काठमाडौं ।
ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ। करिब तीन सय वर्ष पुरानो काठको तेल मिल (कोल) अहिले पनि सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन्। ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिल स्थानीय कान्छा महर्जनले निरन्तरता दिँदै आएका छन्।
मल्लकालमा खोकनामा चारवटा काठका तेल मिल सञ्चालनमा रहे पनि हाल एउटा मात्र सक्रिय छ। बाँकी तीनवटा ऐतिहासिक मिल पुनः सञ्चालनमा ल्याउन महानगरपालिकाले भवन निर्माण प्रक्रिया अघि बढाएको छ। काठको कोलबाट पेलिएको शुद्ध तोरीको तेल स्वदेशसँगै विदेशसम्म पठाइने गरिएको छ।
हाल खोकनामा १० देखि १५ वटा तेल मिल सञ्चालनमा छन्, जसमा अधिकांशले आधुनिक प्रविधिको प्रयोग गरेका छन्। तोरीखेती घटेपछि भारतलगायत देशबाट तोरी आयात गरेर तेल उत्पादन भइरहेको व्यवसायी बताउँछन्। पुरानो परम्परा र आधुनिक प्रविधिको सहअस्तित्वले खोकनाको तोरी तेल परम्परा जोगिएको स्थानीयको विश्वास छ।











प्रतिक्रिया