साइपालबाट देखिएको जलवायु परिवर्तनको कथा

658
Shares

घर नै बैतडीमा भएकाले बाल्यकाल दार्चुला र बझाङका हिमालहरू हेर्दै बित्यो । ती सेता अनि चम्किला हिमाल मेरो आँखामा अझै जीवित छन् । बिहानको घाममा हिमालको चहक आज पनि सम्झँदा मनै रोमाञ्चित हुन्छ । हिमाल केवल पहाड मात्र होइन, हाम्रो संस्कृति, जीवनशैली, अर्थतन्त्र र आस्थाको प्रतीक पनि हो ।
अहिले म साइपाल हिमालको फेदीमा उभिएर ती पहाडहरू हेर्छु, तीन दशकअघिको सम्झनासँग तुलना गर्दा दृश्य निकै बदलिएको छ । पहिले जसरी टहकिला हिमालले आकाशसँग मिलेर हाम्रो गाउँको जीवन उज्यालो बनाउँथे, अहिले त्यहाँ केवल कालो ढुंगा मात्र देखिन्छ । हिमरेखा स्पष्टरूपमा माथि सरेको छ ।

मेरो छोराको उमेर अहिले करिब दुई वर्ष मात्र छ । जब ऊ ३० वर्षको हुनेछ, तब दार्चुला, बझाङका अपि र साइपालका हिमाल कस्ता देखिने हुन् भन्ने कुरा मेरो मनमा बारम्बार खेल्छ । के उसले पनि मेरो बाल्यकालमा जस्तो सेता, चम्किला हिमाल देख्ला ? वा केवल कालो पहाड र माटो मात्र सम्झनेछ ? के मेरा नाति–नातिनीले पनि ती पहाड हेर्दा उही आश्चर्य र खुशी महसुस गर्लान् ? कि केवल फोटो हेरे रमाउलान् ? मलाई अहिले नै सुपर एचडी फोटो खिचेर भविष्यका पुस्ताका लागि बचाएर राख्नु छ । ताकि उनीहरूले मेरो बाल्यकालजस्तो प्राकृतिक सौन्दर्य अनुभव गर्न सकून्– हिउँको चमक, चोटीहरूको उज्यालो र आकाशको नीलो रंग । तर यो विचारले मात्र हृदयलाई शान्त पार्दैन । मन गहिरो पीडा र चिन्ताले पनि भरिदिन्छ । किनभने मैले बुझेको छु, प्राकृतिक दृश्य परिवर्तन हुनु केवल दृष्टि र सौन्दर्यको कुरा मात्र होइन, यो जीवन, पानी, कृषि र भविष्यका पुस्ताको अस्तित्वसँग जोडिएको गहिरो चिन्ता हो ।

हिमालले मलाई, मेरो छोरालाई र मेरा नाति–नातिनीलाई के देखाउने छन् ? यो प्रश्न मेरो मनमा बारम्बार गुन्जिरहेको छ । म सोच्न बाध्य छु, हामीले आफ्नो पृथ्वीलाई बचाउन सक्यौं भने मात्र ती हिमाल भविष्यमा पनि सेता, उज्याला र चम्किला देखिने छन् । होइन भने, केवल सम्झनामा मात्रै बाँकी रहनेछन् ।
साइपाल, बझाङमा माघ शुरु भइसकेपछि पनि हिउँ परेन । मंसिरमै अपेक्षा गरिएको हिउँ माघ १० गते मात्र प¥यो । बाल्यकालमा मंसिरमै घरको आँगनबाट हेर्दा हिमालहरू बाक्लो सेतो हिउँले ढाकिएका हुन्थे । बिहानको घामसँगै चम्किने ती हिमालहरू आज भने कालो पहाडझैँ देखिन थालेका छन् ।
मेरो आँखाले देखेको यो परिवर्तन कुनै कल्पना होइन, तीतो यथार्थ हो । तीन दशकमै आएको परिवर्तनले म आफैंसँग प्रश्न गर्छु– मेरा नाति–नातिनीले हिमाल देख्ला कि नदेख्ला ?

