स्याङ्जा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ मा पूर्व बैंकर, भूवैज्ञानिक, हिमनदी विज्ञ र पत्रकारबिच प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रबाट १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका मनोज नेपाली दर्जीले नेपाली काँग्रेस स्याङ्जाका उम्मेद्वार भरतराज ढकाललाई समर्थन गर्नुभएको छ ।
आफूले उठाउँदै आएका अजेण्डा ढकालले आत्मसाथ गरेको भन्दै परियारले समर्थन गर्नुभएको हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेद्वार परियारले काँग्रेसका उम्मेद्वार ढकाललाई समर्थन गर्नुभएको थियो । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका ढकाल हाल नेपाली कांग्रेसको वित्तीय तथा सहकारी विभागका केन्द्रीय सदस्य हुनुहुन्छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदले नीति बनाउने हो, नीति बनाउन ढकाल सक्षम भएको भन्दै उहाँले काँग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो । लामो समयदेखि आफूले धनी र गरिबको दुरी कम गर्दै गरिबी हटाउने अभियान चलाएको बताउँदै परियारले गरिबी हटाउने र रोजगारी सृजना गर्ने अभियानलाई प्रभाबकारी बनाउन काँग्रेसका उम्मेद्वार ढकाललाई समर्थन र मतदान गर्न आव्हान गर्नुभयो । काँग्रेस उम्मेद्वार ढकालले उठाएका अजेण्डाहरु उत्पादनमुलक, आर्थिकउर्पाजन र रोजगारी सृजना गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उम्मेद्वार ढकालले बदलिएको काँग्रेसले बदलिएको नेपाली समाजलाई उचित तवरबाट नेतृत्व गर्न सक्ने दावी गर्नुभयो । ‘हामी र हाम्रो नेतृत्व बदलिएको छ, बदलिएको नेतृत्वले समाज बदल्ने अठोट गरेको छ ।’ उम्मेद्वार ढकालले भन्नुभयो, ‘नेपालीको आर्थिक र सामाजिक अवस्थामा परिवर्तन ल्याएर काँग्रेसले रोजगारी सृजना गर्दै आत्मनिर्भर समाज बनाउने छ ।’
काँग्रेस उम्मेद्वार ढकालले आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा–१ का हरिनाश, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, भीरकोट, वालिङ र पुतलीबजार नगरपालिकाका अधिकांश वडाहरुमा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम गर्नुभएको छ ।
घरदैलो कार्यक्रममा उम्मेद्वार ढकालले स्थानीयलाई उत्पादनसँगै आत्मनिर्भर, पूर्वाधारको विकासबाटै समृद्धि र रोजगारी सृजनाबाट समुन्नत स्याङ्जा निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष भरतराज ढकाललाई नेपाली काँग्रेसले उम्मेद्वार बनाएपछि स्थानीय मतदाता उत्साहित भएका छन् । हजारौंलाई रोजगारी र लाखौंको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ढकाललाई निर्वाचन क्षेत्रका मतदाताले समर्थन गर्दै चुनावी प्रचार–प्रसारमा केन्द्रित बनेका छन् ।
नेकपा एमालेका तर्फबाट पुतलीबजार नगरपालिका–९ का मिनप्रसाद गुरुङ उम्मेदवार हुनुहुन्छ । गुरुङले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत विभिन्न गाउँपालिका तथा नगरपालिकाका वडामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गर्दै गुरुङ मतदातासमक्ष पुग्नुभएको छ । पालिकाका विभिन्न वडामा आयोजित कार्यक्रमहरुमा बोल्दै उम्मेदवार गुरुङले समृद्ध स्याङ्जा निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । विकास निर्माण, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरण आफ्नो मुख्य प्राथमिकता रहेको उहाँको भनाइ छ ।
‘एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल बनाउन स्याङ्जावासीको साथ आवश्यक छ,’ गुरुङले भन्नुभयो, ‘कृषि, पर्यटन र साना तथा मझौला उद्यममार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने हाम्रो लक्ष्य हो ।’ उहाँले पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्दै आर्थिक समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय आवश्यकता र सम्भावनाका आधारमा योजना तर्जुमा गरी कार्यान्वयनमा लैजाने उहाँको योजना रहेको बताइएको छ ।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले विभिन्न समस्या तथा सुझाव राखेका थिए । उम्मेदवार गुरुङले जनताका गुनासा सम्बोधन गर्दै विकासका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिनुभयो । एमाले उम्मेदवार गुरुङले आगामी दिनमा पनि चुनावी अभियानलाई निरन्तरता दिने जनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट शैलेन्द्र घिमिरे उम्मेदवार हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पुतलीबजार नगरपालिका–५ का डा. धनञ्जय रेग्मी उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा नेशनल रिपब्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट यामबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुमबहादुर राना, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ तथा स्वतन्त्र उम्मेदवारका रुपमा अशोक बिष्ट पनि चुनावी प्रतिस्पर्धामा छन् । यहाँ उम्मेदवारी दिएका सबै उम्मेदवार संघीय निर्वाचनका लागि नयाँ अनुहार हुन् ।











प्रतिक्रिया