मेघालयको अवैध कोइलाखानी विस्फोटमा खोटाङका तीन युवकको मृत्यु, एक बेपत्ता, तीन गम्भीर घाइते


खोटाङ।

भारतको मेघालय राज्यस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित एक अवैध कोइलाखानीमा भएको विस्फोटमा खोटाङका तीन जना युवाले अकालमै ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् । उक्त घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

माघ २२ गते कोइलाखानीभित्र काम गर्ने क्रममा भएको विस्फोटमा बरापोखरी गाउँपालिका–१, बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो । मृतकमध्ये पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिम्बेल मगरले जानकारी दिए । गम्भीर घाइते नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको स्थानीय शिवकुमार श्रेष्ठले बताए ।

विस्फोटका क्रममा हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएका छन् । राई कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने आशङ्का गरिएको छ । उनी रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय गएका थिए । विस्फोटपछि राईको नागरिकता, डायरी र मोबाइल उनी बस्ने कोठामै फेला परेको जनाइएको छ ।

मेघालयमै सँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तका अनुसार रत्न खानीभित्र प्रवेश गरेकै बेला विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले जानकारी दिए । उद्धारका क्रममा खानीभित्र भेटिएका शवहरू आगोले जलेर नचिनिने अवस्थामा रहेको जानकारी आफन्तमार्फत परिवारसम्म पुगेको छ ।

विस्फोटमा बरापोखरी गाउँपालिका–१ सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन् । उनीहरूको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले बताए । घटनाको जानकारी पनि ताराबलले नै फोनमार्फत आफन्तलाई गराएका थिए ।

विस्फोटमा ज्यान गुमाएका खोटाङका युवाको शव नेपाल ल्याउन परिवारलाई ठूलो कठिनाइ भइरहेको छ । आफन्तको मृत्युको खबर पाएपछि घरबाट तीन दिनको यात्रा गरेर मेघालय पुगेका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले शव स्वदेश ल्याउन र घाइतेको उपचारका लागि समस्या भइरहेको बताए । यसैबीच, शव ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि स्थानीयस्तरमा सहयोग सङ्कलन अभियान सुरु गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिएका छन्।