काठमाडौं।
भारत र श्रीलंकामा संयुक्त आयोजना भइरहेको पुरुष क्रिकेटको ट्वान्टी–२० विश्वकपमा नेपालले पहिलो खेलमा हार बेहोरेको छ । आइतबार मुम्बईको वानखेडे रंगशालामा भएको श्वासै रोकिने खालको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भयो । इंग्ल्यान्ड दुईपटकको ट्वान्टी–२० विश्वकपको विजेता टोलीसमेत हो ।
इंग्ल्यान्डले निर्धारण गरेको १ सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ८० रनमा समेटिएको हो । अन्तिम ओभरमा नेपालले जितका लागि १० रन बनाउनु थियो । तर, इंग्ल्यान्डका बलर साम कुरानले मात्र ५ रन खर्चंदा नेपालले आईसीसीको पूर्ण सदस्य टोलीलाई हराउने मौका गुमाउन पुग्यो ।
योसँगै नेपाल फेरि एकपटक नेपाली क्रिकेटमा ऐतिहासिक नतिजा निकाल्न चुक्यो । यसअघि २०२४ को ट्वान्टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकाविरुद्ध एक रनले हारेको थियो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य टोलीलाई विश्वकपमा हराउन सकेको छैन ।
नेपालका ओपनर ब्याटर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेर राम्रो सुरुआत दिलाए । लियाम डाउसनले आसिफलाई ७ रनमा आउट गर्नुभयो भने ५ रनपछि विल ज्याक्सले अर्का ओपनर कुशल भुर्तेललाई आफैंले क्याच गरेर आउट गर्नुभयो । भुर्तेलले २९ रन बनाउनुभएको थियो।
४२ रनसम्ममा दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको कीर्तिमान साझेदारी गर्नुभयो । दीपेन्द्र ४४ रनमा आउट हुनुभयो भने कप्तान रोहित ४० रनमा आउट हुनुभएको थियो । यसपछि भने लोकेश बमले नेपाललाई जितको आस देखाउनुभयो । तर, उहाँले ३९ रन बनाएर नटआउट हुनुभए पनि नेपाललाई भने जित दिलाउन सक्नुभएन ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ८४ रन बनायो । इंग्ल्यान्डको तर्फबाट कप्तान हेरी बु्रक (५३ रन) र ज्याकब बेथल (५५ रन) अर्धशतक प्रहार गर्नुभयो भने विल ज्याक्सले १८ बलमै ३९ रन बनाउनुभएको थियो ।
१७ ओभरमा १ सय ३९ रनमा रहेको इंग्ल्यान्डले अन्तिम ३ ओभरमा ४५ रन जोड्नु नै पछि नेपालको हारको कारण बन्न पुग्यो । १८औं र १९औं ओभरमा १२÷१२ रन बटुलेको इंग्ल्यान्डले अन्तिम ओभरमा करण केसीको बलिङमा ३ छक्कासहित २१ रन बटुलेको थियो ।
नेपालका बलरमा दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २÷२ विकेट लिँदा सन्दीप लामिछाने र शेर मल्लले १÷१ विकेट लिनुभयो । एक ब्याटर रनआउट भएका थिए । मल्लको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल पनि हो । उहाँले डेब्यु खेलमै विश्वकै एक आक्रमक ब्याटर फिल साल्टको विकेट लिन सफल हुनुभयो ।
ट्वान्टी २० विश्वकपमा बनेका नेपालका केही कीर्तिमानहरू
–नेपालको तर्फबाट कप्तानको रूपमा सर्वाधिक ४ खेल खेल्दै रोहित पौडेलले पूर्वकप्तान पारस खड्काले ३ खेल खेलेको कीर्तिमान तोेड्नुभयो ।
–दीपेन्द्रसिंह ऐरी इंग्ल्यान्डविरुद्ध २ विकेट हासिल गर्नुभएपछि ८ विकेटसँगै सोमपाल कामी (७ विकेट) को कीर्तिमान तोड्नुभयो।
–कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ३७ रन जोड्दा यसअघिको सागर पुन र सुभाष खकुरेलको ३६ रनको साझेदारीको कीर्तिमान तोडियो ।
–दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ८२ रन जोडेर पारस खड्का र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि राखेको ८० रनको साझेदारीको कीर्तिमान तोड्नुभयो ।
–दीपेन्द्र सिंह ऐरी इंग्ल्यान्डविरुद्ध ४४ रनमा पुग्दा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन बनाउने नेपालका पहिला ब्याटर बन्नुभयो ।











प्रतिक्रिया