द भ्वाइस’को दुई सिजनमा खोटाङको लगातार धमाका : सातौं सिजनमा सागरको माहोल

2.16k
Shares

खोटाङ ।

नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा खोटाङका प्रतिभाहरुले निरन्तर धमाका दिईरहेका छन् । अघिल्लो सिजनमा समेत खोटाङकै गायन प्रतिभाले दोश्रो स्थान कब्जा गरेकोमा सिजन–७ मा उत्कृष्ट ४ अर्थात् फाइनल राउन्डमा खोटाङकै युवा गायक सागर संसार राईले तहल्का मच्याईरहनुभएको छ ।

कोच खेम सेन्चुरीको समूहबाट सागर फाइनलमा पुग्नुभएको हो । सागरलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा विभिन्न कार्यक्रमसहित स्वागत गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा बुवासुङ निवासी प्रतियोगी सागर दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल ईङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कूल र माउन्ड एभरेस्ट बोर्डिङ स्कूल दिक्तेलले छुट्टाछुट्टै आयोजना गरेको ‘सागर संसार राई जिताउ अभियान’सहितको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गृहजिल्ला खोटाङ आउनुभएको थियो ।

अघिल्लो सिजनमा खोटाङकै गायक रोशन राई(पालुवास्टार)ले दर्शक तथा श्रोताका मन जित्दै दोश्रो स्थानमा चित्त बुझाउनु परेको थियो । कोच मेलिना राईको टीमबाट फाईनलमा उत्रिनु सफल दिपु्रुङ चुईचुम्मा गाउँपालिका–७ का गायक रोशन दर्शकका भोटका आधारमा दोश्रो बन्नुभएको थियो । कोच खेम सेन्चुरीका टीमबाट प्रतियोगी प्रोसेस पाण्डेले सो उपाधी जित्नुभएको थियो । संयोगबश यो पटक सागर संसार कोच खेमकै टीमबाट फाईनलमा पुग्नुभएको हो ।

सागरलाई जीताउने अभियानमा गायक रोशन राई(पालुवास्टार)सँगै सिजन–६ मा नै उत्कृष्ट प्रस्तुति दिँदै धमाका मच्याउन सफल गायिका इन्द्रकला राई, गायक हसन राईसहितका टोली दिक्तेलबजार आउनुभएको थियो । गृहजिल्ला खोटाङमा भोट माग्न आउनुभएका प्रतियोगी सागरलाई बिहबार ¥यालीसहित दिक्तेलबजार परिक्रमा गराउँदै स्वागत गरिएको थियो ।  सागरलाई जिताउन जिल्लास्थित विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग समेत गरेका छन् ।

गायन विधाबाट स्थापित बनिसक्नुभएका प्रतियोगी सागरलाई भोट गर्न आगामी फागुन–२ गते शनिबार बेलुकासम्म भोट खुला गरिएको आयोजकले जनाएको छ । दिक्तेल बहुमुखी क्याम्पसका पूर्वविद्यार्थी समेत रहनुभएका प्रतियोगी सागरले ‘नत हाँस्न नै सक्छु, नत रुन नै सक्छु’, ‘छैन भरोसा जीवनको’, ‘सिँगौरी’, रुँदा रुँदै हाँसेको मान्छे’ लगायतका चार दर्जनबढी नेपाली गीत गाउनुभएको छ ।

‘द भ्वइस अफ नेपाल’को सातौँ सिजनको फाइनलमा टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम मेलिना राईबाट सञ्जिता दूरा र टिम राजु लामाबाट नीताकुमारी थापा पुग्नुभएको छ । हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल’को इतिहासमा पहिलोपटक तीन महिला र एक पुरुष फाइनलमा पुगेकाले सागरले उपाधि जित्ने सम्भावना बढी रहेको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ को फाइनल प्रतिस्पर्धा फागुन–२ गते शनिबार राति हुने आयोजकले जनाएको छ ।।