बदलिँदो हिमाल र व्यक्तिगत अनुभूति :

बाल्यकालका यादहरू आज फेरि आँखामा आइरहेका छन् । म बिहान उठेर घरको आँगनबाट त्यो सेतो हिमाल हेर्थें । हिउँको उज्यालोमा घाम टल्किएको देख्दा मुटु खुशीले भरिन्थ्यो । तर अहिले त्यही दृश्यले मलाई चिन्तित बनाएको छ । साइपालका एकजना ज्येष्ठ नागरिक कुलभान बोहरा भन्छन्, ‘हामी सानो हुँदा पुसमा हिउँ नपरेको कल्पना गर्न सकिँदैनथ्यो तर अहिले माघमा आएर बल्ल हिउँ प¥यो र त्यो पनि एकदमै थोरै । हिमालको सेतो रूप हराउँदै छ ।’

साइपालका बासिन्दा अब पानी, कृषि र घर–परिवारको लागि पनि भविष्यप्रति चिन्तित छन् । माघ शुरू हुँदा पनि हिउँ नपरेपछि हिउँ पर्ने आशामा भ्यागुताको बिहे गरियो र संयोगवश हिउँ पनि प¥यो । हिउँ पर्दाको खुशी स्पष्ट देख्न सकिने गरी अनुहारमै आयो । हिमाल केवल भौगोलिक संरचना होइन, यो समुदायको जीवनशैलीको आधार हो ।

पछिल्ला ५० वर्षमा विश्वव्यापी तापक्रम करिब १ डिग्रीले बढेको छ । यसले गर्दा हिमालमा हिउँको मात्रा स्पष्ट देखिने गरी घटिरहेको छ । हिमालयका ग्लेसियरहरूले १५–३० प्रतिशत द्रव्यमान गुमाएका छन् । स्थायी हिउँको रेखा २००–४०० मिटर माथि सरेको र मौसमी हिउँद प्रतिदशक १५–२५ दिन घटेको छ ।
धेरै नयाँ हिमताल बनेका छन् र ताल फुट्ने तथा बाढीको जोखिम बढेको छ । नदी प्रवाह अनियमित बनेको छ र पानीको प्रवाहमा आधारित अर्थतन्त्रजस्तै जलविद्युतको भविष्यसमेत जोखिमपूर्ण बनेको छ । किनकि अबको ५० वर्षपछि कस्तो अवस्था हुन्छ भनेर अनुमान गर्न कठिन छ ।

स्थानीय अनुभव र पत्रकारिता :

पत्रकार वसन्तप्रताप सिंहले साइपाल र आसपासका हिमाली क्षेत्रको परिवर्तनलाई निरन्तर रिपोर्ट गर्दै आएका छन् । उनका रिपोर्टहरूले देखाउँछन् कि वर्षा अनियमित हुँदा बाली उत्पादन घटेको छ । बाढी र पहिरोको घटनामा व्यापक वृद्धि भएको छ । स्थानीय बासिन्दाहरू अब सुक्खा, अनियमित मौसम, कृषि संकट र स्वास्थ्य जोखिमजस्ता समस्यासँग जुधिरहेका छन् । बाली समयमै पाक्दैन । असिना–पानी र खडेरीले उत्पादन घटाउँदै छ । हिमनदी घट्दा सुख्खा समयमा पानीको चरम अभाव स्थानीयले भोगिरहेका छन् ।

ग्लोबल वार्मिङको गति र प्रभाव बुझ्न क्यालकुलस अत्यन्त उपयोगी छ । डिफरेन्सियल क्यालकुलसले परिवर्तनको दर मापन गर्न सघाउँछ । अर्को एक दशक वा अझै लामो समयको परिवर्तन अनुमान गर्न पुरानो तथ्याङ्कलाई राम्रोसँग विश्लेषण गर्न सघाउँछ भने इन्टिग्रल क्यालकुलसको सहायताले सञ्चित परिवर्तनबारे बुझ्न सघाउँछ । यसरी गणितीय मोडलिङको सहायताले हेर्दा पनि अबका दिनमा झनै तीव्र परिवर्तन हुने अनुमान गर्न सकिन्छ ।

