सदा झैं यसपाली पनि महाशिवरात्रीको दिन नेपाली सेनाले विभिन्न विशेष विविध कार्यक्रमहरुको आयोजना गरिएको र उक्त कार्यक्रमहरुमा स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आमन्त्रण र सहभागिता सहित नेपाली सेनाले आफ्नो २६३ औं वार्षिकोत्सवको पुनीत उपलक्ष्यमा “सेना दिवस-२०८२” हर्षोल्लासपूर्ण वातावरणकासाथ भव्यरुपमा सफलतापूर्वक सम्पन्न गरी मनाईएको पाउंदा सम्पूर्ण नेपाली नागरिकले आफ्नो राष्ट्रिय सेनाप्रति सम्मान र गर्व गरी सेनाको मनोवल बढाउन प्रशंसा दिनुपर्नेमा त्यसको विपरीत विगत देखि द्वीपक्षिय सैन्य सहकार्य अनुरुप सांगितिक कार्यक्रममा निमन्त्रणा स्विकार गरी नेपाली सैनिक ब्याण्ड सहित मिलेर ३ देशहरुका सैनिक ब्याण्डहरुको प्रस्तुती मध्ये मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सेनाको ब्याण्ड प्रतिमात्र लक्षित टिकाटिप्पणी हुनुलाई सामान्य मान्न सकिन्न।
यहां त विगतमा आफुले गरेको गल्तीलाई ढाकछोप गर्ने उद्धेश्यलाई प्रायोजितरुपम् बाघ कराउनु बाख्रो हराउनुको संज्ञा दिन सकिन्छ। यहां बाख्रो खोज्दै नखोजी अर्थात तथ्यमा आधारित नभई देशकै गरिमामय संस्थाप्रति लक्ष्यभेदी तिर हान्ने प्रयास भएको मूल्याकन गर्न सकिन्छ । नेपाली सेनाले देशको मूल कानुन संविधानलाई अक्षरशः पालना गर्दै देश र जनताको हितलाई केन्द्रविन्दुमा राखि निःस्वार्थ भावनाले अनुशासन, ईमान्दारिता एवं पारदर्शितालाई सदैव आत्मसाथ गरी अटल बफादारिताको साथ आफुलाई सुम्पिएको जिम्मेवारीलाई गहन ढंगले निर्वाह गर्दै आईरहेको छ।
देश र जनताको लागि यस संस्थाका सकल दर्जा आफ्नो सुविस्ता र ज्यानको कुनै पर्वाह नगरि आवश्यक परेको बेलामा विभिन्न जटिल परिस्थितिहरु (विपदजन्य घटना,महामारी, आन्तरिक बिद्रोह तथा अन्य) मा तुरुन्त परिचालित भई निभाएको भूमिका प्रति तत्काल आमनागरिक, राजनीतिक दल, नागरिक समाज एवं सन्चारकर्मीहरु नेपाली सेनाप्रति नतमस्तक भई सकारात्मक दृष्टिकोण राख्न पछि पर्दैनन् भने यस संस्थाले पनि विगतदेखि वर्तमानसम्म विभिन्न कालखण्डमा जारी भएका नेपालको संविधान प्रदत्त जिम्मेवारीहरुलाई अक्षरशः पालना गर्दै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पाईएको छ ।
छुट्टै मूल्य मान्यता र साढें दुई शताव्दी भन्दा लामो ईतिहास रहेको राष्ट्रिय सेनाबाट राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रदर्शन गरेको कदरयोग्य कार्यकुशलताबाट समग्र देशको विभिन्न कोणबाट छवि बढ्दै गएको पाईन्छ । उदाहरणस्वरुप हेर्नुपर्दा विश्वको विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरुमा नेपालबाट शान्ति सैनिकहरुको उपस्थिति पहिलो नम्वरमा हुनु र महिला शान्ति सैनिकहरुको उपस्थिति समेत पहिलो नम्वरमा हुनुलाई शान्ति स्थापनार्थ नेपाली सेनाको विश्वसनीयता र अव्वल पेशागत क्षमतालाई मान्न सकिन्छ । त्यस्तै नेपाली सेना विगतका वर्षहरुजस्तै यस वर्ष पनि मित्र राष्ट्र बेलायतमा सन्चालन हुने “Exercise Cambrian Patrol -2025” मा सहभागि भई उत्कृष्ट नतिजासहित स्वर्ण पदक हासिल गरेको थियो ।
