर्माण र यसले प्रवाह गरेको सेवा अहिले पनि मानिसहरु स्मरण गर्ने गर्दछन् । कोशी प्रदेश सरकारको पहिलो कार्यकालमा सामाजिक विकासमन्त्री रहनु भएका घिमिरेको नाम विराटनगरको सहिद रंगशालमा फ्लडलाइट जडान, ज्येष्ठ नागरिक भवन, कर्वड हल ,ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम, सामुदायिक विद्यालयमा डिजिटल पठनपाठन, सिंघिया खोला सफाइ अभियान जोडिदै आएका छन् । अर्काेतर्फ मोरङको यो क्षेत्रमा एमालेको उपस्थिति र पकड अरू पार्टीको तुलनामा सांगठनिक हिसाबले निकै दह्रो भएका कारण अनि निर्विवाद जीवनको उम्मेदवारीले अन्य प्रतिस्पर्धी दलहरुले नै उहाँलाई ठूलो चुनौतीको रुपमा हेरेका छन् ।

उहाँ कोशी प्रदेश सरकारको पहिलो कार्यकालमा सामाजिक विकासमन्त्री हुनुहुन्थ्यो । सचिवमा दाबेदारी गरेर पनि त्यागको उदाहरण बन्दै आफूभन्दा कनिष्ठहरुलाई बाटो छाड्ने घिमिरे पार्टी केन्द्रीय सदस्यका रुपमा एमालेभित्र अनुभवी नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँ आफूभन्दा आफ्नो काम बोल्ने भन्दै प्रदेशपछि अब संघमा गएर आफ्नो क्षेत्रमा विशेष काम गर्ने लक्ष्यमा रहेको बताउनुहुन्छ । एक लाख १९ हजार २५५ मतदाता रहेको मोरङ–४ मा ५५ हजारभन्दा धेरै आदिवासी मत छ । जसमा विराटनगर महानगरपालिकाको सहरी क्षेत्रका मतदाताको संख्या ४९ हजार ६०१ छ ।

ग्रामथान र कटहरी गाउँपालिकाका सबै वडासहित विराटनगर महानगरका १, २, ३, ८, १० र १९ र बेलबारी नगरपालिकाका ५, ६ र ७ गरी २३ वडा यो क्षेत्रमा पर्छन् । पुरुष ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छ । निर्वाचन आयोगले मतदानका निम्ति यो क्षेत्रमा ४० मतदानस्थल र १३१ मतदान केन्द्र तोकेको छ । यहाँ ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा अमनलाल मोदी ३० हजार ६१२ मतसहित निर्वाचित हुनु भएको थियो । त्यति बेला कांग्रेस, तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन थियो । जबकी एमालेका विनोद ढकालले २४ हजार ४६३ मत प्राप्त गर्नुभएको थियो । ढकाल यस पटक मोरङ ६ बाट उम्मेदवार बन्नु भएको छ । यही क्षेत्रमा कांग्रेसबाट डा. शेखर कोइरालाको उम्मेदवारी रहेको छ ।