चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्व. दिनेश सिटौलाको अल्पआयुमै निधनको १३ औं दिनको पुण्यतिथिमा संघले श्रद्धाञ्जली सभा आयोजना गरी उनको स्मृतिमा अक्षय कोष स्थापनाको घोषणा गरेको छ।
संघका अध्यक्ष समीर बलामीको सभापतित्व तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा पत्रकार तथा कलाकर्मीले स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गरी उनीप्रति श्रद्धासुमन अर्पण गरेका थिए। सभामा अध्यक्ष बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्दै हरेक वर्ष माघ १८ गते स्व. सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने तथा संघको वार्षिकोत्सवमा स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार प्रदान गर्ने उद्देश्यसहित उक्त अक्षय कोष स्थापना गरिएको जानकारी गराए। प्रमुख अतिथि डिसीले स्व. सिटौलाको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न अपिल गर्दै बोर्डका तर्फबाट अक्षय कोषका लागि ५१ हजार रुपैया“ सहयोग प्रदान गर्ने घोषणा गरे।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै कोषका लागि १० हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरे। संघका महासचिव रघुनाथ सापकोटाद्वारा सञ्चालित श्रद्धाञ्जली सभामा संघका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिटौलाको योगदानको चर्चा गरेका थिए।
अक्षय कोषका लागि ओएसआर डिजिटलले ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले २५ हजार, निर्माताद्वय सरोज वली र मोहितवंश आचार्यले ५ हजार, षट्कोण आट्र्सले २५ हजार, दिलासा क्रिएसनका तर्फबाट पत्रकार लक्ष्मण सुवेदीले ११ हजार तथा राम नाम सत्य फिल्मको टिमले १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। यसअघि चलचित्र पत्रकार तथा कलाकर्मीबाट ३ लाख रुपैया“भन्दा बढी सहयोग संकलन भइसकेको संघले जनाएको छ।











प्रतिक्रिया