यहां विगत देखि विपद व्यवस्थापन तथा प्रतिआतंकबादमा आधारित “अभ्यास-सूर्यकिरण” मा छिमेकी देश भारतसित, सैन्य क्षमता अभिबृद्धिमा आधारित “अभ्यास-सगरमाथा फ्रेण्डसिप” मा छिमेकी देश चीनसित र मानवीय सहायता एवं उद्धारमा आधारित “Exercise-Balance Nail” मित्र राष्ट्र संयुक्त राज्य अमेरिकासित उल्लिखित देशका फौजहरुसित नेपाली सेनाका सकल दर्जा सम्मिलित फौजको सहभागितामा अभ्यास सन्चालन हुंदै आपसी सहकार्य एवं पेशागत क्षमता अभिबृद्धि हुन गएको देखिन्छ। त्यस्तै निरन्तररुपमा नेपाली सेनाले सन्चालन गर्ने विभिन्न तह एवं यद्धकलाहरुका तालिमहरुमा मित्र राष्ट्रहरुका सैनिकहरुको सहभागिता हुने गरेको र नेपाली सेनाका विभिन्न तहका सैनिक ब्यक्तिहरुले पनि विभिन्न मित्र राष्ट्रहरुमा गई तालिम, अभ्यास तथा सेमिनारमा सहभागि भई International Exposure मार्फत आफ्नो पेशागत क्षमता अभिबृद्धि गर्दै आईराखेको पाईन्छ ।
विशेषतः विगतका वर्षहरुजस्तै नेपाली सेनाले आफ्नो २६३ औं सेना दिवस भव्यरुपमा हर्षोल्लासकासाथ मनाउन पूर्ववतः मित्र राष्ट्रहरुको सैनिक ब्याण्डहरुलाई आमन्त्र्ण गरेको पाईएको छ । उक्त निमन्त्रणालाई सहर्ष स्वीकार गरी मित्र राष्ट्र संयुक्त राज्य अमेरिका, भारत र बेलायतका सैनिक ब्याण्डहरुले विगत कै प्रचलनको निरन्तरता स्वरुप सेना दिवसको कार्यक्रमको बिच सांगितिक प्रस्तुती पस्किई कार्यक्रमको शोभा बढाएको देखिन्छ ।
यहां नेपाली सैनिक ब्याण्डले पनि मित्र राष्ट्रहरुको निमन्त्रणामा उक्त देशहरुमा गई सांगितिक प्रस्तुती दिई आर्मी डे परेड, मिलिटरी ट्याटु जस्ता कार्यक्रमहरुको शोभा बढाई दुई देशका सैनिकहरु बिच गहिरो एवं सौहार्द सम्वन्ध विस्तार, सैन्य कूटनीति एवं एक अर्काप्रति सहकार्यको प्रतिकको स्वरुप सैनिक ब्याण्डको प्रस्तुति आदानप्रदान भएको पाईन्छ। फाल्गुण २१ मा हुन लागेको आगामी निर्वाचन अत्यन्त सन्निकट रहेको र सोही अवसरमा फाल्गुण ०४ गतेबाट विभिन्न राजनीतिक दलहरु एवं स्वतन्त्र उम्मेदवारहरुले आ-आफ्नो चुनावी ऐजेण्डा अनुरुप आमनागरिकको मत आफ्नो पोल्टामा पार्ने उद्धेश्य लिई प्रतिस्पर्धात्मक प्रचार प्रसारमा व्यस्त हुनु अत्यन्त सकारात्मक कदमकोरुपमा लिन सकिन्छ।
तर, राष्ट्रिय सेनालाई विभिन्न बिबादमा तान्ने उद्धेश्य लिई विशेषगरी अमेरिकी सैनिक ब्याण्डको सांगितिक प्रस्तुतीलाई लिएर चुनावी क्रेज सिर्जना गर्ने खालको अभिब्यक्ति, विज्ञप्ति र सामाजिक सन्जालमा छ्यापछ्यापती बनाई तरंग सिर्जना गर्नु कत्तिको जायज होला ? के अमेरिकी सेनाको ब्याण्डले यो वर्षको सेना दिवसमा मात्र सांगितिक प्रस्तुती दिएका हुन् र यीनीहरुले त २०७५ सालको सेना दिवस कै निरन्तरता जस्तै थुप्रै पटक विभिन्न सरकारको पालामा जस्तै यसपाली पनि नेपाली सेनाको निमन्त्रणामा आई सांगितिक प्रस्तुती दिई एक आपसी सैन्य सहकार्य गरिनु नेपाली सेनाको गलत कदम थियो भने आ-आफ्नो नेतृत्व सम्मिलित सरकारको पालामा केहि भन्न नसकेर अहिले सम्माननीय प्रधानमन्त्री श्रीमती सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार कहिले गठन होला भनेर कुरेर पो बसेको हो कि !
