आचारसंहिताको कारण पूर्वराजा ज्ञानेन्द्रको स्वागत कार्यक्रमलाई प्रशासनको रोक


काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समूहले स्वागत कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले त्यसमा रोक लगाएको छ।

निर्वाचन आचारसंहिता लागू रहेको अवस्थामा विमानस्थल क्षेत्र र आसपासमा कुनै पनि प्रकारका प्रदर्शन, र्‍याली वा जमघट गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्पष्ट पारेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बुधबार सूचना जारी गर्दै सामाजिक सञ्जालमार्फत विमानस्थल क्षेत्रमा प्रदर्शन तथा र्‍याली गर्ने तयारी भइरहेको विषयमा प्रशासनको ध्यानाकर्षण भएको जनाएका छन्।

उनले यस्ता गतिविधि सञ्चालन गर्नका लागि हालसम्म कसैले पनि जिल्ला प्रशासन कार्यालयमा जानकारी नगराएको र पूर्वस्वीकृति नलिएको उल्लेख गरेका छन्। आचारसंहिता कार्यान्वयनमा रहेको अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा र सार्वजनिक व्यवस्थामा असर पर्ने कुनै पनि गतिविधि नगर्न प्रशासनले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।