महाशिवरात्री तथा सेना दिवसको अवसरमा प्रधान सेनापति खुल्ला म्याराथन–२०८२ सम्पन्न


काठमाडौं ।

महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने सन्देशसहित आयोजित प्रधान सेनापति खुल्ला म्याराथन–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले दिएको जानकारीअनुसार म्याराथन २०८२ माघ २४ गते बिहान ९:३० बजे सम्पन्न भएको हो।

म्याराथनमा ४२.१९५ किलोमिटर खुल्ला पुरुष, २१ किलोमिटर हाफ म्याराथन (खुल्ला महिला/पुरुष), १० किलोमिटर दौड (छात्र/छात्रा), १० किलोमिटर दौड (सैनिक अधिकृत महिला/पुरुष), १० किलोमिटर दौड (सैनिक सहचारी), ५ किलोमिटर दौड (छात्र/छात्रा) तथा ५ किलोमिटर वाकाथन विधाहरू समावेश थिए।

समारोहमा विभिन्न विधाका विजयी धावकहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देल, पूर्व प्रधान सेनापतिहरू, सैनिक श्रीमती संघका अध्यक्ष, खेलकुदकर्मी तथा नेपाल सरकारका उच्च अधिकारीहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। खुल्ला म्याराथनतर्फ नेपाली सेनाका अम्लदार राजन रोकायाले २ घण्टा १५ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे।

हाफ म्याराथन खुल्ला पुरुषतर्फ नेपाली सेनाका अमृतजित रानाले १ घण्टा ४ मिनेट ४५ सेकेन्डमा प्रथम स्थान प्राप्त गरे भने हाफ म्याराथन खुल्ला महिलातर्फ सन्तोषी श्रेष्ठले १ घण्टा १४ मिनेट ३१ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भइन्।

कार्यक्रममा बहालवाला तथा अवकाशप्राप्त सैनिक–अधिकृतहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी निकायका प्रतिनिधि, खेलकुद प्रशिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाली सेनाले यस्ता प्रतियोगिताले एथलेटिक्स खेललाई थप प्रवर्द्धन गर्दै सक्षम र प्रतिस्पर्धी खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।