धादिङ ।
हिन्दु परम्परामा छोराले मात्र दागबत्ती दिने र किरिया बस्नुपर्ने मान्यतालाई चुनौती दिँदै धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–४ की एकुमाया आले मगरले दिवङ्गत आमाको किरिया बसेकी छन्।
आमा लक्ष्मी थापा मगरको ९२ वर्षको उमेरमा यही माघ १६ गते स्वर्गारोहण भएपछि कान्छी छोरी एकुमाया आले मगर किरिया बसेकी हुन्। लक्ष्मी थापा मगरका दुई छोरी मात्रै थिए। छोरा नभएको अवस्थामा पनि “छोरी किरियामा बस्न हुँदैन” भन्ने सामाजिक मान्यतालाई तोड्दै एकुमायाले आमाप्रति अन्तिम कर्तव्य निर्वाह गरेकी छन्।
समाजको दबाब, आलोचना र चेतावनीका बाबजुद पनि एकुमायाले आमाको किरिया बस्ने निर्णय लिएको बताइन्छ। उनका अनुसार आमाले जीवनभर देखाएको माया, त्याग र संघर्षको सम्मान स्वरूप आफूले किरिया बस्ने निर्णय गरेको हो। “छोरा वा छोरी भन्ने कुरा होइन, सन्तान हुनु नै मुख्य हो,” उनको भनाइ छ।
वि.सं. १९९० सालमा धादिङको साबिक सुनौलाबजार–हाडीखोलामा जन्मिएकी लक्ष्मी थापा मगरको निधनपछि छोरीद्वारा किरिया बस्नुले स्थानीय समाजमा पक्ष विपक्षमा बहससमेत सिर्जना गरेको छ। कतिपयले यसलाई साहसी कदमका रूपमा प्रशंसा गरेका छन् भने कतिपय परम्परावादी सोचले आलोचना पनि गरेका छन्।
तस्बिरमा एकुमाया आले मगर आमाको किरिया विधि अनुसार एकान्तमा बसेर धार्मिक कर्मकाण्ड गरिरहेको देखिन्छ। यो दृश्य केवल एक छोरीको कर्मकाण्ड मात्र होइन, पितृसत्तात्मक सोच र लैंगिक विभेदविरुद्धको मौन प्रतिरोधको प्रतीकसमेत बनेको छ।
एकुमाया आले मगरको यो कदमले समाजमा छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न र धार्मिक–सांस्कृतिक परम्परामा पुनर्विचार गर्न प्रेरणा दिने विश्वास गरिएको छ।











प्रतिक्रिया