ग्लोबल वार्मिङको गति र प्रभाव बुझ्न क्यालकुलस अत्यन्त उपयोगी छ । डिफरेन्सियल क्यालकुलसले परिवर्तनको दर मापन गर्न सघाउँछ । अर्को एक दशक वा अझै लामो समयको परिवर्तन अनुमान गर्न पुरानो तथ्याङ्कलाई राम्रोसँग विश्लेषण गर्न सघाउँछ भने इन्टिग्रल क्यालकुलसको सहायताले सञ्चित परिवर्तनबारे बुझ्न सघाउँछ । यसरी गणितीय मोडलिङको सहायताले हेर्दा पनि अबका दिनमा झनै तीव्र परिवर्तन हुने अनुमान गर्न सकिन्छ ।

यी जोखिमहरु घटाउनका लागि संयुक्त राष्ट्रसंघलगायत निकायले विश्वव्यापी पहल र ऐक्यबद्धताको लागि निरन्तर पैरवी गर्दै आएका छन्, यद्यपि शक्तिराष्ट्रहरुको आडम्बरले गर्दा यस्ता पहलमा पनि बेला–बेला अड्चन खडा भइरहेका छन् ।

यदि हालको गति जारी रह्यो भने हिमनदी हराउनेछ । धर्तीलाई ढाकेको हिउँको आवरण घट्नेछ । नदीको पानी सुक्ने, कृषि, जल, जीवनशैली सबै प्रभावित हुनेछ । आजको कदमले मात्र भविष्य सुरक्षित गर्न सक्छ । तर नेपालजस्तो देशले मात्र यसमा केही गर्न सक्ने अवस्था देखिँदैन । हामी पीडित हौँ, पीडक होइनौं । विश्वका नेताहरूको दृष्टिकोणले हामीलाई ग्लोबल वार्मिङको गम्भीरता र समाधानका विकल्प दुवै देखाउँछ । केही नेता सक्रिय रूपमा परिवर्तनको आवाज उठाउँछन् भने केहीले वैज्ञानिक चेतावनीप्रति शंका व्यक्त गर्छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले बारम्बार चेतावनी दिएका छन्, ‘हामी जलवायु विपद्को किनारमा छौं । मानव गतिविधिले गर्दा तापमान तीव्र गतिमा बढिरहेको छ ।’ उनको अनुसार समाधानका उपायहरूमा कार्बन न्युट्रालिटी, नवीकरणीय ऊर्जा, जीवाष्म इन्धनमा रोक र अन्तर्राष्ट्रिय सहकार्य मुख्य हुन् ।
चीनका राष्ट्रपति सि जिङपिङले जलवायु परिवर्तनको चुनौती स्वीकार गरेका छन् । चीनको लक्ष्य सन् २०३० सम्म कार्बन उत्सर्जन बढ्न नदिने र २०६० सम्म शून्य उत्सर्जन प्राप्त गर्नु हो । यसका लागि नवीकरणीय ऊर्जा, परमाणु ऊर्जा र वन संरक्षणलाई प्राथमिकता दिइएको छ ।

भारतले बाढी, गर्मी लहर र हिमनदी पग्लिने खतरा भोगिरहेको छ । मोदीले ५ सय गिगावाट नवीकरणीय ऊर्जा लक्ष्य २०३० सम्म पूरा गर्ने योजना अघि सारेका छन् । साथै अन्तर्राष्ट्रिय सोलार एलायन्समार्फत सूर्य–ऊर्जामा सहकार्यलाई बढावा दिइएको छ ।

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले जलवायु परिवर्तनलाई सभ्यता चुनौती भन्दै जैविक विविधता र चरम मौसमको प्रभावमाथि जोड दिएका छन् । उनले कार्बन मूल्य निर्धारण, नवीकरणीय ऊर्जा र अन्तर्राष्ट्रिय कूटनीतिमार्फत समाधान खोज्ने प्रयास अघि सारेका छन् । तर अमेरिकी राष्ट्रपति ट्रम्पले प्रायः मानव–जनित जलवायु परिवर्तनमा शंका व्यक्त गरेका छन् । उनले यसलाई कहिलेकाहीँ ‘होक्स’ (धोका) भनेर पनि उल्लेख गरेका थिए । उनको प्रशासनले जीवाष्म इन्धन उद्योगलाई प्राथमिकता दियो र पेरिस सम्झौता २०१७ मा त्याग गरिदिएको छ । अमेरिका नै जलवायु परिवर्तनलाई स्वीकार गर्ने पक्षमा नहुनु निकै ठूलो चुनौती हो ।

हिमाल आज बोल्न सक्दैन तर पग्लँदै हामीसँग प्रश्न गरिरहेको छ– के तिमीहरूले हामीलाई बचायौ ?

