मुगु । छायानाथ रारा नगरपालिकाभित्रका १५ वटा विद्यालयका शिक्षकहरूलाई विद्यालयस्तरीय खोज, उद्धार तथा प्राथमिक उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ । विद्यालय तहमा सम्भावित विपद् जोखिम न्यूनीकरण गर्नुका साथै आपतकालीन अवस्थामा प्रभावकारी प्रतिकार्य गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले दुई दिने तालिम सञ्चालन गरिएको हो ।
युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र–स्याक नेपालको समन्वय तथा छायानाथ रारा नगरपालिकाको आयोजनामा सम्पन्न तालिममा नगरपालिकाभित्रका १५ विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।
समापनसत्रमा बोल्नुहुँदै तालिमका प्रशिक्षक एवं नेपाल रेडक्रस मुगु शाखाका महामन्त्री रत्नसिंह मल्लले विद्यालयहरू विपद्को पहिलो जोखिममा पर्ने संवेदनशील स्थल भएकाले शिक्षकहरूमा खोज, उद्धार तथा प्राथमिक उपचारसम्बन्धी आधारभूत सीप हुनु अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विपद् आउँदा बाहिरी सहयोग पुग्न समय लाग्न सक्छ, यस्तो अवस्थामा विद्यालयमै रहेका शिक्षकहरूले तत्काल खोज, उद्धार र प्राथमिक उपचार गर्न सक्ने क्षमता भए धेरै क्षति कम गर्न सकिन्छ ।’
तालिममा भूकम्प, आगलागी, पहिरोजस्ता सम्भावित विपद्का बेला अपनाउनुपर्ने सुरक्षा उपाय, घाइतेलाई सुरक्षित रूपमा उद्धार गर्ने तरिका, प्राथमिक उपचारका आधारभूत विधि तथा विद्यार्थी सुरक्षासम्बन्धी व्यावहारिक अभ्यासहरू समेटिएका थिए ।
समाज जागरण केन्द्र–स्याक नेपालका शिक्षा अधिकृत नरेन्द्रबहादुर रावलले विद्यालय सुरक्षा बलियो बनाउने दिशामा यस्तो तालिम अत्यन्त प्रभावकारी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विद्यालयमा शिक्षक नै पहिलो प्रतिकार्यकर्ता हुन्, उनीहरू सक्षम भए विद्यार्थीको जीवनरक्षा मात्र होइन, अभिभावक र समुदायको विश्वास पनि बढ्छ ।’
यस कार्यक्रमबाट विद्यालयलाई सुरक्षित र विपद्–प्रतिरोधी बनाउँदै विद्यार्थीको जीवनरक्षा तथा गुणस्तरीय सिकाइ वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।











प्रतिक्रिया