चारवर्षसम्म पनि विद्युत् पोल नसार्दा पृथ्वी राजमार्ग निर्माणमा अवरोध

1.13k
Shares

धादिङ ।

पृथ्वी राजमार्ग अन्तरगत नागडुंगा मुग्लिङ सडक निर्माणमा निर्माण कम्पनीको समय तेस्रो पटक थपिँदा पनि सडकमा पर्ने विद्युत् पोल नसार्दा निर्माण कार्य नै प्रभावित भएको छ । समयमा निर्माण कम्पनीले सक्नुर्ने कामको म्याद थप्दै काम गरिरहेको छ। तर, सडकमा परेका विद्युत् पोल अझैसम्म पनि सडकमै रहेको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ६ को आदमघाट, बन्छेटार घाटबेसी क्षेत्रमा सडकमा पोल भएका कारण निर्माणको कामसमेत प्रभावित भएको छ ।

तस्विरमा देखिएको पोल बन्छेटार क्षेत्रको हो । सडकमा परेको पोल पटक पटकको आग्रहमा समेत नसारेका कारण निर्माण कम्पनीले सडकमै पोल छाडेर पिचको काम समेत सुरु गरेको छ ।

बन्छेटार बजारमा मात्र यस किसिमको पोल ७ ओटा  छ । स्थानीय वितरण लाइन मात्र नभएर हाइ भोल्टेज लाइनको विद्युत् पोलहरु सडक विस्तारको क्रममा सडकमा परेको हो । पटक पटक नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गर्दा पनि पोल सार्न ढिलाई भएका कारण सडक विस्तारको काम नै प्रभावित भएको नागढुंगा मुग्लिङ सडक विस्तार आयोजनाका प्रमुख केशव ओझाले जानकारी दिए ।

नागढुंगा मुग्लिङ सडक (पूर्विखण्ड) मा ६ सय पोल सार्नुपर्ने काम २०७९ बैशाखदेखि पोल हटाउन आग्रह गरिएपनि हालसम्म पनि पोल नहट्दा काममा ढिलाई भएको हो ।

 नागढुंगा मुग्लिङ सडक तिनखण्डमा विभाजन गरेर ठेक्का सम्झौता भएको छ । पहिलो खण्ड अन्तरगत नागढुंगा नौबिसे १२ दशमलब २४ किलोमिटर सडक पुल निर्माण सम्पन्न गर्नका लागि १ अरब ३१ करोड रुपैयाँमा २०७८ चैत २९ गते ठेक्का सम्झौता भएको थियो ।

दोश्रो खण्ड अन्तरगत नौबिसे मलेखु ४३ दशमलब ५४ किलोमिटर सडक निर्माण गर्न ०७९ बैशाख १४ गते ठेक्का सम्झौता भएको थियो भने मलेखिु मुग्लिङ ३८ दशमलब ८६ किलोमिटर सडक ०७९ पुस १५ गते निर्माणकम्पनीसंग ठेक्का सम्झौता भएको थियो । नौबिसे मुगलिन सडक ४ अरब ८० करोढ ५९ लाखमा ठेक्का सम्झौता भएको हो ।

विश्व बैँकको सहुलियतपूर्ण ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको छ । १५ हजार सवारी साधन दैनिक गुड्ने पृथ्वीराजमार्गको धादिङ खण्ड र त्रिभुवन राजपथको नौबिसे काठमाडौँ खण्डको विद्युत् पोल नहटेपछि निर्माणकम्पनीले पोल बिचमा राखेर पिचको काम समेत सुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणसंग निर्माण काम थालेसंगै नेपाल विद्युत् प्राधिकरणसंग पोल सार्ने विद्युत् प्राधिकरणले तोकेको रकम दिने र समयमै पोल सार्नु पर्ने सम्झौता समेत सरकारले गरेको छ तर पटक पटकको आग्रह, निर्माण कम्पनीको पटक पटकको म्याद थपिसक्दापनि विद्युत् पोल नसरेकै कारण यात्रुले दुख पाइरहेका छन् ।

राजमार्गको विद्युत् पोल अति जोखिमूर्ण छ । पोलमा ठोक्किएर दुर्घटना भएमा ठूलो धनजनको क्षति हुने खतरा समेत बेवास्ता गर्खै विद्युत् प्राधिकरणले ढिलासुस्ती गरिरहेको स्थानीयबासीको समेत गुनासो छ ।

 यो नागढुंगा मुग्लिङ खण्डमा १५ ओटा पक्की पुल, ८ आकासे पुल निर्माण हुने छ भने सडक  ६ लेखसम्मको हुने छ ।