भर्खरै सकिएको सेना दिवसमा अमेरिकी सेनाको मात्र ब्याण्ड टोली सहभागि भएको हो र ? छिमेकी देश भारत र मित्र राष्ट्र बेलायतका सैनिक ब्याण्डहरुको पनि सहभागिता थियो, यस्लाई किन नजरअन्दाज गरियो ? यहां आफ्नो शरीरमा चरेको भैंसी नदेख्ने तर अरुको शरीरमा परेका स-साना चम्काना देख्ने बानी परेकाहरुको लागि के भन्ने र ? निर्वाचन आयोगले सम्पूर्ण राजनीतिक दलहरुलाई चुनावी घोषणापत्र फाल्गुण ०३ गतेभित्र अनिवार्य जारी गर्नु भन्दा नगर्ने पनि छन् भने घोषणापत्रमा आमजनतामाझ सार्वजनिक गरिएका कुनैपनि वाचा, करार वा प्रतिवद्धता राजनीतिक दल र निर्वाचित उम्मेदवारहरुले पुरा गर्न नसकेमा उनीहरुको विश्वसनीयता, ईमान्दारिता एवं नैतिकताप्रति आमनागरिकहरुले कुन कुन कानूनी आधारहरुबाट कसरी प्रश्न चिन्ह खडा गर्न सक्छन् होला ?
खाली राजनीतिक दलहरुका आकर्षक एवं गुलिया विषयवस्तुहरु समावेश भएको चुनावी घोषणापत्रमा मात्र सिमित नहोस् भन्ने यो पंक्तिकारलाई लाग्दछ । त्यसैगरी, गत भाद्र २३ र २४ गतेको २ दिने जेनजी आन्दोलनको मर्म र भावना अनुरुप उनीहरुबाट उठान भएका मागहरुको सम्बोधन कति भयो भएन, जेनजी आन्दोलनको सत्यतथ्य छानवीन आयोगको प्रतिवेदन सार्वजनिक हुने अनिश्चतता र अन्यौलता कहिलेसम्म कायम रहने र विभिन्न मानव अधिकारवादी संस्थाहरुले निर्वाचन पूर्व नै उक्त आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नु भन्दाभन्दै पनि गर्न नसकेको जस्ता विषयहरुमा राजनीतिक दलहरु एवं सचेत जिम्मेवार नागरिकहरुले ध्यान दिई प्रष्टता हासिल गर्नुपर्ने देखिन्छ ।
नत्र त ब्यर्थमा २०८४ को नियमित निर्वाचन २ वर्ष अघि सारि आमनागरिकहरुलाई बोझिलो राष्ट्रिय ऋणको भारी थप्दै बोकाउने र राजनीतिक अस्थिरता कायमै रहने प्रवल सम्भावना देखिन्छ। गौरवशाली ईतिहास र परम्परा कायम रहेको नेपाली सेना आम नागरिकको गर्वको विषय बन्नुपर्नेमा झिनामसिना विषयहरु वा संस्थामा कार्यरत कुनै एकाध ब्यक्तिले गल्ती गर्दा पनि सिंगो संस्थालाई बदनाम गरी संस्थागत छविलाई आघात पार्ने, सेनाको संवेदनशिलतामाथि प्रहार गर्ने एवं अनावश्यक तवरले हिलोछ्याप्ने कोशिश कुनैपनि हालतमा गरिनुहुन्न र यस्ता किसिमका तथ्यहिन खवरहरु जस्ले राष्ट्रिय सुरक्षा एवं संस्थाको सकल दर्जाको मनोवलमा आघात पार्दछ, नियमन गर्न जरुरी देखिन्छ।
