काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेड, प्रधान कार्यालय, जलजले, उदयपुरका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । पौडेल नेपाल पुनर्बिमा कम्पनीका अध्यक्षसमेत हुनुहुन्छ । आयोगले पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २ सय ४२ रुपियाँ ११ पैसा बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
आयोगले कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर बीसीलाई पनि प्रतिवादी बनाएको छ ।
उक्त उद्योगमा अनियमितता भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिन प्रतिवेदनबाट देखिएको तथा उक्त व्यहोरा महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनबाट समेत देखिएको, क्लिङ्करको खपत बढी तर उत्पादन न्यून देखाइएकाले सक्कल कागजात झिकाई छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आयोगमा उजुरी परेको थियो । अख्तियारको अनुसन्धानका क्रममा प्रतिवादीहरूको आपसी मिलेमतोमा क्लिङ्कर वास्तविक हुनुपर्ने भन्दा घटी मौज्दात देखाएको पाइएको थियो ।
आयोगले तत्कालीन निमित्त नायब महाप्रबन्धक साह, लाल, अधिकारी र जीसीविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपियाँ, काफ्लेविरुद्ध १२ करोड ६३ लाख ६९ हजार १ सय ६८ रुपियाँ बिगो दाबी गर्दै बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको जनाएको छ ।











प्रतिक्रिया