काठमाडौँ ।
सरकारले महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्ने उद्देश्यले आगामी माघ २५ गतेदेखि देशव्यापी रूपमा ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार यो अभियान फागुन १५ गतेसम्म जारी रहनेछ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको यसपटकको अभियानमा मुख्य गरी दुई समूहलाई लक्षित गरिएको छ: विद्यालय जाने किशोरी: कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू। विद्यालय बाहिर रहेका किशोरी: विद्यालय नगएका १० वर्ष उमेर पुगेका किशोरीहरू। यसका साथै, सरकारले गत वर्षको अभियानमा कुनै कारणवश खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्षका किशोरीहरूलाई पनि यसपटक समेट्ने विशेष व्यवस्था गरेको छ।
खोप कार्यक्रम स्थानीय तहअनुसार फरक-फरक मितिमा सञ्चालन हुन सक्ने भएकाले अभिभावक तथा किशोरीहरूलाई आफ्नो नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न केन्द्रले आग्रह गरेको छ। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार यसपटक करिब ३ लाख ५० हजार किशोरीहरूले यो खोप प्राप्त गर्ने अनुमान गरिएको छ। गत वर्ष भने करिब १७ लाख किशोरीहरूलाई यो खोप दिइएको थियो। “एचपीभी खोप पूर्ण रूपमा सुरक्षित, प्रभावकारी र निःशुल्क छ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न यो एक भरपर्दो उपाय भएकाले ढुक्क भएर खोप लगाउन हामी सबैमा अनुरोध गर्दछौँ,” केन्द्रद्वारा जारी सूचनामा भनिएको छ। नेपालमा महिलाहरूलाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्दछ। असुरक्षित यौन सम्पर्क वा अन्य कारणले शरीरमा प्रवेश गर्ने ह्युमन प्यापिलोमा भाइरसका कारण पछि गएर क्यान्सर हुने जोखिम रहन्छ।
सानै उमेरमा (विशेष गरी यौन सम्पर्क सुरु हुनुअघि) यो खोप लगाएमा यसले ९० प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। सरकारले यस खोपलाई नियमित खोप तालिकामा समावेश गर्ने लक्ष्य राखेको छ, जसले गर्दा भविष्यमा पाठेघरको मुखको क्यान्सरका कारण हुने अकाल मृत्युको दरलाई उल्लेख्य रूपमा घटाउन सकिने विश्वास लिइएको छ।











प्रतिक्रिया