
हेटौंडा ।
मानिसहरुको जंगली स्रोत–साधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुर्लभ बनेको वन्यजन्तु सालकको संरक्षणमा विशेष छलफलसहित निर्णय लिन पहिलोपटक बागमती प्रदेशस्तरीय सालक सम्मेलन भएको छ ।
सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षण गर्नुपर्ने कारण, अवैध सिकार तथा तस्करीका चुनौती र भावी कार्यदिशाबारे विस्तृत छलफल गरिनुका साथै सालकको बासस्थान तथा आहार संरक्षणका विषयमा छलफल गरिएको बताइएको छ । सम्मेलनले ‘माडी घोषणापत्र’ जारी गर्दै सालक संरक्षणलाई अभियानका रुपमा अघि बढाउने जनाएको छ ।
‘संसारभर संकटापन्न स्तनधारी प्राणी सालक संरक्षणका लागि बागमती प्रदेशमा क्रियाशील सरकारी निकाय, संरक्षण साझेदार संघसंस्था, संरक्षणकर्मी, विज्ञ, उपभोक्ता समूहलगायत सरोकारको गम्भीर चासो छ । अवैध व्यापार र बासस्थान विनाशसमेतका कारण सालक संकटापन्न अवस्थामा रहेकोमा यी जोखिमहरु नियन्त्रण गर्दै सालक संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो’, घोषणापत्रमा संकटापन्न सालक प्रजातिहरुको संरक्षणका निम्ति प्रकृतिको साथी सालकको संरक्षण गर्ने मूल नारासाथ सम्मेलनमा प्रतिबद्धतासहित सालक संरक्षणका लागि माडी घोषणापत्र जारी गरेको छ ।
सालक पाइने वन र संरक्षित क्षेत्रहरुमा संरक्षण तथा बासस्थान व्यवस्थापन, संरक्षण शिक्षा अभिवृद्धिलगायत कार्यहरु सरोकारवाला निकायको पहलमा कार्यान्वयन गर्ने÷गराउने, चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तीन तहका सरकार, संरक्षण साझेदार संघसंस्थाहरु, स्थानीय समुदायको सहयोगमा सामूहिक पहल गरिने, नेपाल सरकारले तर्जुमा गरेको सालक संरक्षण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रदेशस्तरीय योजना बनाई सोका लागि आवश्यक साधन–स्रोत जुटाएर लागू गर्ने र स्थानीय समुदायको सहभागितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, विश्वविद्यालय, तीन तहका सरकारसमेतको सहकार्यमा सालक संरक्षणका लागि आवश्यक अध्ययन÷अनुसन्धान अगाडि बढाउने विषय घोषणापत्रमा समेटिएको छ ।
सालक संरक्षणका लागि स्थानीयको सक्रिय सहभागिता र अपनत्व हुने गरी संरक्षण कार्ययोजना निर्माण तथा प्रभावकारी कार्यान्वयन र अन्य प्रदेश तथा राष्ट्रियस्तरमा सालक सम्मेलन गर्न प्रदेश सरकारमार्फत अनुरोध गरिएको छ ।
मानिसलाई कुनै प्रकारको हानि नगर्ने सालकले माटोलाई समेत उर्वर बनाउँदै आएको छ । माटो खुकुलो बनाउने र किसानको अन्नबालीलाई हानि नगर्ने भएकाले सालक किसानमैत्री वन्यजन्तुका रुपमा परिचित छ । खासगरी जंगली वन्यजन्तुभन्दा पनि मानव आक्रमणबाट सालक संकटमा परेकाले यसको संरक्षणका लागि बासस्थान जोगाउन मानिसले नै सहयोग गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।
कीरा–धमिरा खाएर बाँच्ने उक्त प्राणीको बासस्थान र खाना मासिँदै गएको छ । बस्ने स्थानमात्र संरक्षण गरेर भएन, जंगलमा धमिराका देवल देखिन्नन् । मानिसको वनमा जथाभावी प्रवेशले देवल मासिँदै गएका छन् । सम्मेलनले समयमै ध्यान दिन सके अझै पनि संरक्षणको सम्भावना रहेको बताएको छ । बालीनालीमा बढ्दो विषादीको प्रयोगले कमिला, धमिराजस्ता सालकका मुख्य आहारमा कमी आएको छ । वनजंगलमा हुने आगलागी तथा डढेलोले पनि सालकको संख्या घट्दै गएको पाइएको छ ।
हेटौंडाले पहिलोपटक सालक संरक्षणको प्रयास गरेको हो । शुरुमा वन समूहको क्षेत्रभित्र बगाएर ल्याएको सालक थाहा नपाएका कारण हेटौंडा–११ स्थित शहीद स्मारकमा बुझाइएकोमा २०६२ देखि भने संरक्षण जारी छ । शुरुमा उपभोक्तालाई सालकसम्बन्धी जानकारी, विद्यालयस्तरमा शिक्षक र विद्यार्थीलाई सचेतना, जंगल क्षेत्रमा धमिराको देवल संरक्षण प्रयास जारी रहँदै गर्दा अन्यत्र भेटिएका सालक वनमा बुझाउने गरिएको हेटौंडा–६ स्थित रानी सामुदायिक वनका अध्यक्ष केशव धितालले बताउनुभयो । सालकले एक दिनमा २ लाख ३० हजार र वर्षमा करिब ७ करोडसम्म कमिला र धमिरा खाने गर्दछ ।
सालक संरक्षण गर्नेलाई पुरस्कारको व्यवस्था, सालकको मूर्ति निर्माण, होर्डिङबोर्ड, पत्रपत्रिका, टिभी र अनलाइनमा सालकबारे जानकारी गराउँदै आएका छौं’, उहाँले भन्नुभयो । विश्वमा दुर्लभ मानिएको संरक्षित जनावर सालकको संरक्षण गर्ने उद्देश्यले हेटौंडा–१७ मा ‘सालक पार्क’ निर्माण गरिएको छ । यस्तो पार्क नेपालमा सम्भवतः यो पहिलो हो ।
