हलेसीमा दर्शनार्थी बढ्दो, पार्किङ व्यवस्थापनमा समस्या


खोटाङ। 

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दर्शनार्थी भक्तजनहरुको संख्या बढ्दो रहेको छ । यातायातको सुविधासँगै दर्शनार्थी भक्तजनको संख्या बढिरहेको हो ।

 हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा देश तथा भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी आउने गरेका छन् । यही शिवरात्रिमा मात्र करिब तीन हजारको हाराहारीमा भक्तजन तथा दर्शनार्थीहरु हलेसी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।

हलेसीमा लागेको महाशिवरात्री मेला भर्न आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयमसेवक तथा प्रहरी समेत परिचालन गरिएका थियो । राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्रे गरिएका कारण पनि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफैले सवारीसाधन लिएर हलेसी आउने गरेका छन् 

धार्मिक रुपमा मात्र नभइ प्राकृतिकद रुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धार जस्ता विभिन्न द्वारहरू अवस्थित छन् ।

प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य मनमोहक रहेको छ ।

हलेसीमा शिवरात्री, रामनवमी, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । पछिल्लो समय दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो ।

दैनिक सयौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने हलेसी मन्दिर परिसरमा पर्यटक गणकयन्त्र र सौर्यबत्तीसमेत जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रम अन्तरगत तत्कालीन १ नम्बर प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको दश लाख रुपैंयाँ लागतमा हलेसी मन्दिर परिसरका विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हो ।।