जिम्मेवार पत्रकारिता, निर्वाचन आचारसंहिता र मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु 

चार पत्रकार पुरस्कृत

1.97k
Shares

धादिङ ।

नेपाल पत्रकार महासंघले धादिङबाट जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक संजालको प्रयोग सम्बन्धी राष्ट्रिय अभियान र प्रेस काउन्सिल  नेपालले निर्वाचन आचार संहिता र मिडिया अभियानको धादिङबाट सुरुवात गरिएको छ ।

धादिङबेसीमा नेपाल पत्रकार महासंघ धादिङको आयोजनामा भएको जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक संजालको प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले अभियानको सुरुवात गरिन्  ।

कार्यक्रमलाई सम्बोधान गर्दै महासंघका अध्यक्ष शर्माले पत्रकार जिम्मेवार हुनुपर्ने बताउँदै विश्वसनियता कायम गर्नुपर्ने बताइन् ।

मिडिया र संचारकर्मी जिम्मेवार भएदेखि नागरिक बलियो हुने उल्लेख गर्दै निर्वाचनको समयमा सञ्चारकर्मीले कसैको पक्ष वा विपक्षमा बोल्न नहुने तथा नागरिकलाई सचेत भएर सबैभन्दा राम्रो उम्मेदवारलाई मत दिन उत्प्रेरित गराउनुपर्नेमा जोड दिइन् ।

अभियान सुरुवात साथै नेपाल पत्रकार महासंघ धादिङले चार जना संचारकर्मीहरुलाई पुरस्कृत गरेको छ । राजेन्द्र प्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट २०५७ सालदेखि पत्रकारिता गर्दै आएका पत्रकार केशव अधिकारलाई १५ हजार नगदसहित पुरस्कृत गरेको छ । सीतारामप्रसाद वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट २०६० देखि पत्रकारिता गर्दै आएका पत्रकार पोषनाथ अधिकारीलाई पुरस्कृत गरेको छ । विकास पत्रकारिता पुरस्कारबाट २०६७ सालदेखि पत्रकारिता गर्दै आएका पत्रकार राजन अधिकारीलाई र शालिकराम बर्मा स्मृति पुरस्कारबाट रामबहादुर ठकुरी आशिसलाई पुरस्कृत गरिएको छ ।

यसैगरि नेपाल पत्रकार महासंघ धादिङको वेभसाइट डब्लुडब्लुुडब्लु डट एफएनजे डट आआरजि को आइतबारबाट विधिवत सुरुवात गरेको छ । पत्रकार महासंघको गतिविधि, इतिहास र सदस्यहरुको विवरण, संचारसंस्थाहरुको विवरणसमेत वेभसाइटमा राखिएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी लगायतले शुभकामना व्यक्त गर्दै संचारकर्मीहरुले जिम्मेवा भएर पत्रकारिता गर्दा लोकतन्त्र र समाज विकासमा सहयोग पुग्ने बताए ।

यसैगरि प्रेस काउन्सिल नेपालले निर्वाचन आचार संहिता जागरण अभियान धादिङबाट सुरु गरेको छ ।

निर्वाचनमा आचारसंहिता पालना, अनलाइन, रेडियो टिभि पत्रपत्रिकाले निभाउनुपर्ने जिम्मेवारी मिडियाको भूमिका, तथा सञ्चारकर्मीले निष्पक्षता, सन्तुलन, र सत्यतामा आधारित भएर आचार संहिता पालना गर्नु पर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले स्वच्छ निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पत्रकार आचार संहिताको पालना गर्नु पर्ने बताइन्।

कार्यक्रममा सूचना विभागका महानिर्देशक छबिन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु शान्तराम विडारी, भिमलाल श्रेष्ठ, नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, कुमारी निमा काफ्ले, विजयराज अधिकारी, केशवशरण लामिछाने लगायतले निर्वाचन जागरण कायृक्रममा संचारकर्मी, मिडियाले ध्यानदिनुपर्ने विषयमा आआफ्नो विचार व्यक्त गरे ।