निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन्। ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा सङ्घ सङ्घीय कार्यसमितिले शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएकाले फागुन २१ गते हुने निर्वाचन सफल बनाउन आग्रह गरे।

राष्ट्रपति पौडेलले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता र भ्रातृत्व अभिवृद्धिमा योगदान दिएको उल्लेख गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउनु सबैको साझा दायित्व भएको बताए। उनले सुशासन र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व तथा राष्ट्रिय एकता थप मजबुत हुने धारणा राखे।

उनले शेर्पा समुदायले आफ्नो विशिष्ट परम्परा, संस्कृति र पहिचानमार्फत नेपाल र नेपालीको गौरव बढाएको उल्लेख गर्दै ग्याल्पो ल्होछार पर्वले आपसी एकता मजबुत बनाउने विश्वास व्यक्त गरे।