काठमाडौं।
देशको अर्थतन्त्रका समग्र सूचकहरु सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले सो संकेत गरेको हो ।
प्रतिवेदन अनुसार कम मुद्रास्फीति, उच्च विदेशी विनिमय सञ्चिति र बलियो शोधनान्तर स्थितिले अर्थतन्त्र तुलनात्मक रूपमा स्थिर रहेको संकेत गरेको छ ।वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड रुपियाँ बचतमा रहेको छ। यो बचतले बाह्य क्षेत्रको स्थिति मजबुत बनेको देखाउँछ । त्यस्तै विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ । निर्यातको तीव्र वृद्धि सकारात्मक भए पनि आयातको बढ्दो प्रवृत्तिले व्यापार घाटा संरचनात्मक चुनौती नै रहेको देखाउँछ। सरकारी वित्तमा भने दबाब कायमै देखिन्छ। समीक्षा अवधिमा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ५ खर्ब ७७ अर्ब ४० करोड मात्रै रहेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत रहे पनि कर्जाको वृद्धिदर ६.७ प्रतिशतमा सीमित छ—यसले निजी क्षेत्रको माग अझै अपेक्षाकृत सुस्त रहेको संकेत गर्छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्था बीचको भारित औसत अन्तर बैंक दर २.७५ प्रतिशत कायम भएको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो। राष्ट्र बैंकका अनुसार यो सञ्चितिले १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
विप्रेषण आप्रवाह नेपाली रूपियाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले बढेको छ। पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड बराबरको रेमिटेन्स नेपाल भित्रिएको छ, जसले विदेशी मुद्रा सञ्चिति थप उचालेको छ ।












प्रतिक्रिया