बजेटका ७४ बुँदामध्ये ९ मात्रै कार्यान्वयन


काठमाडौं।

चालु आर्थिक वर्षको बजेटमा समावेश उद्योग, ऊर्जा र पूर्वाधार क्षेत्रका मुख्य कार्यक्रमको कार्यान्वयन अवस्था कमजोर देखिएको छ । नेपाल उद्योग परिसंघको बजेट वाचअनुसार पुस मसान्तसम्म ७४ बुँदामध्ये केवल ९ वटा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका हुन् ।

प्रतिवेदनअनुसार ४५ बुँदामा आंशिक प्रगति भएको छ भने २० बुँदामा कुनै काम अघि बढेको छैन। उद्योग क्षेत्रका २७ बुँदामध्ये पाँचवटा पूर्ण, १४ आंशिक र आठवटामा शून्य प्रगति छ । ऊर्जा, पूर्वाधार तथा सहरी विकासका १४ बुँदामध्ये तीन पूर्ण, आठ आंशिक र तीन शून्य प्रगति देखिएको छ । कृषि तथा जडीबुटीका सातमध्ये तीन बुँदा पूर्ण कार्यान्वयन भएका छन् ।

प्राकृतिक खानीजन्य वस्तु उत्पादन, समयअनुसार विद्युत् महसुल निर्धारण र सौर्य वायु ऊर्जालाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने योजना नियमावली तथा कानुनी अड्चनका कारण अघि बढ्न सकेका छैनन् । सातै प्रदेशमा कर्मचारी आवास निर्माण कार्यक्रम पनि आंशिक मात्र अघि बढेको छ । वन क्षेत्रमा भने सुधार देखिएको छ । वन भोगाधिकार पुनः नापजाँचको व्यवस्था हटाइएपछि रूख कटान प्रक्रिया सहज बनेको छ ।