मन्थलीमा कहालीलाग्दो बस दुर्घटना : एकै परिवारका ४ सहित १२ जनाको मृत्यु

1.22k
Shares

रामेछाप ।

रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित त्रिवेणी नजिकै मंगलवार बिहान भएको भीषण बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको ९९७५ नम्बरको अरनिको यातायातको बस बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।

मृत्यु हुनेहरूमा एकै परिवारका ४ सदस्यसमेत रहेका छन् । दुर्घटनामा बसधनीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकहरूलाई मन्थली नगर अस्पतालमा राखिएको छ । पोस्टमार्टमपश्चात परिवारलाई शव बुझाउने अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्, जसमध्ये ७ जनालाई थप उपचारका लागि तत्काल काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनालगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका थिए । नदीमा बस खसेको र भिरालो ठाउँ भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको उद्धारमा खटिएका प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोडमा गाडीको गति अत्यधिक भएका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ । घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई मन्थलीको एक स्थानीय अस्पतालमा उपचार गराइरहेको छ ।

गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन तथ्यांक अझै खुल्न सकेको छैन । हाल घटनास्थलमा खोजी र उद्धारको कार्य जारी रहेको र मृतकको सनाखत गर्ने प्रक्रिया भइरहेको प्रहरीले बताएको छ । यो समाचार तयार पार्दासम्म १० जना मृतक र ८ जना घाइतेको सनाखत भएको थियो ।