प्रजातन्त्र दिवसमा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने


काठमाडौं।

फागुन ६ गते साँझ माइतीघर मण्डलामा सहिदहरूको स्मृतिमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको अध्यक्षतामा बसेको मञ्च सजावट तथा व्यवस्थापन उपसमितिको बैठकले प्रजातन्त्र प्राप्त गर्न, सुशासन कायम गराउन, भ्रष्टाचार अन्त्य गराउन र जवाफदेही सरकारका लागि खवरदारी गर्ने क्रममा विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने सहिदहरूको स्मृतिमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
दिवसको अवसरमा फागुन ६, ७ र ८ गते हुने कार्यक्रमअन्तर्गत मूल समारोहको मञ्च व्यवस्थापन तथा सजावटका विषयमा छलफल गर्दै बैठकले नेपाली सेनालाई हेलिकोप्टरबाट पुष्पवृष्टिका लागि आवश्यक पर्ने फूल कामपाले उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, प्रजातन्त्र दिवस २०८२ अङ्कित व्यानर, शान्तिको प्रतीकका रूपमा उडाइने ६ जोर परेवा, आकाशमा उडाउने १ हजार थान बेलुन कामपाबाटै उपलब्ध गराउने निर्णय भएको छ ।

विशिष्ट कक्षतर्फ बस्नका लागि १ हजार वटा र सर्वसाधारणा बस्नका लागि ३ हजार वटा कुर्सी महानगरपालिकाले व्यवस्था गर्नेछ । यस्तै सर्वसाधारणलाई पिउने पानीको प्रबन्ध, कार्यक्रम सञ्चालनका लागि साउन्ड सिस्टम, सैनिक मञ्च वरिपरि सरसफाइ गर्ने, कार्यक्रम स्थलमा पानी छर्किएर धुलो नउड्ने बनाउने, कार्यक्रम अवधिभर दमकल सेवा तैनाथ राख्ने व्यवस्थापन महानगरपालिकाले गर्ने निर्णय गरेको छ ।

फागुन ६, ७ र ८ गते सरकारी कार्यालयको छत, बरन्डा र परिसरमा मर्यादापूर्वक राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने उपसमितिले निर्णय गरेको छ । प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार कार्यालयमा गरिने दीप प्रज्वलनमा कार्यालयका अधिकारीहरूलाई जिम्मेवार बनाइएको छ । माइती घर मण्डलामा हुने दीप प्रज्वलनमा सर्वसाधारण समेत सहभागी हुन सक्नुहुनेछ ।

यससँगै मूल समारोहका दिन सैनिक मञ्चमा प्रदर्शन गरिने झाँकीका लागि उपत्यकाका नगरपालिकाहरूसँग काठमाडौंले समन्वय गर्ने बैठकमा निर्णय भएको छ ।