तसर्थ, राष्ट्रिय सुरक्षा र स्वार्थ अनुकुल नदेखिएका उठान भएका गम्भीर विषयवस्तुहरुको असर फैलिनु पूर्व शीघ्र से शीघ्र सरकारले सेन्सरसिप लागू गरी कडाईकासाथ नियमन गर्नुपर्ने देखिन्छ । जसबाट राष्ट्र र आम नेपाली जनताले भविष्यमा ठूलो मूल्य चुकाउन पर्ने छैन । निचोडमा भन्नुपर्दा माथि प्रस्तुत कुराहरुलाई गम्भीरताकासाथ लिई कुनैपनि विषयमा इंगित गरी चोर औंलाले के के न भएछ जसरी देखाउंदा आफूतर्फ फर्किएका ३ वटा औंलाहरुले स्वयम् को चरित्र र नैतिकता माथि पनि प्रश्न चिन्ह स्वतः खडा भईरहेको हुन्छ, यसलाई बुझ्नु जरुरी रहेको छ ।
यहां विगतमा जस्तै आम विनाशकारी महाभुकम्प होस् या कोभिड महामारीमा लाश ब्यबस्थापन जस्तो मानव स्वास्थ्य जोखिमयुक्त कार्य होस्, बाढी, पहिरो, आगोलागी होस्, आन्तरिक द्वन्द्वमा होस् वा कुनैपनि विषम परिस्थितिमा निर्भिकता एवं अदम्य साहसकासाथ देश र जनताको हितको लागि अहोरात्र निःस्वार्थरुपमा परिचालित हुने राष्ट्रको धरोहरको मनोवल खस्काउने काम कोही कसलै चुरो कुरो बुझ्दै नबुझी कदापी गर्नुहुन्न । जति यो संस्थालाई बलियो पार्न सकियो त्यति देश बलियो हुनेछ, राष्ट्रको मेरुदण्ड नै नेपाली सेना हो।
त्यसैले सैनिक संगठनलाई नियोजितरुपमा फुटाउने, टुक्रयाउने वा छविमाथि प्रहार गर्नुभन्दा पनि यसलाई कसरी भरपर्दो, बलियो एवं पेशेवर सैनिक संगठनकोरुपमा एक ढिक्कापन र अधिक सशक्त खम्बाकोरुपमा स्थापित गराउन सकिन्छ भन्ने विषयवस्तु विभिन्न मन्चहरुमा गहन ढंगले प्रस्तुत गरी छलफल गर्नुपर्ने देखिन्छ । जसबाट निक्लिएका महत्वपूर्ण बूंदाहरुलाई देशको भूराजनीतिक अवस्थाको विश्लेषणात्मकरुपमा लेखाजोखा गरी कुनैपनि समसामायिक आकस्मिक परिस्थितिसंग जुध्न सक्ने फौज हरदम तयार गर्न ढाडस दिन कन्जुस्याई नगरी तालिम, संरचनागत हेरफेर एवं अत्याधुनिक हातहतियार एवं आवश्यक श्रोतसाधनले सुसज्जित गरी नेपाली सेनालाई आधुनीकिकरण गर्दै लैजानुपर्ने देखिन्छ।
अनावश्यक बिबादमा नेपाली सेनालाई पार्नु भन्दा यसभन्दा माथिल्लो हरफमा उल्लिखित सुझावहरुलाई मनन गरी अवलम्वन गर्नु नै हामी सवैको बुद्धिमत्ता पुगेको अनुभूति हुनेछ भने कालान्तरमा कुनै आत्मग्लानी एवं पश्चातापको भुमरीमा बिबादित पात्रकोरुपमा परिनेछैन। (लेखक नेपाली सेनाबाट अवकाश प्राप्त ब्रिगेडियर जनरल हुन्)











प्रतिक्रिया