सालकको खपटाबाट ज्याकेट बनाउने र गुम्बामा राख्ने चलन छ । स्थानीय वन समूहहरुले सालक संरक्षणका लागि वनक्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी उपयुक्त वातावरण तयार गरेका छन् । दिउँसो नदेखिने र रातको समयमा सक्रिय हुने हुँदा यसको चोरी सिकारी हुनुका साथै कुकुरले मारेर खाने गरेको भेटिएकोले पार्क बनाएर संरक्षणको थप प्रयास गरिएको हो ।
रानी सामुदायिक वनले सालक संरक्षण, व्यवस्थापन, खानेकुरा संरक्षण, जनचेतामूलक कार्यक्रम, कानुनी प्रावधानबारे जानकारीलगायत कार्य गर्दै आएको छ । समूहले डिभिजन वन कार्यालय मकवानपुर, तराई भूपरिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष र दि रिफोर्ड फाउन्डेसनलगायत संघसंस्थासँग मिलेर सालक संरक्षण गर्दै आएको छ । समूहको वनक्षेत्रभित्र करिब डेढ दर्जन सालक रहेको बताइएको छ । वनविज्ञान स्नातक तहका विद्यार्थीका पाठ्यक्रममा समावेश सालकबारे पढ्न बर्सेनि सयौं विद्यार्थी स्थानीय वन समूहमा पुग्छन्, प्रत्यक्ष हेर्छन् र त्यसको संरक्षणका लागि योजना बनाउने गर्छन् ।
समुद्री सतहदेखि करिब २ हजार मिटरसम्मको उचाइका वनजंगलमा सालक पाइन्छ । अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने सालकले मानिसलाई कुनै क्षति गर्दैन । एक बेतमा एउटामात्र बच्चा जन्माउने सालकको बच्चाको जन्मदर अत्यन्त कम हुन्छ । जन्मिएका बच्चामा पनि हुर्किने सम्भावना कम भएकाले सालकमैत्री वातावरण तयार गर्नुपर्नेमा धितालको जोड छ । इकोसिस्टमलाई चुस्त बनाउने जीव भएकै कारण पनि सालकको संरक्षण जरुरी रहेको उहाँको भनाइ छ । प्राकृतिकरुपमा जमिनको उर्वराशक्ति बढाउने भएकाले यसलाई ‘कृषकको मित्र’ का रुपमा पनि लिने गरिएको उहाँले बताउनुभयो ।
घाइते सालकको उद्धार गर्न रानी वन समूहले ब्लक–५ मा सालक केज निर्माण गरेको छ । अत्यन्त लजालु सालकको बासस्थान र यसको आहार वृद्धि गर्न सके मकवानपुरलाई ‘सालक गौरवको जिल्ला’ घोषणा गर्न सकिने संरक्षणकर्मीहरु बताउँछन् । अर्को पुस्ताले पनि सालक देख्न पाओस् भनेर यसको संरक्षणका लागि जिल्लाकै गौरवको प्राणीका रुपमा घोषणा गर्न लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरिदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाखदेखि १० लाख रुपियाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । खतराबाट बच्नका लागि भकुन्डोको आकारमा मुख केन्द्रमा पारेर गुजुल्टिएर बस्ने उक्त जीवको माग चीन, भियतनाममा औषधि बनाउन र मासु उत्पादनका लागि हुने भएकाले चोरी सिकारीसमेत हुने गरेको छ । यसको शरीरमा हुने खपटा बुलेटप्रुफ ज्याकेट तथा उच्च कोटीको टाँक बनाउन र महँगा सौन्दर्य सामग्री बनाउन प्रयोग हुने गरेको छ ।
विश्वमा ८ प्रजातिका सालक पाइन्छ भने नेपालमा कालो र तामे गरी दुई प्रकारका सालक पाइन्छ । नेपालमा हालसम्म १२ जिल्लामा मात्र पाइने भनिएको सालक ४३ जिल्लामा भेटिएको तथ्य सार्वजनिक भएको छ । वन तथा भूसंरक्षण मन्त्रालयमातहत ‘हरियो वन’ कार्यक्रमको सहयोगमा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रले गरेको राष्ट्रिय सालक सर्वेक्षणले यस्तो तथ्य देखाएको हो ।
झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला (खपटा) हुन्छ । सालकको पेट, मुख र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रुखको हाँगामा झुन्डिन सक्ने विज्ञहरु बताउँछन् । सालकको दाँत नभए पनि यसले ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्ने जिब्रोको सहायताले कीरा र कमिलालगायत जीवहरु खान सक्छ । दुर्लभ वन्यजन्तु सालक जोखिममा परेकाले संसारभर फेब्रुअरी महिनाको तेस्रो शनिबार सालक दिवस मनाउने गरिन्छ ।
चितवनको माडीमा प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा सम्मेलन भएको हो । प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालको सभाध्यक्षता एवं वनमन्त्री भरतबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो ।











प्रतिक्रिया