हामीले आफ्ना नाति–नातिनीको आँखामा हेरेर उत्तर दिनुपर्नेछ । उनीहरुले हिमाल देख्न पाउनेछन् वा छैनन् । मेरो नातिले हिमाल देख्ला कि नदेख्ला ?
ग्लोबल वार्मिङ नेपालका लागि अझैसम्म गम्भीर चुनावी एजेन्डा बन्न सकेको छैन । फागुन २१ गते हुन लागेको निर्वाचनको प्रचार–प्रसारका क्रममा विकास, रोजगारी, सडक, पुल र तत्काल देखिने विषयहरूमा त धेरै भाषण सुनिन्छन् तर जलवायु परिवर्तन, हिमाल पग्लिँदै गएको यथार्थ, पानीको संकट र भविष्यका पुस्तामाथि पर्ने असरबारे भने लगभग मौनता छ । यो मौनता आफैंमा चिन्ताजनक छ ।

विडम्बना के छ भने, ग्लोबल वार्मिङको मुख्य कारक हामी होइनौं । नेपालजस्तो देशको कार्बन उत्सर्जन विश्वस्तरमा नगण्य छ । तर यसको सबैभन्दा ठूलो मार भने हामीले भोगिरहेका छौं– हिमनदी पग्लिँदै छन्, हिमताल फुट्ने जोखिम बढेको छ, बाढी, पहिरो, खडेरी र अनियमित मौसमले हाम्रो कृषि, जलस्रोत र जनजीवन प्रत्यक्ष प्रभावित बनाइरहेको छ । दोष अरूको, पीडा हाम्रो, यो नै नेपालको यथार्थ हो ।

यस्तो अवस्थामा जलवायु परिवर्तन केवल वातावरणीय विषय होइन, यो राष्ट्रिय अस्तित्व, आर्थिक भविष्य र सामाजिक सुरक्षासँग जोडिएको राजनीतिक मुद्दा बन्नुपथ्र्यो । तर दुर्भाग्यवश, यो विषय न त चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समेटिन्छ, न त जनताको मत माग्ने भाषणहरूमा गम्भीरताका साथ उठाइन्छ । राजनीतिक नेतृत्वले आज बोलेन भने भोलि बोल्न ढिला भइसकेको हुन सक्छ ।

नेपालले अब विश्वमञ्चमा पीडित राष्ट्रको रूपमा स्पष्ट र मजबुत आवाज उठाउनुपर्छ । ग्लोबल वार्मिङबाट भएको क्षतिको क्षतिपूर्ति केवल सिद्धान्तमा होइन, व्यवहारमै लागू हुने गरी माग गर्नुपर्छ । कार्बन व्यापार, जलवायु वित्त, हरित प्रविधि हस्तान्तरण र अनुकूलन कोषमा नेपालको हक सुनिश्चित गर्न कूटनीतिक रूपमा दबाब सिर्जना गर्नुपर्छ । हिमालय केवल नेपालको होइन, विश्वको जलवायु सन्तुलनको मेरुदण्ड हो भन्ने कुरा संसारलाई बुझाउन सक्ने नेतृत्व आजको आवश्यकता हो ।

प्रश्न यहीँ छ, यी कुरा विश्व समुदायसमक्ष सुनाउने कसले ? चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू, राजनीतिक दलहरू र नीति निर्माण गर्ने नेतृत्वले यदि आज जलवायु संकटलाई आफ्नो एजेन्डा बनाएनन् भने, भोलि हाम्रो आवाज सुन्ने कोही हुनेछैन । त्यसैले ग्लोबल वार्मिङ नेपालका लागि अब केवल वैज्ञानिक बहसको विषय होइन, यो चुनावी प्रतिबद्धता, राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय कूटनीतिक एजेन्डा बन्नै पर्छ ।