काठमाडौँमा वायु प्रदूषण बढ्दै, सचेत रहन आग्रह


काठमाडौँ ।

काठमाडौँ उपत्यकामा सोमबार वायु गुणस्तर सूचकांक (AQI) १७८ बाट बढेर आज १९१ पुगेको छ, जसले ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा परेको छ। यसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, र श्वास–प्रश्वास तथा मुटुरोगीलाई असर गर्न सक्छ। विश्वव्यापी सूचीमा काठमाडौँ AQI अनुसार भारतको दिल्ली र पाकिस्तानको लाहोर पछि तेस्रो स्थानमा परेको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्नेछ। वर्षा पराजुलीले बताए अनुसार उपत्यकामा सवारी साधनको वृद्धि, डिजेल–पेट्रोलको धुवाँ, निर्माणाधीन सडक र पूर्वाधार परियोजनाबाट उड्ने धुलो, वन डढेलो र लामो सुक्खा मौसमले प्रदूषण बढाएको छ।

सरकारले वायु गुणस्तर सुधारका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर र भ्याकुम प्रयोग बढाउने, र सार्वजनिक सचेतना जारी गर्ने उपाय योजना अघि सारेको छ। राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु, जल र ध्वनि प्रदूषण मापन केन्द्र स्थापना गरी गुणस्तर नक्साङ्कन गर्ने रणनीति पनि लागू गरिएको छ।