चुनाव नजिकिएसँगै कार्यकर्ता तान्ने होडबाजीमा दलहरु 

658
Shares

खोटाङ। 

 प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै खोटाङका राजनीतिक दलहरु कार्यकर्ता तानातानमा जोड दिएका छन् । आगामी फागुन–२१ गते हुने निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न जिल्लास्थित राजनीतिक दलहरुले कार्यकर्ता तानातानमा जोड दिएका हुन् । 

नेपाली कम्युष्टि पार्टी (नेकपा), नेपाल कम्युनिस्ट पार्टी(एमाले), श्रम संस्कृति पार्टी  लगायतका दलहरु चुनावी अभियानसँगै कार्यकर्ता तथा मतदाता तान्न सक्रिय बनेका हुन् । नेपाली कम्युनिस्ट पार्टीले गत माघ–२० गते केपिलासगढी गाउँपालिकाका निवर्तमान गाउँपालिका प्रमुख कृष्णकुमार राईलाई पार्टी प्रवेश गराएको थियो । जिल्ला सचिवालय समितिका पूर्वसदस्यसमेत रहनुभएका कृष्णकुमार एमाले केपिलासगढी गाउँपालिका कार्यसमिति उपसचिव रमेश परियारसहित विभिन्न पदका कार्यकर्ता लिएर नेकपा प्रवेश गर्नुभएको हो ।

यस्तै, यही फागुन–२ गते एमालेकै कोशी प्रदेश समिति सदस्य कूलदीप राई र दीपक राई, नेपाली काँग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडासभापति सन्तोष राई लगायत श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । एमाले विजयखर्क वडासमितिका उपाध्यक्ष रविनकुमार राई, पूर्वअध्यक्ष प्रेम राई, तत्कालीन नेकपा (माओवादी केन्द्र) खोटाङका जिल्ला सदस्य लालकिरण राई समेत श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । विजयखर्कमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरेर १ सय ११ जना नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेको जिल्ला अध्यक्ष प्रताप राईले बताउनुभयो ।

यस्तै, एमालेले पनि कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गराईरहेको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला सचिव माइतीराज राई फागुन–४ गते एमाले प्रवेश गर्नुभएको जनाइएको छ । एकीकृत समाजवादी र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएपछि निस्क्रिय बस्नुभएका माइतीराजलाई एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इनचार्ज विशाल भट्टराई लगायतले पार्टी प्रवेश गराउनुभएको हो । 

माइतीराजसँगै केपिलासगढी गाउँपालिकाका १ सय १५ जना नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गरेको प्रचार विभाग प्रमुख खेमराज देउराली राईले जनाउनुभयो । 

दश स्थानीय तह रहेको जिल्लामा सबै राजनीतिक दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रमलाई व्यापक बनाएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन् ।

नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट डा. हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी यो पटकको उम्मेदवार बन्नुभएका हुन् । यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राईको पनि उम्मेदवारी रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अर्थ तथा बाम राजनीतिक विश्लेषक ६५ बर्षीय डाक्टर रोका नेकपाबाट उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिनुभएपछि खोटाङको चुनावी माहोल रोचक बनेको छ । तीन दशकसम्म राजधानी काठमाडौँमा बसेर अध्ययन, अनुसन्धान तथा खेलनमा व्यस्त डा. रोका पुनः खोटाङमा आएर उम्मेदवार बन्नुभएपछि चुनावी माहोल तातिएको हो ।

२०७९ सालको निर्वाचनमा खसेको समानुपातिक मतलाई हेर्दा खोटाङमा एमालेको अवस्था बलियो देखिएको छ । तर, यस पटकको अवस्था पहिलेजस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । श्रम संस्कृति पार्टी लगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गरेका छन् । मतदाताले नयाँ विकल्पको खोजी गर्दा ठूला राजनीतिक दलको भोटमा कटौती आउने देखिएको छ ।

एमालेको २४ हजार २ सय ७१, काँग्रेसको १८ हजार ६ सय ७२, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को ११ हजार ८ सय ४५, एकीकृत समाजवादीको तीन हजार ३ सय ६३, जसपा नेपालको दुई हजार २ सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हजार २ सय ५५ मत आएको थियो । तत्कालीन अवस्थामा जिल्लामा सङ्गठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक हजार ४ सय ९७ मत खसेको थियो ।

एक लाख ४७ हजार १ सय २० मतदाता रहेको जिल्लामा सबै राजनीतिक दलका उम्मेदवारले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् । यद्यपि, यस वर्षको निर्वाचनमा पुरानै तीन राजनीतिक दल काँग्रेस, एमाले र नेकपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

आगामी निर्वाचनका लागि जिल्लामा १ सय ३६ वटा मतदान स्थल तथा १ सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।