गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ शुभारम्भ


काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ शुभारम्भ भएको छ। ‘प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौतीहरू र भावी कार्यदिशा’ विषयक दुईदिने सम्मेलनको गृहमन्त्री अर्यालले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा गरिएको अनुसन्धानका तीन अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो।

ती प्रतिवेदनमा नेपालमा सामाजिक सञ्जालको प्रयोग र साइबर अपराधबीचको अन्तरसम्बन्ध, नेपाल प्रहरीको पोशाक प्रयोग तथा परिमार्जन, र ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण तथा व्यवहारसम्बन्धी अध्ययन समेटिएका छन्। समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयाममा नागरिक समाज, सुरक्षा विज्ञ र सरोकारवालासँग रणनीतिक अन्तरक्रिया गर्नु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो।

नागरिक तहको सार्थक सहभागिता र अपनत्व बिना नीति तथा योजनाहरू व्यवहारिक रूपमा कार्यान्वयन हुन नसक्ने बताउँदै सम्मेलनबाट प्राप्त सुझावले नेपाल प्रहरीलाई अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो बनाउने विश्वास व्यक्त गर्नुभयो। सम्मेलनका निष्कर्ष कार्यान्वयनमा गृहमन्त्रालय र नेपाल सरकारको उच्च समर्थन रहने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो। गृहसचिव राजकुमार श्रेष्ठले साइबर र आर्थिक अपराध जटिल बन्दै गएको वर्तमान सन्दर्भमा यस्ता चुनौती सम्बोधन गर्न सम्मेलन महत्वपूर्ण हुने बताए।

आधुनिक प्रविधिको प्रयोगमार्फत प्रहरीको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धिमा सम्मेलनले योगदान दिने उहाँको भनाइ थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संविधान, प्रहरी ऐन र प्रचलित कानुनअनुसार शान्ति–सुरक्षा कायम राख्न, अपराध रोकथाम तथा अनुसन्धान गर्न र मानवअधिकारमैत्री प्रहरी सेवा दिन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए।

संघीय शासन प्रणालीसँगै प्रहरीको भूमिका बहुआयामिक बन्दै गएको उल्लेख गर्दै संगठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधि प्रयोग र अन्तरनिकाय समन्वय सुदृढ गर्नु आजको प्राथमिकता भएको उहाँले स्पष्ट पार्नुभयो। सम्मेलन संयोजन तथा व्यवस्थापन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्यसहित सम्मेलनका उद्देश्य र कार्यक्रमबारे जानकारी दिनुभयो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, नेपाल एसबीआई बैंकका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो। नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयनयोग्य कार्ययोजना निर्माणका लागि सुझाव संकलन गर्नु सम्मेलनको मुख्य उद्देश्य हो।

दुईदिने सम्मेलनमा प्रहरी सञ्चालन, सुरक्षा चुनौती, अपराधका नयाँ प्रवृत्ति, विरोध प्रदर्शन व्यवस्थापन, प्रहरी–नागरिक सम्बन्ध, मानवस्रोत व्यवस्थापन, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापन तथा सडक सुरक्षा प्रवर्द्धनलगायत विषयमा व्यापक छलफल हुने जनाइएको छ।