आधा उम्मेदवारले लिए बैंकखाताको सिफारिस

282
Shares

हेटौंडा ।

मकवानपुरमा कुल ४४ मध्ये २१ उम्मेदवारले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ बैंकखाता खोल्न सिफारिस लिएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार शुक्रबारसम्म दुवै निर्वाचन क्षेत्रका २१ जनाले निर्वाचन प्रयोजनका लागि नयाँ बैंकखाता खोल्न सिफारिस लिएका हुन् ।

निर्वाचन आयोगबाट कार्यविधिअनुसार निर्देशन आएपछि बुधबार निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरका सबै प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुलाई पत्राचार गरेको थियोे । मकवानपुर–१ मा २१ र २ मा २३ जना उम्मेदवार छन् । उम्मेदवारहरुले निर्वाचन प्रयोजनका लागि जुनसुकै बैंकमा पनि छुट्टै खाता खोल्नुपर्ने हुन्छ । त्यसका लागि निर्वाचन कार्यालयले सिफारिस दिने गरेको छ । जिल्ला निर्वाचन कार्यालयले दुवै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुलाई निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न पत्राचार गरेको छ । मकवानपुरको हकमा उम्मेदवारहरुले ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ ।

निर्वाचन आचारसंहिताअनुसार कुनै उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त गर्ने सहयोग बैंकिङ प्रणालीबाट मात्र गर्नुपर्नेछ । २५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाट र त्यसभन्दा कमको नगद लेनदेन गरे पनि रसिद भने दाखिला गर्नुपर्ने हुन्छ । छुट्टै खाता नखोल्ने र खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिने, एक लाख रुपियाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही गर्न सक्ने अधिकार निर्वाचन अधिकृतलाई छ ।

निर्वाचन कार्यालयले खाता खोलिसकेका उम्मेदवारहरुलाई पनि सिफारिस लिएर नयाँ खातामा रुपान्तरण गर्न आग्रह गरेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जानकारी दिएको छ । निर्वाचन आयोगका कार्यालयहरुसँग सिफारिस लिएर मात्र खोल्न पाउने कार्यविधि बनेपछि सोहीअनुसार निर्देशन आएको हो ।

निर्वाचन आचारसंहिताअनुरुप उम्मेदवारको बढी खर्च भए÷नभएको अनुगमन गर्न कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडालाई तोकिएको छ । उम्मेदवारहरुले सिफारिस लिएर खाता खोले÷नखोलेको, एकभन्दा बढी प्रतिनिधिले खर्च गरे÷नगरेको अनुगमन भइरहेको छ । प्रचारमा सार्वजनिक सम्पत्ति प्रयोग गर्न नपाइने, निर्वाचनका लागि गैरसरकारी संस्था तथा सार्वजनिक संस्थाबाट आर्थिक सहयोग लिए÷नलिएको हेर्ने, कोणसभा वा आमसभा गर्दा हुने खर्च अनुगमन गर्ने तथा आयोगले तोकेको सीमाभित्रको खर्चबारे अनुगमन गरेर निर्वाचन कार्यालयलाई विवरण पेस गरिनेछ ।

निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी गुनासो तथा उजुरी सहायक प्रमुख जिल्ला अधिकारीमार्फत कारबाहीका लागि सिफारिस गरी जिल्ला अनुगमन समितिलाई पठाउने प्रक्रिया छ । मकवानपुरमा हालसम्म कसैको पनि निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छैन ।

आचारसंहितामा निर्वाचन खर्चसम्बन्धी आचरणको विषय छ । आचारसंहिताअनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नै निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोतसमेत खुलाउनुपर्ने हुन्छ । यी लगायत निर्वाचन खर्चसम्बन्धी आचरणसँग सम्बन्धित बुँदा छन् ।

उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा उनको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, तोकिएका पदाधिकारीको नामनामेसीसहित विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने, खर्चको विवरण तथा बिलभरपाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुनबमोजिम आयोगले तोकेको ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने, आयोगले खर्चको बिलभरपाइ तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिए सक्कल बिलभरपाइ तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने र निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ ।