अभिनेता सुनिल थापाको अन्तिम बिदाइसंगै आर्यघाटमा प्रश्न उठ्यो, उहाँजत्तिको कलाकारलाई नदिइएको राष्ट्रिय सम्मान कसलाई दिने?


ख्यातिप्राप्त अभिनेता सुनिल थापा (राते काइंला) को आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
शनिबार हृदयघातका कारण निधन भएका अभिनेता थापाको आइतबार त्रिभुवन शिक्षण अस्पतालमा पोष्ट मार्टम गरिएपछि आइतबार नै अन्तिम संस्कार गरिएको हो।

अन्तिम संस्कारअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली अर्पण गर्न चावहिलस्थित चलचित्र विकास बोर्डमा राखिएको थियो। शिक्षण अस्पतालदेखि पशुपतिसम्म शव यात्रा गरी उनको पार्थिव शरीर बोर्डमा राखिएको थियो। शव यात्रामा पनि कैयौं कलाकर्मी तथा सर्वसाधारणको सहभागिता थियो। बोर्ड प्राङ्गणमा कलाकर्मी र शुभेच्छुकहरूले उनीप्रति भावूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

पशुपति आर्यघाटमा पनि उनीप्रति अन्तिम श्रद्धाञ्जली दिन हजारौं शुभेच्छुक, कलाकर्मी तथा राजनीतिज्ञ सहभागी भएका थिए। उनको पार्थिव शरीर बोर्डमा राखिएदेखि पशुपति आर्यघाटसम्म व्यान्ड बाजाको समूहले विभिन्न भजनको धुन बजाएको थियो। उनको पार्थिव शरीरमा उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए। त्यसै गरी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले संघको झन्डा ओढाएर उनको अन्तिम बिदाइ गरेका थिए। थापाको शवमा उनका छोरा अनमोलले दागबत्ती दिएका थिए। उनको परिवारमा श्रीमती, एक छोरा र छोरी छन्। थापाको निधनको खबर पाएपछि उनको परिवार शनिबार राति मुम्बईबाट काठमाडौं आएका थिए।

सुटिङमा जानका लागि बिहान चांडै उठाइदिनु भनेका थापा ढिलोसम्म नउठेपछि गत शनिबार उनी अध्यक्ष रहेको एभरेष्ट फिल्म एकेडेमीका सहयोगीले उनी रहने गरेको अपार्टमेन्टमा पुगी हेर्दा बेहोस अवस्थामा भेटिएपछि थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएको थियो। थापालाई अस्पतालले बिहान साढे ६ बजे मृत घोषणा गरेको थियो।

पर्दामा डरलाग्दो खलनायकको पहिचान बनाएका उनी वास्तविक जीवनमा भने हसमुख स्वभावका थिए। मोडलिङ हुँदै २०३८ सालमा बलिउड फिल्म एक दुजेके लिएबाट फिल्मी करिअर सुरु गरेका उनले पहिलो फिल्मबाटै सफलता हासिल गरेका थिए। त्यसपछि आजकी आवाज, मानव हत्या, मनु द ग्रेट, अलबेला, नसिबवालाजस्ता हिन्दी फिल्मका विभिन्न भूमिकाबाट दर्शकको मन जित्दै आएका थिए। नेपाली फिल्म मशालपछि २०४६ सालमा तुलसी घिमिरेको फिल्म चिनोमा राते काइंलाका रूपमा खेलेपछि उनको करिअरले नयाँ मोड लिएको थियो। ‘राते काइंलालाई यो कुरा मन परेन’ भन्ने फिल्मको संवादले उनी सबैको मनपर्ने खलनायक बनेका थिए।

त्यसपछि बलिउडबाट आएका फिल्मका अफरहरूलाई अस्वीकार गर्दै नेपाललाई नै कर्मभूमि बनाएका उनले फिल्ममा खलपात्रकै भूमिकाबाट मन जित्दै आएका थिए। उनले केही फिल्ममा सकारात्मक र हास्य भूमिकामा समेत अभिनय गरेका छन्। चेली नामक फिल्ममा सकारात्मक पात्रको मुख्य भूमिकामा अभिनय गरेका उनले नेपाली र भारतीयबाहेक भोजपुरी, तेलगु, बंगाली र तामिल फिल्ममा पनि अभिनय गरेका छन्। पछिल्लोपटक बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित मेरी कोमको कोचको रूपमा बलिउड फिल्मबाट फेरि लोकप्रियता कमाएका थिए। सो फिल्ममा मेरी कोम बनेकी प्रियंका चोपडाको कोचको भूमिकामा अभिनय गरेका थिए। हालसम्म विभिन्न भाषाका करिब डेढ सय फिल्म, सिरियल र वेब सिरिजमा अभिनय गरेका उनी काठमाडौंमा एक्लै बस्दै आएका थिए।

सुनिलको निधनप्रति प्रधानमन्त्री सुशीला कार्कीले श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्। चलचित्र विकास बोर्ड, कलाकार संघ, निर्माता संघ, चलचित्र संघ, निर्देशक समाज, चलचित्र पत्रकार संघलगायतका संघसंस्था र कलाकर्मी तथा उनका शुभचिन्तकहरूले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्। बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि थापाप्रति भावुक श्रद्धाञ्जली व्यक्त गरेकी छिन्।

कलाकर्मीहरूले नेपालदेखि बलिउडसम्म भिन्न पहिचान स्थापित गरेका अभिनेता थापालाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्न माग गरे पनि सरकारले उनलाई राष्ट्रिय सम्मान भने दिएन। ‘सुनिलको निधनले हामीलाई गहिरो चोट पु¥याएको छ। उहाँको अन्तिम बिदाइमा सरकारले राष्ट्रिय सम्मान नदि“दा त्योभन्दा पनि ठूलो चोट पुगेको छ’ अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले आर्यघाटमा नेपाल समाचारपत्रसंग कुराकानी गर्दै भने ‘उहाँ“जत्तिको कलाकारलाई समेत नदिइने राष्ट्रिय सम्मान सरकारले कसलाई चाहिँ “ दिन्छ ?’ अर्का अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाहले रोष प्रकट गर्दै भने ‘उहाँहरूको नजरमा राजनीतिज्ञहरू मात्र मृत्युपछि राष्ट्रिय सम्मान पाउन लायक रहेछन्।’